ओली सरकार सुस्त भयो, ‘गियर चेन्ज’ गर्नुपर्छ : रायमाझी

ओली सरकार सुस्त भयो, ‘गियर चेन्ज’ गर्नुपर्छ : रायमाझी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद रायमाझीले यस्तो बताएका हुन् ।

नेता रायमाझीले ओली नेतृत्वको वर्तमान सरकारको ‘गियर’ बदल्नुपर्ने पनि बताए । उनले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छ ।’

उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने, ‘यति मात्रै होइन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो, त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’

उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’

अहिले पनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो । रायमाझीले थपे, ‘पूरानो संस्कार मात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएका छन् । अब तिनीहरुको तीनै तहका संस्थाहरुको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।’

उनले अघि थपे, ‘तर, सोच, संस्कार र चिन्तनको कुरा आउँछ । यसले थोरै द्धिविधाजस्तो देखिन्छ । जति द्रुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको जस्तो पनि देखिन्छ । जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तिव्र रुपमा ती विकृति-विसंगती र कमि-कमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’

अब सरकारले अलिकति पिकअप गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु ।’