दशैंमा टिकासँगै यसकारण लगाइन्छ जमरा

दशैंमा टिकासँगै यसकारण लगाइन्छ जमरा


हिन्दू धर्मावलम्बीको महान चाड दशैं आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज हरेक नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्दछ ।

आजकै दिन काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गरिएको छ । आज राखिएको जमरालाई दशैंको टिका अर्थात दशमीको दिन शिरमा लगाइने गरिन्छ । धार्मिक, सामाजिक, साँस्कृतिक एवम् स्वास्थ्यको दृष्टिले पनि जमराको धेरै ठूलो महत्व रहेको छ । दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरि जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ । जौंमा विभिन्न प्रकारका फाइदाकारी गुणहरु हुने भएको र दुर्गा भगवती लाई मनपर्ने भएकाले पनि यसको अंकुरलाई विजयादशमीको प्रसादको रुपमा प्रयोगमा ल्याइएको हुनसक्ने ज्योतिषहरु बताउँछन् ।

पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैंको सबैभन्दा आकर्षक र महत्वपूर्ण पक्षको रुपमा आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गर्नुलाई मानिन्छ । दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरी रातो अक्षता सँगै कानमा जौं, मकै, धान र गँहूका लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैं मनाएको संकेतको रुपमा लिइन्छ ।

निधारमा रातो टिकासँगै पुरुषले ढाकाटोपीमा जमरा सिउरिएको र महिलाले चुल्ठोमा जमरा राखेर पिङ मच्चाउँदै गरेका तस्वीरहरुलाई दशैंको ‘आइकन’को रुपमा पनि लिने गरिन्छ ।

जमरा टिकामा मात्रै प्रयोग नभई जौंको प्रयोग अनिवार्य मानिन्छ । जौंको साथै मकै, गहुँ र धानलाई पनि जमराको रुपमा राख्ने चलन छ । चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, क्यान्सर एवम् डायविटिज जस्ता रोगहरुका बिरामीले सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा पुर्याउँनेछ ।