एक करोड ६७ लाख ठगेर सापकोटा जोई–पोई फरार

एक करोड ६७ लाख ठगेर सापकोटा जोई–पोई फरार


पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छन् । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले एक करोड ६७ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीहरूविरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कविहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशंकर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ की सुनिता तिमिल्सिनाले उनीहरूलाई ३० लाख दिएकी छिन् ।

‘सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई–चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,’ पीडित तिमिल्सिनाले भनिन् । केही समयअघि घर बिक्री गरेकी उनले कुनै प्रमाण नराखी रकम दिएकी हुन् । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई २५ लाख दिएकी छिन् । यस्तै अन्यको ५० हजारदेखि १० लाखसम्म रकम लिएर सापकोटा दम्पती फरार भएका छन् ।

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । ‘छरछिमेकमा सरसापटी चलाउनुपर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,’ पीडित सुना चापागार्इंले भनिन् । उनले सापकोटा दम्पतीलाई ३० लाख दिएको बताइन् । सापकोटा दम्पती कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्थाअनुसार सापकोटा दम्पतीविरुद्ध जाहेरी नलिएको बताए ।