अष्ट्रेलियामा पनि जुध्न थाले नेपाली सिनेमा

अष्ट्रेलियामा पनि जुध्न थाले नेपाली सिनेमा


राजन घिमिरे, अष्ट्रेलिया

नेपालमा एकैदिन तीनभन्दा बढी चलचित्रहरू प्रदर्शन हुँदा यस्तो अब्यवस्थित प्रदर्शनले नेपाली सिनेमाहरू आफैं मारमा पर्ने गर्छन् वा सबैलाई घाटाको परिणाम मात्र हात लाग्छ भन्ने जस्ता अभिव्यक्तिले राम्रै स्थान पाउँदै आइरहेका छन् । तर, अब आएर नेपालमा मात्र होइन कि प्रवासमा पनि नेपाली सिनेमाको प्रदर्शनमा प्रतिस्पर्धा हुन थालेको छ, अर्थात् प्रदर्शनको हिसाबले सिनेमाहरू जुध्न थालेका छन् ।

नेपाली सिनेमाको नेपालपछि राम्रो र भरपर्दो बजार मानिएको देश हो अष्ट्रेलिया । अष्ट्रेलियामा रहनुभएका नेपाली चलचित्रप्रेमी प्रवासी नेपालीहरूबाट नेपाली सिनेमाले अत्याधिक साथ र माया पाइरहेको अवस्थामा नेपालमा जस्तै यहाँ पनि एकैदिन तीनवटा सिनेमा प्रदर्शन हुने भएको छ । अन्य सांस्कृतिक कार्यक्रमहरूको आयोजना एकैदिन धेरै भएको अवस्था पुरानै भए पनि सिनेमा प्रदर्शनको हकमा भने यो पहिलो घटना भएको आयोजकहरूले बताएका छन् ।

इन्टुमिन्टु लन्डनमा, छक्का पन्जा-३ र बोबी गरेर तीन चलचित्र सिड्नीमा एकैदिन प्रदर्शनमा आउन लागेका छन् । ओयशिस एजुकेशनले प्रस्तुत गरेको चलचित्र छक्का पन्जा-३ लाई रगडेल बोइज र कमेरो इभेन्टसले अष्ट्रेलिया भित्र्याएको हो भने एजुकेशन एण्ड माइग्रेशन कर्नरको प्रस्तुति रहेको चलचित्र इन्टुमिन्टु लन्डनलाई सुनिल उप्रेतीले अष्ट्रेलियामा प्रदर्शनको ब्यबस्थापन गरेका हुन् । यो चलचित्रसँगै यसका कलाकारहरू पनि अष्ट्रेलिया आउने कुरा उप्रेतीले जानकारी दिए । यसैगरी चलचित्र बोबीलाई भने तमु समाजले प्रदर्शनको ब्यवस्थापन गरेको छ ।

यी तिनै चलचित्र अक्टूबर १२ तारेखका दिन सिड्नीमा प्रदर्शन हुँदै छन् । छक्का पन्जा-३ सिड्नीको हर्सभिलमा रहेको ईभेन्ट सिनेमामा प्रदर्शन हुने छ भने हर्सभिलमा नै रहेको सिभिक थिएटरमा बोबी प्रर्दशन हुने छ । यता इन्टु मिन्टु लन्डनमा भने सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा लाग्ने भएको छ ।

त्यसो त यी चलचित्रहरूको प्रदर्शनको चाँजोपाँजो मिलाउनेहरूको प्रतिक्रिया भने सकारात्मक नै छ । ‘यहाँ कार्यक्रमको आयोजना गर्न शुक्रबार, शनिबार या आइतबार, कि त सार्वजनिक बिदा नै हुनुपर्छ । त्यसकारण सबैले यस्तै या बिदाको दिन खोजेकोले पनि एकैपटक परेको हो । यसमा भिड्न्त, जुधाई वा प्रतिस्पर्धा केही पनि छैन । यो संयोग हो ।’ प्रदर्शकहरूको भनाई छ ।

त्यसो त प्रदर्शकहरू अष्ट्रेलियामा बजार भएकै कारण आफूहरूले सिनेमा लिएर आएको दाबी गर्छन् । बजार नभएको भए हामीहरू किन जोखिम उठाएर चलचित्र लेराउँथ्यौ र ? भनी प्रतिप्रश्न गर्छन् उनीहरु ।

प्रवासमा नेपाली सिनेमाहरूको एकसाथको यो प्रदर्शनले ब्यवसायमा कत्तिको असर पर्नै हो ? त्यो त पछि नै थाहा होला, तर एउटा कुरा भने निश्चित हो कि अष्ट्रेलियामा रहनुभएका नेपाली चलचित्रप्रेमी प्रवासी नेपालीले नेपाली सिनेमाप्रतिको मोह, बिस्तार र क्रेजलाई भने उँचो बनादिएका छन् ।