अष्ट्रेलियामा कलाकारसँगै ‘इन्टुमिन्टु लन्डनमा’ हेर्न पाइने

अष्ट्रेलियामा कलाकारसँगै ‘इन्टुमिन्टु लन्डनमा’ हेर्न पाइने


राजन घिमिरे, अष्ट्रेलिया

नेपालमा राम्रै प्रशंसा हात पारेको चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ले अब विदेशको यात्रा अष्ट्रेलियाबाट शुरू गर्ने भएको छ । यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार चलचित्र इन्टुमिन्टु लण्डनमाको पहिलो प्रदर्शनको शुरूवात ११ अक्टोबरमा एडिलेटमा हुने भएको छ भने १२ तारेखका दिन सिड्नीको बरउड रहेको इभेन्ट सिनेमामा विशेष प्रदर्शनी गरिने भएको छ ।

यसैगरी यो चलचित्रको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतका शहरहरूमा शो हुने छ । चलचित्रको प्रदर्शनमा सहभागी हुन चलचित्रका कलाकारहरू पनि अष्ट्रेलिया आउने कार्यक्रम रहेको छ । ‘उहाँहरु अक्टोबर १० तारेखका दिन सिड्नी आइपुग्नुहुने छ र विविध कार्यक्रमका साथ हामी चलचित्रको प्रदर्शनलाई अगाडी बढाउने छौँ,’ उप्रेतीले बताए ।

नेपालको प्रदर्शनमा तारिफ कमाई सकेपछि यो चलचित्रको विदेशमा माग ह्वात्तै बढेको थियो । पछिल्लो पटक दर्शकहरूमाझ राम्रो क्रेज बनाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरसँगै बसेर चलचित्र हेर्न पाइने कारणले पनि यतिबेला अष्ट्रेलियामा रहनुभएका नेपाली चलचित्रप्रेमीहरू उत्साही देखिएका छन् ।