चर्च आक्रमणका १७ दोषीलाई मृत्युदण्डको फैसला

चर्च आक्रमणका १७ दोषीलाई मृत्युदण्डको फैसला


इजिप्टको एउटा सैनिक अदालतले बिहीबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ ।

ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो ।

इस्लामिक स्टेट (आईएस) लडाकुका नाममा गराइएको विस्फोटनमा परी दर्जनौँको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरू १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दशजनालाई दशदेखि १५ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार कायरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन कायरोको मुख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी त्यही वर्षको अप्रिलमा पाल्म सण्डे मनाउन भेला भएकाहरूलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रियामा ४५ जना मारिएका थिए ।

इजिप्टमा क्रिश्चियन धर्मावलम्बीहरूले प्रार्थना गर्ने चर्चहरूमा बेलाबेलामा आईएस लडाकुहरूले आक्रमहरू गर्ने गरेका छन् ।