‘पावरफुल’ पुराना कुरा

‘पावरफुल’ पुराना कुरा


– बबिता बस्नेत

दशैँमा टीकासँगै जमरा लगाउने चलन कसरी आयो होला ? जमराको रस क्यान्सरलगायतका धेरै रोगको औषधि भनी प्रमाणित भएपछि दशैँमा लगाउने गरिएको जमराको महत्व प्रत्यक्ष रूपमा मानिसको स्वास्थ्यसँग जोडिएको रहेछ भन्न सकिन्छ । खानुपर्ने कुराको अर्थ नबुझेर लाउनमा सीमित गरिएछ । कम्तीमा त्यसको सामीप्यताले पनि शरीरमा केही न केही राम्रो गर्दो हो । पूजामा चढाउने गरिएको बेलपातीको सम्बन्ध पनि शरीरसँग छ । बेलको पात खाँदा ग्यास्ट्रिकलगायतका रोग लाग्दैनन् भनिन्छ, तर हामी दिनभरि भोको पेट बसेर आफूले खानुको साटो बेलको पात भगवान्लाई चढाइदिने गर्छौँ । बेलपाती र जमराको कुरा र पूजाआजामा सीमित भगवान् गौतम बुद्धको सन्देश उस्तै हुन् कि जस्तो पनि लाग्छ । बुद्धले जिन्दगीभर आर्जन गरेको ज्ञान ‘ध्यान’ले मानिसको शरीर र मस्तिष्कलाई कसरी स्वस्थ बनाउँछ भन्ने कुरा छोडेर गए पनि दिनहुँ त्यसको प्रयोग गर्नेभन्दा बुद्धजयन्तीका दिन बुद्धको मूर्ति वरिपरि गएर खादा माला गर्नेहरूको सङ्ख्या बढी छ ।

पलेँटी मारेर खाना खाने हाम्रो प्राचीन चलन हो, तर भान्साको पिरालाई अहिले आधुनिक किचनका कुर्सी–टेबलले विस्थापत गरिदिए । कुर्सी–टेबललाई के दोष दिनु, हामी आफैँले विस्थापित गरिदियौँ । उभिएर पानी नखानु, पलेँटी मारेर खाना खानु राम्रो भनेर अहिले युट्युबतिर दिइएका सल्लाह–सुझाबहरू हेरिरहेका छौँ । उभिएर पानी पिउँदा किड्नीलाई असर गर्छ भन्ने छ । वास्तवमा हाम्रा पुर्खाहरूले अपनाउँदै आएका कतिपय पुराना चालचलनहरू वैज्ञानिक पनि रहेछन् । पहिलापहिला मानिस बिरामी भएर अन्तिम अवस्थामा पुग्न लाग्दा तुलसीको मठमा लाने चलन थियो । तुलसीको बोटमा मर्न पाए धर्म कमाइन्छ भन्ने व्याख्या गरिएकाले मानिसहरू अन्तिम अवस्थामा प्रायः तुलसीको मठमा पुऱ्याउँथे । अहिले थाहा भयो तुलसीले अक्सिजन अत्यधिक प्रवाह गर्ने हुँदा सास फेर्न सजिलो होस् भन्नका लागि त्यसो गरिएको रहेछ । तुलसीको बोटको काम अहिले अस्पतालमा महँगा भेन्टिलेटरहरूले गरिरहेका छन् । पीपलको बोटको पूजा गर्नुको कारण पनि पीपलको संरक्षणसँग जोडिएको छ । मानिसहरू आवतजावत गर्ने खासखास ठाउँमा चौतारो बनाई पीपल रोप्नुको कारण मानिसको श्वास–प्रश्वाससँग जोडिएको छ । अत्यधिक अक्सिजन फाल्ने हुँदा पीपललाई संरक्षण गर्न खोजियो, मुखले भनेर मात्र कसैले मान्नेवाला थिएनन्, त्यसैले अन्य रूखलाई झैँ नकाट्नु भनी भगवान्को रूपमा पूजा गरिएको हो भन्न सकिन्छ । यस्तै पहिलापहिला गाईको गोबरले घर लिप्ने चलन थियो । बिहान–बेलुका खाना खाइसकेपछि पनि गाईको गोबरले नै लोटाउने चलन थियो । गाईको गोबरमा एन्टिसेफ्टिक गुण हुने रहेछ जसको काम अहिले डिटेल पानीले गरिरहेको छ ।

