उज्ज्वल तारा ‘दशैँ रन फर गुड हेल्थ’ हुने

उज्ज्वल तारा ‘दशैँ रन फर गुड हेल्थ’ हुने


उज्ज्वल तारा स्कुल काँडाघारीले वडा दशैँको अवसरमा असोज २७ गते शनिबार दोस्रो ‘दशैँ रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेस च्वाइसको सहयोगमा सो दौड आयोजना हुन लागेको हो ।

स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा बडादशैँको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित विद्यालय प्रांगणबाट शुरु गरिने सो दौड महिलाका लागि ३ किलोमिटर तथा पुरुषहरूका लागि ५ किलोमिटरको दूरी निर्धारण गरिएको छ ।

विद्यालयका संस्थापक सल्लाहकार तथा कार्यक्रम संयोजक नेपाली सेनाका कर्णेल विष्णुबहादुर कार्कीका अनुसार सो दौडमा १५ वर्षदेखि माथिको उमेरका महिला तथा पुरुषले भाग लिन सक्नेछन् । कर्णेल कार्कीका अनुसार सो दौडमा अभिभावक तथा वर्तमान या सेवानिवृत्त सुरक्षाकर्मीसमेतले भाग लिन पाउनेछन् । यसैगरी महिला तथा पुरुषका लागि ५ किलोमिटरसम्म हिँड्ने प्रतियोगिता पनि समावेश गरिएको छ ।

प्रतियोगितात्मक सो दौडका १७ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसका लागि ५१ वटा ट्राफिकको व्यवस्था मिलाइएको छ ।

यसै सिलसिलामा असोज २३ गते मंगलबार उज्ज्वल तारा स्कुलमा काँडाघारी क्षेत्रका सुरक्षाकर्मी, खेलकुदसँग सम्बन्धित संघसंस्था तथा स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी गराई छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफलमा संयोजक कर्णेल कार्कीले दौडका विविध पक्ष तथा सुरक्षा र प्रतियोगिताका सहभागीको स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा प्रकाश पारेका थिए ।