राप्तीका तीन आँखा अस्पतालमा आज निःशुल्क उपचार सेवा

राप्तीका तीन आँखा अस्पतालमा आज निःशुल्क उपचार सेवा


‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस तुलसीपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीनवटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मोतीबिन्दुको निःशुल्क शल्यक्रियादेखि अन्य सेवा निःशुल्क दिने अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिए ।

त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराइसकेको र तीन लाख ५४ हजार ९८८ जनालाई निःशुल्क आँखा उपचारको सेवा उपलब्ध गराएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी गराए ।

यसैगरी हालसम्म एक लाख ५४ हजार ४१ जनाको मोतीबिन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताइएको छ ।