बेलपाती र जमराको कुरा र पूजाआजामा सीमित भगवान् गौतम बुद्धको सन्देश उस्तै हुन् कि जस्तो पनि लाग्छ । बुद्धले जिन्दगीभर आर्जन गरेको ज्ञान ‘ध्यान’ले मानिसको शरीर र मस्तिष्कलाई कसरी स्वस्थ बनाउँछ भन्ने कुरा छोडेर गए पनि दिनहुँ त्यसको प्रयोग गर्नेभन्दा बुद्धजयन्तीका दिन बुद्धको मूर्ति वरिपरि गएर खादा माला गर्नेहरूको सङ्ख्या बढी छ ।

हामी सानै छँदा सिकाइएको थियो, जहाँ पुगे पनि उत्तर सिरानी लगाएर सुत्न हुँदैन है…किन ? को जवाफमा भनिएको थियो, ‘मरेपछि मात्रै मान्छेलाई उत्तर सिरान लगाएर राख्छन् ।’ अहिले थाहा भयो, लगातार उत्तर सिरान लगाएर सुत्यो भने ‘हार्ट एट्याक्ट’ हुने निश्चित रहेछ । उत्तर सिरान मुटुको रगत सञ्चालन र पृथ्वीको गुरुत्वाकर्षणसँग सम्बन्धित छ भन्ने कुरा वैज्ञानिकहरूले स्पष्ट पारिसकेका छन् । यस्तै, तामाको गाग्रीमा पानी खाने हाम्रो पुरानो चलन हो । तामाको भाँडामा पानी खानु सबैभन्दा राम्रो भनी अहिले प्रमाणित भएको छ । यद्यपि हाम्रा भान्साहरूमा हिजोआज प्लास्टिकका जार हाजिर छन् । खाना खानेबित्तिकै हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ भनी डाक्टरहरूले भन्ने गरेका छन् । हाम्रा धर्मशास्त्रहरूमा खाना खाएपछि गाईको दूध दुहुनञ्जेलसम्मका लागि थकाइ मार्नु भनिएको छ । गाईको दूध दुहुनुभरिको समय १५ या २० मिनेट हुन सक्छ । आफूसँग घडी नहुँदा त्यतिबेला समयलाई यसप्रकारका विशेषणहरू राखी बिभाजित गरिन्थ्यो ।

सूर्य या चन्द्र ग्रहण लागेको बेला खाना खानुहुन्न भन्ने हाम्रो पुरानो मान्यता हो । ग्रहण लागेका बेला पकाएर राखेको खाना बिग्रिएको देख्ने, भोग्नेहरू धेरै छन् । शरीरमा त्यसको असर नपरोस् भनेर मूल्य–मान्यताहरू पहिल्यै बनेका छन् । बाबु र आमापट्टिका निकट नातामा विवाह गर्नुहुँदैन भनी हिन्दूधर्म–संस्कृतिले रोक लगाएको छ । जेनेटिक हिसाबले हेर्दा नजिकका नातेदारसँग विवाह गर्नेहरूका शारीरिक र मानसिक समस्या देखिएको छ । यस्ता धेरै कुराहरू छन्, जो पुराना मान्यताजस्तो लाग्छन्, तर वैज्ञानिक छन । हामी जलदेवीका रूपमा जल अर्थात् नदीको पूजा गर्छौँ, भूपूजाका रूपमा पृथ्वी र अकाशदेवीका रूपमा आकाशको पूजा गर्छौँ । पूजा गर्नुको अर्थ यी कुरालाई जोगाएर राख, सम्मान गर भनिएको हो । हाम्रा लागि यो नयाँ कुरा होइन, पुरानै परम्परा हो । अहिले विश्वमै जलवायु परिवर्तनको कुरा गम्भीर रूपमा उठेको छ । पानीका मुहानहरू सुक्दै छन् पृथ्वी तातिरहेको छ । हामीले अपनाउँदै आएका धेरै कुरा शक्तिशाली छन्, तर हामी तिनलाई त्यागेर गर्वका साथ नयाँ अभ्यासमा जुटेका छौँ । जुन अभ्यासहरू हेर्दा झिलिमिली त छन्, तर स्वास्थ्यको हिसाबले लाभदायक भने छैनन् । हामीले तिहारमा गाईको गोबर र रातो माटो छोडेर विषाक्त रङको रङ्गोलीमा दङ्ग पर्न थालेको निकै भयो ।

