यौनकाण्डमा फसे प्रशान्त

यौनकाण्डमा फसे प्रशान्त


बाह्रबुँदे सम्झौतायताको गोप्य राजनीतिक क्रियाकलापमा समेत संलग्न मानिने हिन्दुस्तान टाइम्सका राजनीतिक सम्पादक प्रशान्त झा यौनकाण्डमा परेका छन् । आफ्नै सहकर्मी महिला पत्रकारलाई यौन दुव्र्यवहार गरेको पुष्टि भएपछि उनलाई पद त्याग गर्न बाध्य बनाइएको छ । नेपाली नागरिक प्रशान्त भारतको ख्यातिप्राप्त हिन्दुस्तान टाइम्स दैनिक पत्रिकामा राजनीतिक सम्पादक तथा ब्युरो चिफ थिए ।

यौन दुव्र्यवहारको आरोप लागेपछि उनलाई पत्रिकाले दुवै भूमिकाबाट मुक्त गरेको छ । पदबाट राजीनामा दिनुअघि उनले हिन्दुस्तान टाइम्सका सम्पादक र कार्यकारी सम्पादकसँग पटकपटक भेट गरेको, तर उनको कुरालाई सम्पादकहरूले महत्व नदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हिन्दुस्तान टाइम्समा कार्यरत पत्रकार अवन्तिका मेहताले आफूलाई प्रशान्तले कसरी यौन दुर्व्यवहार गरेका थिए भन्ने कुरा सार्वजनिक गरेपछि उनले पत्रिकाबाट राजीनामा गर्नुपरेको हो । अवन्तिकाले सार्वजनिक गरेको जानकारीअनुसार सन् २०१४ मा कानुन संवाददाताका रूपमा उनी हिन्दुस्तान टाइम्समा काम शुरु गर्दा प्रशान्त र उनको कुर्सी आमने–सामने थियो । अधिवक्तासमेत रहेकी अवन्तिकाले भनेकी छिन्– ‘सुरुवाती दिनहरूमा मैले प्रशान्तलाई धेरै राम्रो मान्छेका रूपमा लिएँ, उनलाई आदर पनि त्यत्तिकै गर्थेँ । मैले अत्यन्त आदर गर्ने व्यक्तिले एक दिन मलाई अश्लील खालको म्यासेज पठाए । मैले उनलाई त्यसप्रकारका कुरा फेरि नपठाउन चेतावनी दिएँ । साथै व्यावसायिक साथीका रूपमा व्यवहार गर्नका लागि सुझाब दिएँ । उनका कारणले अप्ठ्यारो स्थितिको सिर्जना भएपछि मैले दुई वर्षपछि हिन्दुस्तान टाइम्स छोडेँ । वरिष्ठ संवाददाता भइसकेकी मलाई सुरक्षित जागिर छोड्न मन थिएन, तर प्रशान्त झाका कारणले छोड्नुप¥यो । जागिर छोडेको भोलिपल्ट उनले मलाई ‘साइक्र्याटिस्ट’ खालको म्यासेज पठाए, जसमा लेखिएको थियो–मलाई ऋषिमुनि बन्ने सल्लाहका लागि धन्यवाद । त्यसपछि उनले बारम्बार फोन गरे र म्यासेज पठाए । म्यासेजको जवाफ किन नदिएको भन्ने म्यासेज धेरैपटक पठाए ।’

यो घटनापछि इन्डियन विमेन्स प्रेस क्लबले भारतीय मिडिया हाउसलाई यौन दुर्व्यवहारविरुद्धका घटना दर्ता गर्ने संरचना बनाउनका लागि आग्रह गरेको छ । भारतीय महिलासँग विवाहित प्रशान्त झाको व्यावसायिक जीवनमा यो घटनाले ठूलो असर गरेको र व्यक्तिगत रूपमा यसको असर कहाँसम्म पुग्ने हो अन्दाज मात्र गर्न सकिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । अमेरिकाबाट शुरु भएको मि टु आन्दोलनले भारतमा अहिले आँधीबेरी ल्याइरहेका बेला प्रशान्तको यौन दुव्र्यवहार खुलासा भएको हो । भारतमा कङ्ग्रेस आई सरकारमा हुँदा नेपालमा उनको गुप्त भूमिका चर्चाको विषय हुने गर्दथ्यो ।