संस्कृति पहिचान हो, जसको अभावमा अस्तित्व रहँदैन : उपप्रम यादव

संस्कृति पहिचान हो, जसको अभावमा अस्तित्व रहँदैन : उपप्रम यादव


– प्रकाश केसी, लण्डन

‘दशैँ तिहार हाम्रो संस्कृति हो, संस्कृति मानव समुदायको महत्वपूर्ण ‘क्रियशन’ हो । संस्कृति भनेको मानवको पहिचान हो जसको अभावमा मानवको अस्तित्व रहँदैन ।‍‍‍‍’

लण्डनस्थित बेलायतका लागि नेपाली दूतावासले दशै‌ंतिहार छठपर्व तथा नेपाल संवतको अवसरमा आयोजना गरेको एक भेलालार्इ सम्बोधन गर्ने क्रममा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले दिएका अभिव्यक्तिको एक अंश हो माथिको पंक्ति।

शुक्रबार आयोजित सो जमघटमा उपप्रधानमन्त्री यादवले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा एकता अर्थात् अनेकतामा पनि एकता रहेको उल्लेख गरे । नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनको परिणाम संघीय संविधान भएको तर्क पनि उनले गरे ।

स‌ंघीय लोकतान्त्रिक गणतन्त्र भनेको नेपालको लागि एउटा एस्कलेटर मात्रै भएको अनि पूर्णता दिन या माथिल्लो चोटिमा पुग्न अझ धेरै समय लाग्ने उल्लेख गर्दै नेपालमा अहिले नयाँ सोचका साथ नयाँ यात्रा शुरु भएको उपप्रधानमन्त्री यादवले बताए । अन्य मुलुकको प्रयोग हेरेर नेपाल अगाडि बढ्नु पर्ने बेला आएको उनको भनाई थियो।

यस्तै, गैरआवासीय नेपाली संघ यूकेले गत बिहीबार आयोजना गरेको एक अर्को कार्यक्रममा गैरआवासीय नेपाली नागरिकतालार्इ संविधानले नै स्वीकार गरिसकेको र विदेशमा बस्ने नेपाली जन्मसिद्ध नागरिक भएकाले उनीहरुलाई अवमूल्यन गर्न नहुने उपप्रधान मन्त्री यादवले बताएका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपाल विभिन्न राजनैतिक व्यवस्थापनको लागि लामो समयसम्म ब्यतीत भएको स्मरण गर्दै अब राजनीतिक व्यवस्थापन भइसकेको दाबी गरे। ‘विदेश बस्ने अन्य गैरआवासीय नेपालीहरुजस्तै बेलायतवासी नेपालीमा नेपाली नै भएर बाँच्ने चाहनाबारे हामी सबै अवगत छौ‌ं। त्यो तपार्इंहरुको भावनाको सम्मान गर्नुपर्दछ त्यसैले गैरआवासीय नेपाली नागरिक नेपाली संविधानसम्मत भएर कानूनमा व्यवस्थित छिट्टै नै हुनुपर्दछ,’ मन्त्री बस्नेतले आफ्नो मन्तव्यको क्रममा बताए ।

उनले राजनैतिक व्यवस्थापनसँगै आर्थिक विकास गरेर जनतालाई त्यसको अनुभूति दिन नसके प्राप्त राजनीतिक व्यवस्थापनसमेत कमजोर हुने तर्क गरे । नेपाली जनताको आकांक्षाको लामो सूची रहेको बताउँदै आर्थिक विकासको लागि केही समय लाग्न सक्छ भन्दै उनले ६ महिनामा सरकारले काम गर्न सकेन भन्ने गुनासो स्वभाविक भएको भन्दै अब जनअपेक्षाअनुरुप अगाडि बढ्ने बेला आएको धारणा अघि सारे ।

मानसिक स्वास्थ्यको विश्व सम्मेलन नेपालको तर्फबाट भाग लिनका लागि उपप्रम तथा स्वास्थ्यलगायत जनसंख्यामन्त्री यादव बेलायत आएको अवसरमा बेलायतका विभिन्न कार्यक्रमहरु बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिएका थिए भने वन तथा आवारण मन्त्री बस्नेत वन्यजन्तुको विश्व सम्मेलनको लागि केहीअगाडि बेलायत आएका थिए ।

दूतावासमा आयोजित कार्यक्रममा उपस्थित लगभग २०० जना अतिथिहरुलाई स्वागत गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले चाडपर्वले नेपाली भएर बाँच्न र नेपाली भएर हाँस्न, अँध्यारोबाट उज्यालो, विविधताबीचको एकता कायम गर्न पनि अत्यन्तै जरुरी भएको बताए ।

कार्यक्रममा गायिका मिणा राणाले आफ्ना केही गीत गाएर सुनाएकी थिइन् । सोही अवसरमा सगरमाथा आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो भने सयपत्री सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । नेपाली दूतावास लण्डनले हरेक वर्ष नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा चाडपर्व मनाउँदै आएको छ ।