तहपिच्छे कर लिएपछि महँगिए भेडा–च्यांग्रा

तहपिच्छे कर लिएपछि महँगिए भेडा–च्यांग्रा


भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्यांग्र्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेका छन् । भक्तपुरको सल्लाघारी ल्याइएको भेडा–च्यांग्र्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ ।

यस वर्ष सल्लाघारीमा ल्याइपु¥याइएको च्यांग्रा प्रतिकिलो रु. ७५० र भेडाको रु. ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका छन् । गत वर्षभन्दा प्रतिकिलो सय रुपैयाँ मूल्य बढाएर व्यवसायीले बिक्री गरेका छन् ।

मुस्ताङमै भेडा–च्यांग्रा महँगो भएकाले यस वर्ष प्रदेश सरकार र स्थानीय सरकारलाई सात ठाउँमा निकासी कर तिर्दै ल्याउनुपरेकाले महँगो भएको व्यवसायी पशुपति सिलवालले बताए । विगत १८ वर्षदेखि दशैँमा भेडा–च्यांग्राको व्यवसाय गर्दै आएका उनले भने, ‘देश संघीयतामा गएपछि त आफ्नै देशमा पनि विदेशमा झँै फरकफरक ठाउँमा कर तिर्दै आउनुपर्ने, यस वर्ष प्रदेश र स्थानीय सरकारलाई मात्रै सात ठाउँमा कर तिर्नुप¥यो, अनि कसरी होस् सस्तो ?’

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौं हँुदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्यांग्रा ल्याउँदा कर तिर्दै आउनुप¥यो । केन्द्रीय सरकारले खसी–बोका, भेडा–च्यांग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटेर गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आमसर्वसाधरण पर्ने भएका छन् ।

सिन्धुपाल्चोकका अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमै एउटा च्यांग्राको रु. १६ हजारदेखि रु. २४ हजारसम्म तिर्नुपरेको बताउँदै ठाउँठाउँमा तिर्नुपर्ने करले यस वर्ष निकै समस्या आएको उल्लेख गरे । विगतका वर्षमा यसरी ठाउँठाउँमा कर तिर्नुपर्ने अवस्था नभए पनि यस वर्ष भने ठाउँठाउँमा कर तिर्दै ल्याउनुपरेको उनको भनाइ छ ।

सल्लाघारीमा यस वर्ष करिब दुई हजार च्यांग्रा, करिब हजार भेडा ल्याइएको छ भने अरू ल्याउने क्रम जारी छ । सल्लाघारीमा च्यांग्राको तयारी मासु गत वर्ष प्रतिकिलो रु. एक हजार २५० मा बिक्री गरेको भए पनि यस वर्ष भने प्रतिकिलो रु. एक हजार ६०० मा बिक्री भएको छ ।