दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ बन्ने

6 Shares

निजी क्षेत्रको लगानीमा नेपालमा दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ निर्माण हुने भएको छ । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा करीब दुई अर्बको लागतमा बन्ने भएको हो ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको शब्ददृश्य परिकल्पना सार्वजनिक गरिएको छ । परियोजनाको शब्ददृश्य परिकल्पना सार्वजनिक कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकलाई समृद्धिको लक्ष्यमा लैजान वर्तमान सरकार लागिरहेको समयमा यो परिकल्पना त्यसका लागि सहायक हुने भन्दै योजना सफलताको कामना गरे ।

प्रदेश नं ३ का भौतिक योजनामन्त्री केशव स्थापितले आफूले सोच्ने गरेजस्तै छिटो र महत्वाकाङ्क्षी योजनाका साथ युवाको टोलीले उक्त टावर निर्माण गर्न लागेकामा खुशी व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले समृद्धिका लागि उद्यमशीलता, नवप्रवर्तन र सिर्जनात्मकता आवश्यक पर्ने विषयलाई आत्मसात् गरी वाण्डर्स नेपालले उक्त परियोजना अघि सारेको बताउँदै काठमाडौँको मुटुमा रहेकाले टावर बनेपछि उत्पन्न हुनसक्ने ट्राफिक व्यवस्थापनको चुनौतीलाई ध्यान दिन आग्रह गरे ।

परियोजनालाई मौलिक र महत्वाकाङ्क्षी ठान्दै नेपाली काङ्ग्रेसका सांसदद्वय भीमसेनदास प्रधान र उमेश श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा राजन भट्टराईले सफलताको कामना गरे ।

वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे। सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौंको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिने बताइएको छ ।

तस्बिर रासस

6 Shares

प्रतिक्रिया