काठमाडौंमा रहेका एनआरएनहरु रक्तदान गर्न चाहनुहुन्छ ?

काठमाडौंमा रहेका एनआरएनहरु रक्तदान गर्न चाहनुहुन्छ ?


डिल्लीराम अम्माई, बेल्जियम

‘रक्तदान जीवनदान हो, आउनुहोस् अक्टोबर १२ तारिख बिहान ९ बजेदेखि दिनको २ बजेसम्म यो महादानमा सहभागी बनौँ ।’

सबैलाई थाहा भएकै कुरा हो कि हामीले दिएको रगतबाट धेरैको जीवन बचाउन सकिन्छ।

रक्तदानको महत्व हामीलाई तब मात्र थाहा हुन्छ जतिबेला हामी आफैं वा हाम्रा आफन्त रगतको लागि जीवन र मृत्युसँग लडिरहेका हुन्छौँ । त्यतिबेला हामी सपनाबाट ब्युझन्छौँ र बिरामीलाई बचाउनको लागि रगतको खोजीमा तड्पिन्छौँ।

अनायास दुर्घटना अथवा बिमारी हामीमध्ये जो पनि हुन सकिन्छ । हामी आफूलाई सभ्य समाजका चेतनशील नागरिक सम्झिन्छौँ। त्यसैले हामीले आफ्नो लागि मात्र नभएर अरुको भलाइको लागि पनि सोच्दछौँ।

एनआरएनए रक्तसञ्चार पद्धति विकास समितिको आयोजनामा काठमाडौं हुन लागेको रक्तदानको पुनीत कार्यमा सहयोग गरौँ, रगतको अभावमा छट्पटाइरहेका बन्धुहरुको जीवन बचाउन एक पुनित कार्यमा सहभागी बनौँ ।

यसपटकको गैरआवासीय नेपाली संघले गर्न लागेको विज्ञ सम्मेलनमा एनआरएनए रक्तसञ्चार पद्धति विकास समितिले १०० जना भन्दा बढी एनआरएनहरुलाई रक्तदान अभियानमा सहभागी गराउने लक्ष्य लिएको छ।

समितिका संयोजक फणिन्द्र पन्तका अनुशार नेपालका स्वास्थ्यमन्त्री समेतको सहभागितामा रक्तदान गरिनेबारे कुरा भैरहेको र एक सर्वेक्षणबाट नेपालमा वार्षिक रुपमा करिब ३० हजार पिन्ट रगत अति जरुरी देखिएकोले त्यसमा एनआरएनहरुको पनि योगदान आवश्यक देखिएकोले यो पहल गरिएको हो ।

रक्तदानको जनचेतना, पहल र ब्यवस्थापनको लागि २६ देशका ४१ जना एनआरएनहरुले यो समिति निर्माण गरेका हुन् । यसको मूल उद्देश्य वार्षिक रुपमा अपुग रगतको परिपूर्तिमा सहयोग गर्नु रहेको छ।

स्वस्थ व्यक्ति जसको उमेर १८ देखि ६८ वर्षको छ, वजन ४५ किलोग्राम भन्दा बढी छ र जसको रगतमा हेमोग्लोबिनको मात्रा १२ प्रतिशत भन्दा बढी छ, उसलाई रक्तदान गर्न योग्य मानिन्छ।