हुर्मत लिने काम

हुर्मत लिने काम


सदाझैं गत बुधबार घटना र विचार पत्रिका किनेर केही समाचार पढ्न के पाएको थिएँ, मेरो आँखा ‘ज्योतिको अँध्यारो भूमिका’ नामक आफ्नै विषयमा लेखिएको समाचारमा परे । उक्त आलेख पढेपछि विश्वास नभएर पटक-पटक पढेँ तर यो मेरो सार्वजनिक जीवनमा लागेको अहिलेसम्मकै ठूला आरोप त्यसमा थिए । मजस्तो सामान्य व्यक्तिको हुर्मत लिने गरी तयार भएको लेखले कसरी पत्रिकामा ठाउँ पायो होला, म छक्क परेँ । आरोप सार्वजनिक गर्नुअघि मलाई भन्ने मौका किन नदिइएको होला ? दुःख पनि लाग्यो, तर पनि मनको कुनामा कतै खुसी पनि लाग्यो कम्तीमा ज्योति बिग्रेला भन्ने पिर रहेछ ।
अघिल्लो मंगलबार मात्रै सिलिन्डरलाई बम बनाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन मञ्चले जिम्मेवारी दिएको थियो र हामी त्यसको तयारी गर्दै थियौँ । तर, त्यसको ठीक उल्टो समाचार आयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग हुँदै नभएका र मेरो कल्पनाबाहिरको कुरा मआबद्ध संस्थासँग जोडेर लेखिएको रहेछ । मलाई बद्नाम बनाउने नियतले मैले गर्दै आएको पेसा कानुन व्यवसायलाई पनि अत्यन्तै आक्षेपित गरिएको रहेछ । लेखनको शब्द चयन हेर्दा पनि अत्यन्तै पूर्वाग्रही रूपमा बद्नाम गराउने नियतको झल्को देखिन्छ ।
नेपालको वस्तु र सेवा बजारबाट उपभोक्ताहरूको अधिकार हनन हुने क्रम बढ्दो छ । हनन गर्नेहरू सङ्गठित हुँदै छन्, उनीहरूको साधन-स्रोत तथा दबाबले राजनीतिक र प्रशासनिक नेतृत्व प्रभावित भइरहेको छ । प्रत्येक वस्तु र सेवा क्षेत्रमा सयौँका अनुचित क्रियाकलाप भेटिइरहेका छन् । यस्तो गलत कार्यलाई सफा गर्ने काम आफैंमा चुनौतीपूर्ण छ । गलत कार्य गर्ने नै सम्मानित भइरहेको अहिलेको अवस्थामा अनुचित कार्य गर्नेलाई सफा गराउन प्रयत्न गर्नेलाई नै सफाचट गराउने धेरै ठाउँबाट प्रयत्न भइरहेको छ । यस्तो समय सामान्य नागरिकका लागि अत्यन्तै चुनौतीपूर्ण घडी भएको छ । मलाई बुझनेहरू सबैलाई थाहा छ, मेरो यो अतिरिक्त जीवन हो । मलाई प्रत्येक वस्तु र सेवा क्षेत्रमा उपभोक्ता आन्दोलनको विषय प्रवेश गराउनेबाहेक अन्य कुनै लोभ र आकाङ्क्षा छैन । नेपाली उपभोक्ता आन्दोलनका लागि जीवन नै बलिदान दिने मानसिकताका साथ प्रवेश गरेको व्यक्तिलाई तथ्यहीन रूपमा आरोपित गरी त्यसरी प्रस्तुत गर्नु न्याय नहोला कि ? आलेख लेख्दा कम्तीमा सोधेर लेखिदिए मलाईजस्तो पीडा र ज्यादति अरूलाई हुने थिएन ।-ज्योति बानियाँ

समाचारले आशङ्का जन्मायो
घटना र विचार अनलाइनमा ‘बेल्जियम बसेर एमालेको नाममा मानवतस्करी’ शीर्षकमा प्रकाशित समाचारप्रति नेपाली राजदूतावास, पेरिसको ध्यान आकरि्षत भएको छ । उक्त समाचारको अन्तिम प्याराग्राफमा ‘फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठलाई समेत गुमराहमा पारेर आफू चोखिने चाल कृष्ण खतिवडाले चलेको दूतावासस्रोतले जनाएको’ भनी प्रकाशन भएकोमा निज कृष्ण खतिवडा भन्ने व्यक्तिको सम्बन्धमा यस दूतावासका कूटनीतिक तथा अन्य कुनै पनि कर्मचारीसँग कतैबाट पनि जानकारी माग भएको छैन । निज खतिवडाले मे २ का दिन महामहिम राजदूतसमक्ष तथ्यसत्य खुलाइपाउन भनी निवेदन दिएकोमा निजको निवेदनसँग यस राजदूतावासको कुनै पनि सम्बन्ध नभएको विषय भएको कारणले उक्त निवेदनको जवाफ नदिइएको हो । यस राजदूतावासका कुनै पनि कर्मचारीलाई यस सम्बन्धमा त्यस अनलाइन पत्रिकाका कुनै पनि सम्पादकले जानकारी माग नगरेको अवस्थामा दूतावासका कर्मचारीहरूबीच एकआपसमा शङ्का पैदा गराउने, मनमुटाव गराउने, विग्रह गराउने मनसाय राखी समाचार प्रकाशन
भएको अनुभूति दूतावासलाई भएको छ । यसप्रति राजदूतावास खेद प्रकट गर्दछ । -नेपाली राजदूतावास, पेरिस