वामदेवसँग भिड्ने डा. महत ?

वामदेवसँग भिड्ने डा. महत ?


काठमाडौंको ७ नम्बर क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि स्थान खाली गरिदिने भएपछि उक्त क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । गौतमसँग भिड्ने नेता ‘हेभिवेट’ हुनुपर्ने हुनाले काङ्ग्रेसले संसद्मा प्रवेश गर्नबाट वञ्चित रहेका कुनै ‘हेभिवेट’लाई अघिसार्ने अनुमान गर्न थालिएको छ ।

नेपाली काङ्ग्रेसका सिनियर नेताहरूमा रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए । त्यस्तै, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत पनि अहिले संसद् सदस्य छैनन् । वामदेव गौतम उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएमा काङ्ग्रेसका सिनियर नेताहरूमध्येबाट नै उम्मेदवार बनाइने सम्भावना बढी देखिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला आफ्नो निर्वाचन क्षेत्रलाई अत्यन्त प्रेम गर्ने नेता मानिन्छन् । त्यसैले सो क्षेत्रमा उम्मेदवार बन्न उल्लिखित नेताहरूले इच्छा राख्ने सम्भावना कम देखिन्छ । यसकारण उक्त क्षेत्रमा डा. रामशरण महतलाई उम्मेदवार बनाइने अनुमान काङ्ग्रेसभित्र धेरैले गर्न थालेका छन् । त्यसो त वामदेव गौतमसँग पराजित हुने भयले पनि कतिपय नेता उम्मेदवार बन्न अनिच्छुक हुने ठानिएको छ । तर, डा. रामशरण महत वामदेवसँग भिड्ने मानसिकतामा रहेको बताइन्छ । यस सम्बन्धमा घटना र विचारले डा. महतसँग टेलिफोन सम्पर्क गर्दा डा. महतले ‘यस विषयमा कुनै धारणा व्यक्त गर्नु अलिक ‘अर्ली’ हुने बताए ।

उक्त निर्वाचन क्षेत्रबाट प्रजातान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका विक्रमबहादुर थापा उम्मेदवार बनेकोमा रामवीर मानन्धरसँग आठ हजार मतान्तरले थापा पराजित भएका थिए । रामवीरले १८,१०२ र विक्रम थापाले १०,०७९ मत प्राप्त गरेका थिए ।