पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको शिलान्यास

पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको शिलान्यास


गैरआवासीय नेपाली संघ एनआरएनए को आर्थिक सहयोग, नेपाल लाईब्रेरी फाउण्डेशन एनएलएफको प्राविधिक संयोजन तथा व्यवस्थापन र नेपाल पत्रकार महासंघको संयोजनमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र भवन स्थापना हुने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय हातामा स्थापना हुने स्रोतकेन्द्र भवनको त्रिपक्षीय रूपमा सम्झौता र शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

उल्लेखित तीन संस्थाका अध्यक्षहरू क्रमशः एनआरएनएका भवन भट्ट, एनएलएफका कपिलदेव थापा र एफएनजेका अध्यक्ष गोविन्द आचार्यद्वारा हस्ताक्षरित सम्झौताअनुसार पहिलो चरणमा १५ लाखको बजेट उपलब्ध गराइने छ भने यो समझदारी (साझेदारी)लाई ब्यवहारमा तीन महिनाभित्रमा पूरा गर्नका निम्ति तीनजना फोकल पर्सनसमेत तोकिएको छ । फोकल पर्सनहरुमा एनआरएनएबाट कार्यकारी निर्देशक डा. हेमन्तकुमार दवाडी, एनएलएफबाट महासचिव धनकुमार श्रेष्ठ र एफएनजेका तर्फबाट पूर्वउपाध्यक्ष अनिता बिन्दु चयन गरिएका छन् ।

यसैगरी, गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्टले नेपाललाई समृद्ध बनाउन विदेशमा बस्ने नेपालीको समेत उत्तिकै भूमिका रहेको उल्लेख गरे ।

सन् २००३ मा स्थापना भएको सङ्घले सन् २००४ देखि दिवस मनाउन थालेको हो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. बद्री केसी यसपटकको दिवस पूँजी र सीप भित्र्याउनमै केन्द्रित गरेको बताउँछन् । आज शुक्रबारदेखि विज्ञको विश्व सम्मेलनमा राजधानीमा हुँदैछ ।

यसपालि ‘ब्रेन गेन’ गर्नेगरी कार्यक्रम हुन लागेको र यसबाट नेपालको समृद्धिमा टेवा पुग्ने एनआरएनएका प्रवक्ता भूषण घिमिरेले बताए ।

विश्वका ७९ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् छ । यसमा करीब एक लाख नेपाली आबद्ध छन् । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । उनीहरुले नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याएका छन् ।

बताइएअनुसार एनआरएनएले व्यक्तिगत रुपमा गैरआवासीय नेपालीको लगानीको अवस्थाबारे अहिले अध्ययन गर्न थालेको छ । सामूहिक लगानीका परियोजनासमेत अघि बढेको एनआरएनएले जनाएको छ । सामूहिक लगानीमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माणकै चरणमा छन् । अहिले रु १० अर्बको कोष स्थापना गरेर सरकार, एनआरएनए र सर्वसाधारणको संयुक्त लगानीमा विभिन्न परियोजना सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष भट्ट बताउँछन् ।