प्रदर्शनीमा दुई रुपैयाँदेखि १४ सयसम्मका पुस्तक

प्रदर्शनीमा दुई रुपैयाँदेखि १४ सयसम्मका पुस्तक


के तपाईं रु. दुईमा पुस्तक पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिनादेखि आफ्नो परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उक्त मूल्यमा ‘काव्यार्चना’ नामक कवितासंग्ह प्राप्त गर्नुभयो भने आश्चर्य नमान्नुहोला ।

प्रतिष्ठानले ४६ वर्षअघि प्रकाशनमा ल्याएको उक्त संग्रहमा केदारमान व्यथित, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णवका कविता छन् । ती स्रष्टाले तत्कालीन राजसंस्थालगायतका विषय समेटेर काव्यात्मक शैलीमा रचना प्रस्तुत गरेको पाइन्छ ।

प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा गत भदौ १९ देखि शुरु भएर यही असोज १९ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करिब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएको ‘प्रज्ञा अंग्रेजी नेपाली शब्दकोश’ रु. एक हजार ४०० मूल्यमा प्राप्त गर्न सकिन्छ । यो पुस्तक १०० भन्दा धेरै बिक्री भएको प्रदर्शनीका संयोजक सुधीर ढुंगेलले जानकारी दिए । बृहत् शब्दकोशमा रहेका शब्द र अर्थलाई अंग्रेजीमा अनुवाद गरिएको छ । रु. दुईदेखि रु. एक हजार ४०० मूल्यसम्मका पुस्तक प्रदर्शनीमा छन् ।

प्रतिष्ठानले ठूला साहित्यकारको स्मृति, महत्वपूर्ण दिवस तथा समारोहको अवसर छोपेर पुस्तक प्रदर्शनी गर्ने गरेको छ । पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । विभिन्न पुस्तकमध्ये ‘सार्क मुलुकका महिला लेखिकाको कथा’, ‘षड्दर्शनसमुच्चय’, ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’, ‘संक्षिप्त साहित्यिक शब्दकोश’, दर्शनावलीका भाग १ देखि ४ सम्मका पुस्तकका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, अधिकांश पाठकको रोजाइमा परेको पाइएको छ ।

लेखक विजयध्वज थापाले पुराना कृतिको संग्रहलाई पाठकको मागअनुसार प्रदर्शनीमा राखिएको बताउँदै पठन संस्कृतिको विकास गर्न प्रदर्शनी महत्वपूर्ण हुने विचार व्यक्त गरे । प्रतिष्ठानले लेखक तथा साहित्यकारका राम्रा कृतिलाई पछिल्लो समयमा अंग्र्रेजीमा अनुवाद गरेर बिक्रीका लागि समेत राखेको छ । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अंग्र्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश–विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ ।

नेपाली, संस्कृत, अंग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरिद गर्ने गरेको पाइएको छ । अहिलेसम्म करिब रु. छ लाखको पुस्तक बिक्री भएको जनाइएको छ ।