नेपाललाई विश्व बैंकको तेइस अर्ब सहुलियत ऋण

नेपाललाई विश्व बैंकको तेइस अर्ब सहुलियत ऋण


विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करिब रु. २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरको उपस्थितिमा अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे । उनले नेपालको थप राजस्व परिचालनको सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनर्निर्माण कार्य जारी रहेको र सोका लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिए ।