‘जसले जसरी बुझे पनि हुने त्यो अन्तरक्रिया’

‘जसले जसरी बुझे पनि हुने त्यो अन्तरक्रिया’


डिल्लीराम अम्माई/बेल्जियम

बेल्जियमको प्रादेशिक र स्थानीय चुनाव आगामी आइतबार अर्थात ओक्टोबर १४ मा हुँदैछ । त्यही चुनावको मुखमा विभिन्न राजानिक दलहरुबाट उठेका अधिकांश उमेद्वारहरुलाई एकै ठाउँमा भेला गराएर नेपाल पत्रकार महासंघ युरोप शाखाले अक्टोबर १० मा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रम छोटो भए पनि सभ्य र सटिक रहेको उपस्थित उमेद्वारहरुले मन्तब्यको क्रममा बताए ।

शाखाका सल्लाहकार पञ्चम अधिकारीले कार्यक्रमलाई मिठोसँग सञ्चालन गर्नुभयो, स्वागत गर्दै महासंघ केन्द्रीय संगठन समिति सदस्य ओम शर्माले पनि अन्तरक्रियाको ऐतिहासिक महत्वबारे बताउनुभयोु यस्ता अन्तरक्रियाले हामीलाई धेरै कुरा बुझ्न र अध्ययन गर्न बाध्य गरायो, प्रवाशको राजनीतिमा गतिशिलता प्रदान गर्यो, हाम्रो इतिहास जीवन्त बनाउन पत्रकारहरु संवेदनशील भएर लाग्नुभयो, जसले हाम्रो हौशला बढेको छ,’ छलफलको क्रममा उपस्थित ग्रीन पार्टीका उमेद्वार बलिराम झाले खुलेरै कार्यक्रमको प्रशंसा गरे।

कहिले सञ्जालबाट प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमले चुनावमा फाइदा नहुने कुरा पनि राखेका छन्- ‘नेपालीसँगको अन्तरक्रियाबाट हाम्रा भोट बढ्दैनन् किन जानु ?’ तर ती साथीहरुलाई भन्नैपर्ने हुन्छ, पत्रकारले उहाँहरुलाई चुनाव जिताउन त पक्कै सक्नुहुन्न, तर सकारात्मक सन्देश त जान्छ। उहाँहरुको खुबी या क्षमता सबैले बुझ्न पाउछन। जति साथीहरु विभिन्न पार्टीका उमेद्वार बन्नुभएको छ, उहाँहरुको एक आपसमा परिचय समेत भएको थिएन। सार्वजनिक मन्चबाट भाषिक अल्पज्ञानको कारण आफ्नो राय राख्न पाउनुभएको थिएन। त्यो पनि उहाँहरुको आफ्नो समाजमा स्थापित हुने एउटा अवसर हो। पार्टीको प्रचार आप्रबासीहरुको बीच लैजानु पार्टीको लागि पनि अवश्य सकारात्मक कुरा नै हो।

अर्कोतर्फ़ उहाँहरुमध्ये केही साथीहरु वैचारिक आधारमा छलफल गर्दै मित्रताको शुरुवात गर्नुभएको छ। त्यो एउटा सकारात्मक शुरुवात हो। त्यस्ता बहसका कार्यक्रमले उहाँहरुको आफ्ना पार्टीका घोषणा पत्र, सैद्धान्तिक अबधारणा र आप्रवासिक समस्याबारे अध्ययन गर्ने बानीको विकास गरेको छ। अध्ययनबिना पार्टी नीतिबारे कसैले एक शब्द बोल्न पनि गाह्रो हुन्छ। त्यो सबैभन्दा सकारात्मक कुरा हो। आगामी वर्षहरुमा उहाँहरु आफ्ना सैद्धान्तिक मान्यता र कार्यनीतिहरूबारे अझ स्पष्ट धेरै अध्ययनशील र पोख्त बनिसक्नु हुनेछ।

अर्को सकारात्मक पक्ष भनेको आप्रवासीका समस्या, सुझाव र त्योसँग सम्बन्धित छलफलले कुन कुराहरु हाम्रो लागि महत्वपुर्ण छन् ? पहिचान गर्न सक्ने सामर्थ्य प्रदान गरेको छ। जसले आफ्नो पार्टीप्रति मात्र हैन आफ्नो आप्रवासी समाजप्रति पनि उत्तदायी बनाउने सामर्थ्य राख्छ।

उक्त कार्यक्रममा महासंघका सदस्यहरू वीरमान मगर, निलम घिमिरे सापकोटालगायत सञ्चारकर्मी सहभागी थिए। बेल्जियमको प्रजातान्त्रिक समाजवादी दलका उमेद्वार सुर्य ढकाल, वातावरणमैत्री हरियाली दलका बलिराम झा, क्रिश्चियन डेमोक्रेटिक एण्ड फ्लेमिसबाट महिलानेत्री तथा एनआरएन आइसीसी सदस्य लीला शर्मा मानन्धर र रश्मी निरौला र बेल्जियमको एक मात्र बामपन्थी कामदार पार्टीबाट प्रदेशमा डिल्लीराम भण्डारी र नगरमा उम्मेदवारी दिएका लोक रानाको अन्तरक्रियामा उपस्थिति रहेको थियो। अन्तरक्रिया महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईको सभापतित्वमा सञ्चालन भएको थियो।

तर बेल्जियमको आप्रवासीप्रति अनुदार राष्ट्रवादीहरुको पार्टी एनभीआबाट उम्मेदवार बनेका कुनै पनि नेपाली उम्मेदवारहरुको कार्यक्रममा उपस्थिति रहेन । उपस्थित भएका दर्शकहरु भन्दै थिए, ‘आप्रवासीहरुप्रति उनीहरु अनुदार नै भए पनि नेपाली उम्मेदवारहरु त अलिक उदार बन्नुपर्ने थियो। तर के गर्नु नयाँ जोगीले झन् धेरै खरानी घसे।’