कृष्णगोपाल भन्छन्– विकास र पूर्वाधार निर्माणमा युवाको खाँचो छ

कृष्णगोपाल भन्छन्– विकास र पूर्वाधार निर्माणमा युवाको खाँचो छ


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति समुदायका चाडपर्व तथा संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताएका छन् ।

नेकपा–१४ बल्खुले दशैँ, नेपाल संवत, तिहार र छठका अवसरमा आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सबै पर्वका सांस्कृतिक पक्षले सामाजिक विकासक्रमलाई सकारात्मक प्रभाव पार्ने बताए ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय युवाको सक्रियताको खाँचो औँल्याउँदै श्रेष्ठले भने, ‘मुलुकको विकास र समृद्धिका लागि स्थानीय, प्रदेश र केन्द्रबीच समन्वय र सहकार्य आवश्यक छ ।’

सो अवसरमा सांसद विना श्रेष्ठले देशका कला, मौलिक पर्व र संस्कृतिले मानव सभ्यताको विकासक्रमलाई अध्ययन गर्न सहयोग पुऱ्याउने हुँदा यस्ता पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिए । साहित्यकार कृष्णहरि बरालले समय परिवर्तनसँगै बदलिने मौसम तथा प्रकृतिले विभिन्न ऋतुलाई बदल्ने बताउँदै त्यसको प्रभावबाट फरक–फरक संस्कृति तथा पर्वको विकास हुँदै गएको विचार व्यक्त गरे ।