भोजपुरमा चालकलाई जुत्ता अनिवार्य

भोजपुरमा चालकलाई जुत्ता अनिवार्य


भोजपुरका सार्वजनिक सवारीसाधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको छ । चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारीसाधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु. दुई हजारदेखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु. पाँच सयबाट चार सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका हर्न दुईवटा मात्र राख्न पाइने, एक महिनाभित्र सार्वजनिक सवारीसाधनले बसको अगाडि, पछाडि, दायाँबायाँ र भित्रपट्टि नम्बर प्लेट अनिवार्य राख्नुपर्ने, सवारीसाधनमा स्टिकर अनिवार्य राख्नुपर्नेलगायतका निर्णय गरिएको छ । यदि एक महिनासम्म पनि निर्णय कार्यान्वयन नगरे रु. एक हजार जरिवाना गरिनेछ ।