यादवको हत्याले बढायो जिल्लामा सुरक्षा चुनौतीे

यादवको हत्याले बढायो जिल्लामा सुरक्षा चुनौतीे


नेकपाका नेता तथा राजविराजको राजदेवी माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका सदस्य भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेम यादवको हत्या प्रकरणलाई नेकपा सप्तरीकै एक नेतृले जिल्लामा सुरक्षा चुनौतीको संकेतका रुपमा औंल्याएकी छिन् ।

सप्तरीबाट प्रदेश न. २ को प्रदेशसभामा नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने रुबी कर्णले शुक्रबार एक विज्ञप्ति जारी गरी यादवको हत्याले जिल्लामा सुरक्षा चुनौती बढाएको दाबी गरेकी हुन् ।

सप्तरी जिल्लाको सदरमुकाम राजविराज जस्तो ठाउँमा यस्ता घटना हुनु भनेको जिल्लाको शान्ति र सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनको चरम लापरवाहीका साथै सुरक्षाको चुनौती भएको नेतृ कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति र सुरक्षाप्रतिको जानमानसको विश्वास यी र यस्ता घटनाले गर्दा नै उठ्दै गएको छ । दोषी अहिलेसम्म कानूनी कठघरामा नआएबाट नेपाली जनताले दिएको बलिदानी खेर गएको महसुस हुनु स्वभाविक हो । त्यसकारण हत्याको सत्यतथ्य छानविन गरि दोषीलाई कडाभन्दा कडा कारवाहीको लागि स्थानीय प्रशासनसँग जोडदार माग गर्नुका साथै अबका दिनमा यी र यस्ता घटनाप्रति जिम्मेवार र जवाफदेही हुन समेत ध्यानाकर्षण गराउन चाहन्छु ।’

गत मंगलवार स्थानीय युवाहरुको एक समूहको धारिलो हतियार प्रहारले घाइते भएका राजविराज–१ डुमरी शिवथानका २१ वर्षीय प्रेम यादवको हिजो बिहिबार बिहान विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।