तीन महिनामै भित्रिए आठ अर्बका सवारीसाधन

तीन महिनामै भित्रिए आठ अर्बका सवारीसाधन


दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाख रुपैयाँबराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कुल राजस्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठेको भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए । चालू आवको साउनदेखि असोज १५ सम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्याक्टर, जिप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएका छन् । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।

यसैगरी आव ०७४–७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट रु. ६ अर्ब ८६ करोड १२ लाखको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएका थिए । मूल्यवृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको संख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए ।

चालू आवको साउनदेखि असोज १५ सम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्याक्टर, जिप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएका हुन् ।

सरकारले चालू आवदेखि खरिद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महसुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजस्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आईसीपी, सुक्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेक्सन, टाटा, टोयटा, मर्सिडिजलगायत जिप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी दुई हजार ५०० भन्दा बढी सवारीसाधन रोकिएका छन् । दशैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । संघीय सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई आव ०७५–७६ मा रु १७१ अर्ब राजस्व उठाउने लक्ष्य दिएको छ ।