गृहमन्त्री भन्छन्– ७० प्रतिशत हिंसाको कारक मदिरा हो

गृहमन्त्री भन्छन्– ७० प्रतिशत हिंसाको कारक मदिरा हो


गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागूऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् ।

गृह मन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘लागूऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तरक्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए । ‘सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन,’ उनले भने ।

गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए । ‘मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ,’ गृहमन्त्री थापाले भने ।

उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे । हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्री–वितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्ने बताए । गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागूऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिएका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताए । ‘हिंसा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ,’ शाक्यले बताए ।

उनले महानगरपालिका काठमाडौं क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिए । सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागूऔषध र मदिरा नियन्त्रणका लागि आ–आफ्नो रायसुझाव दिएका थिए ।