नेपाल, अमेरिका लामो समयदेखिका साझेदार : एलिस वेल्स

नेपाल, अमेरिका लामो समयदेखिका साझेदार : एलिस वेल्स


– मनोज रिजाल, न्युयोर्क

संयुक्त राज्य अमेरिकाकी दक्षिण र मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री एलिस वेल्सले अमेरिका र नेपाल लामो समयदेखिका साझेदार रहेको एवम् अमेरिकीहरूको हृदयमा नेपालको लागि विशेष स्थान रहेको तथ्य बताएकी छिन् ।

‘संयुक्त राज्य अमेरिका नेपालको एक लामो समयदेखिको साझेदारको रूपमा नेपाल अघि बढेको, यहाँका जनताले प्रगति गरेको, यसको अर्थतन्त्र फैलिएको तथा भूकम्पपछिको समस्याहरूबाट चाँडै मुक्त भएको हेर्न चाहन्छ,’ न्युयोर्कमा आयोजित पत्रकारहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा वेल्सले भनिन् ।

‘अमेरिकीहरूको हृदयमा नेपालले एक विशेष स्थान ओगटेको छ । यो एक मात्र त्यस्तो देश हो, जसको निम्ति कंग्रेस (तल्लो सदन)ले एकल देश व्यापार सहुलियत (सिंगल कन्ट्री ट्रेड पे्रफरेन्स) को घोषणा गरेको छ र हामी जहिले पनि नेपाललाई लोकतान्त्रिक अभियानमा कसरी सफलता प्राप्त गर्ने भन्ने सम्बन्धमा सहयोग गर्न तयार छौँ,’ मन्त्री वेल्सले भनिन् ।

संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन आएका नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको वार्तालाप स्मरण गर्दै वेल्सले वर्तमान नेपाल सरकारसँग सहकार्य गर्ने अमेरिकी चाहना रहेको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको अमेरिकी डलर ५०० मिलियन (रु. ५७.५ अर्ब) बराबरको मिलेनियम च्यालेन्ज सहायता रकमलाई समेत अघि बढाउने जानकारी दिइन् ।

‘नेपाललगायत हाम्रा विश्व साझेदारहरूसँग हामी लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तहरू सेयर गर्छौँ र लोकतान्त्रिक संस्थाहरूको सुरक्षासमेत गर्छौँ,’ मन्त्री ज्ञवालीसँगको भेटमा अमेरिकी मन्त्री वेल्सले भनिन् ।

वेल्सले गत अगस्टमा गरेको नेपाल भ्रमणको समेत स्मरण गर्दै नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता एवम् स्थानीय, प्रान्तीय र संघीय गरी तिनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सराहनासमेत गरिन् ।

‘नेपाल निरन्तर लोकतान्त्रीकरणतर्फ अघि बढिरहेको छ र नेपालले लोकतान्त्रीकरणको निम्ति खेलेको र खेल्न सक्ने भूमिका यस क्षेत्रका अन्य देशहरूको निम्ति एक आदर्श हुन सक्छ र यसमा नेपालको महत्वपूर्ण भूमिका रहनेछ,’ उनले भनिन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन आएका अन्य दक्षिण र मध्यएसियाली देशका नेताहरूसँग भएको भेटघाटको प्रसङ्ग उल्लेख गर्दै वेल्सले आफ्नोतर्फबाट स्वतन्त्र, खुला एवम् नियममा आधारित हिन्द–प्रशान्त क्षेत्र (इन्डो–प्यासिफिक रिजन) प्रतिको अमेरिकाको परिकल्पना र प्रतिबद्धता दोहोर्याएको तथ्य बताइन् ।

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्र प्रवद्र्धन गर्ने हाम्रा प्रयासहरूमा दक्षिण–पूर्वी एसियाली सहयोग संगठन आसियानको भूमिका महत्वपूर्ण छ । साथै, हाम्रा प्रयासहरूलाई जापान र अष्ट्रेलियासँगको वार्ता संयन्त्रहरू एवम् सहकार्यले पनि सहयोग पुर्याउनेछ,’ उनले भनिन् ।

‘ती संयन्त्रहरू कुनै एलायन्स होइनन्, तिनीहरू त अवसरका संयन्त्रहरू हुन् जसले समान विचार भएका देशहरूलाई एकै ठाउँमा ल्याइदिन्छ, ता कि विकासमा वित्तीय लगानी, पूर्वाधार परियोजनाहरूमा उच्च गुणस्तर कायम गर्ने र लगानी उठाउने आदि कार्यहरूमा समन्वय गर्न सकियोस्,’ मन्त्री वेल्सले भनिन् ।