रामवीरलाई राजीनामा गराएर स‌ंसद छिर्ने वामदेवको चाहना अधुरै

रामवीरलाई राजीनामा गराएर स‌ंसद छिर्ने वामदेवको चाहना अधुरै


साँसद बन्ने वामदेव गौतमको इच्छा माथि फेरि तुषारापात भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर चुनाव लड्ने दाउमा बसेका गौतम आफ्नै निर्णयबाट पछि हटेका हुन् ।

संसदको तल्लो सदन प्रतिनिधि सभामा छिर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका गौतमको पार्टीभित्रै बिरोध भएपछि उनी पछि हटेका हुन् । आफ्नै पार्टीका सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि गौतमका लागि परिस्थिति अनुकूल देखिएको नेकपाका नेताहरु बताउँछन् । ति नेताले घटना र बिचारसँग भने, ‘आलोचना, विरोध र दबावबाट उहाँ पछि हट्नुभएको हो । पार्टीभित्र उपनिर्बाचनबाट गौतमलाई ल्याउने विषयले ठूलो मतभेद उत्पन्न भयो ।’

गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र २२ गतेको पार्टी सचिवालय बैठकमा बुझाएका थिए । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएको बुझिएको छ ।

यता, सांसद रामवीरले राजीनामा दिन तयार भएपछि उनको पनि जनस्तरबाट चर्काे विरोध भइरहेको छ । साँसद रामवीरले जनतासमक्ष इज्जत जोगाउन पनि साँसद पदबाट राजिनामा दिन नहुने नेकपाका केही नेताहरु बताउँछन् । त्यसैले यस परिस्थितमा दुवै अध्यक्षसँगको सल्लाहमा नेता गौतम तत्कालका लागि उपचुनाव नलड्ने निर्णयमा पुगेको बताइएको छ ।

बर्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा छन् । कहिले डोल्पा त कहिले बाँकेबाट चुनाव लड्ने मनस्थिती बनाएका गौतम पुनः काठमाडौं ७ मा चुनाव लड्ने अर्को प्रयासमा उत्रिएका थिए । तर जनस्तरबाट व्यापक बिरोध देखिएपछि उनको यो अपेक्षा तत्कालकालका लागि रोकिन पुगेको हो ।