तुलसीको बोटमा मर्न पाए धर्म कमाइन्छ भन्ने व्याख्या गरिएकाले मानिसहरू अन्तिम अवस्थामा प्रायः तुलसीको मठमा पुऱ्याउँथे । अहिले थाहा भयो तुलसीले अक्सिजन अत्यधिक प्रवाह गर्ने हुँदा सास फेर्न सजिलो होस् भन्नका लागि त्यसो गरिएको रहेछ । तुलसीको बोटको काम अहिले अस्पतालमा महँगा भेन्टिलेटरहरूले गरिरहेका छन् ।

कतिपय मानिस आफू आधुनिक बन्न र आधुनिक सोचलाई अब्बल देखाउनका लागि पुराना कुराहरूको विरोध गर्ने गर्छन् । माओवादीहरूले मन्दिर, शालिकजस्ता पुराना धरोहरहरू भत्काए । अहिले शालिक भत्काउनेलाई जरिवाना तोकेर कानुन पास गर्दा उनीहरूले पनि अरूसरह ताली बजाए । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १५२ मा कसैले नेपाल सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानी–जानी घृणा, अपमान व बद्नाम गर्न, त्यस्ता विभूतिको शालिक, स्तम्भ वा स्मारक भत्काउन वा हानि, नोक्सानी गर्न हुँदैन भनिएको छ । त्यसो गरिएमा ६ महिना कैद या ५ हजार जरिवाना या दुवै सजाय तोकिएको छ । विगतमा राष्ट्रिय विभूति मात्र नभई राष्ट्र निर्मातासमेत रहेका पृथ्वीनारायण शाहको शालिक ढाल्नेहरूलाई कुनै सजाय भएन । मन्दिर भत्काउनेका लागि के–कस्तो सजाय हुन्छ भनी अहिले पनि कानुनी व्यवस्था छैन । मानिसले कहिल्यै प्रत्यक्ष नदेखेका, तर महसुस गरिने भगवान् बस्ने मन्दिर र देखेका, सुनेका, पढेका मानिसको शालिकबीच केही समानता भए पनि भिन्नताहरूको सूची लामो छ ।

पारम्पारिक कालमा पापधर्मसँग जोडिएका कुराहरू अहिले कानुनको रूपमा बाँधिएका छन् । अहिलेझैँ प्रहरी, कानुन, अदालतलगायतको व्यवस्था नभएकाले तत्कालीन समाजले आपराधिक कार्य नहोस् भनेर धेरै कुरालाई धर्मसँग जोडेर हेऱ्यो । सङ्घर्षमा रहेका बेला माओवादीहरूले मन्दिर भत्काएर ईश्वर हुँदैन भन्ने सन्देश सर्वसाधारणलाई दिन खोजे पनि त्यस्तो सन्देशलाई सर्वसाधारणले ग्रहण गरेको भने गरिएन । अहिले विगतमा भत्काइएका अधकांश मन्दिरहरू बनिसकेका छन् र ती मन्दिरमा मानिसको भिडभाड विगतमा भन्दा कम हुने गरेको छैन । मन्दिर, मस्जिद, गुरुद्वारा, चर्चजस्ता कुरा मानिसको आस्थासँग जोडिएका हुन्छन् । भनिन्छ, मन्दिरबाट प्राप्त हुने सकारात्मक ऊर्जाले मानिसको शरीर र मन दुवैमा उत्तिकै भूमिका निर्वाह गरिरहेको हुन्छ । क्रान्तिकारी हुन कतिपय मानिसले म धर्म मान्दिनँ भनेको पनि सुनिन्छ । धर्मको सम्बन्ध मन्दिरमा गएर पूजा गर्नुसँग नभएर न्यायसँग छ । म धार्मिक छैन भन्नुको अर्थ म न्यायिक छैन भन्नु हो । हाम्रो धर्म, परम्परामा राम्रा कुरा धेरै छन्, ती शक्तिशाली पनि त्यत्तिकै छन् । तिनलाई कमजोर पार्नुको अर्थ हामी आफैँ कमजोर हुँदै जानु हो ।