काठमाडौंका सबै सडक केही महिनामै कालोपत्रे हुने प्रचण्डको दाबी

काठमाडौंका सबै सडक केही महिनामै कालोपत्रे हुने प्रचण्डको दाबी


काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारका काम–कारवाहीको प्रशंसा गर्दै यस्तो दाबी गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारबारे खासै मुख नखोलेका प्रचण्डले सरकारले राम्रो गरिरहेको र परिणामहरू अब देखिन थाल्ने भन्दै कार्यक्रममा उपस्थित सबैलाई दङ्ग तुल्याए ।

देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप पनि सो अवसरमा उनले लगाए । दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गर्दै प्रचण्डले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको बताए ।

सो अवसरमा प्रचण्डले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको खुलासा पनि गरे ।