मानिससँगै एटिच्युड विदेश पुगेपछि…

मानिससँगै एटिच्युड विदेश पुगेपछि…


बबिता बस्नेत

केही समयअघि डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाइएको एउटा छोटो युट्युब भिडियो सोसियल मिडियामा देखियो । १६ सेप्टेम्बर २०१८ मा अपलोड गरिएको उक्त भिडियोमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिकामा आयोजित कुनै समारोहमा भाग लिन जाँदै गर्दा केही नेपालीले कालो झन्डा देखाएको दृश्य थियो । कालो झन्डासँगै थोरै सङ्ख्यामा रहेका मानिसले केही शब्द बोलेको पनि सुनियो, ‘मर्डरर गो ब्याक !’ नारा भनुँ भने नाराजस्तो होइन, स्वस्फुर्त भनुँ भने भित्रैबाट आएको आवाजजस्तो पनि थिएन । सुन्दा नै अलि अप्ठ्यारो लाग्ने खालको, भन्नेले पनि निर्धक्क नबोलेर आफू के बोलिरहेछु थाहा नपाई केही कुरा बोलिदिएजस्तो ।

दुई–तीनपल्ट ‘मर्डरर गो ब्याक’ भनेपछि तिनै मानिसमध्ये कसैले नेपालका बहिनीहरूलाई विधवा बनाउने, नेपालका छोराहरूलाई मार्ने गो ब्याक भने । भिडियो हेर्दा त्यहाँ जे कुरा गरियो, भनियो त्यो खासै पूर्वतयारीका साथ गरिएकोजस्तो लाग्दैन । मानिसहरू धेरै थिएनन्, नारा असुहाउँदिलो तरिकाले बोलिएको थियो । कालो झन्डा देखाउने समूहकै हुनुपर्छ केही मानिस फोटो खिचिरहेका देखिन्छन् । भिडियो हेरेपछि यो पङ्क्तिकारको मनमा आएको पहिलो प्रतिक्रिया थियो, ‘लौ जो भए पनि यिनीहरू त उनीहरूको आफ्नै देशमा गएकोझैँ गरी गो ब्याक भनिरहेका छन् ।’ केही शब्द नेपालीमा पनि बोलिएकाले उनीहरू नेपाली नै भएको ठम्याउन गाह्रो भएन । नेपाली भनेर बुझ्ने अर्को आधार पनि थियो, कालो झन्डा । अर्काको देशमा आफ्ना नेतालाई कालो झन्डा देखाउन अरू देशका नागरिकले हत्तपत्त सक्दैनन्, त्यसप्रकारको जोस–जाँगर नेपालीहरूमा मात्रै देखिने गरेको छ । अरू देशका नागरिक त विगतमा आफूले भोट हालेका हुन् या नहुन् देशका नेता आफू बसिरहेको बिरानो मुलुक पुग्दा कि त वास्तै गर्दैनन् कि मनले नै भेटघाट र स्वागत गर्छन् । नेता या अन्य कुनै पनि सार्वजनिक व्यक्तित्व कुनै मुलुक जाँदा त्यहाँ बसेका मानिसले भव्य स्वागत नै गर्नुपर्छ भन्ने पनि छैन ।

नेपालमा प्रधानमन्त्रीका रूपमा उहाँले गर्न नसकेका कुराहरू धेरै छन्, ती तमाम कुराको हिसाबकिताब न्युयोर्कमा होइन नेपालमै गर्ने हो ।

डा. बाबुराम भट्टराईलाई कालो झन्डा देखाइएको एक महिना नपुग्दै प्रधानमन्त्री केपी ओलीलाई संयुक्त राष्ट्र सङ्घमा भाग लिन गएको बेला केही नेपालीले कालो झन्डा देखाएको भन्ने समाचार आयो । विदेशी भूमिमा नेपालीले नेपालीका लागि देखाइएको कालो झन्डा र विरोध प्रदर्शनले हामी नेपाली जहाँ पुगे पनि हाम्रा एटिच्युडहरू हामीसँगै प्लेन चढेर सम्बन्धित मुलुकमा पुग्ने रहेछन् जस्तो लाग्यो । त्यसो त, पहिलोपटक यस्तो लागेको होइन र यसप्रकारका प्रवृत्तिहरू कालो झन्डामा मात्र सीमित पनि छैनन् । बाबुराम भट्टराईलाई विरोध गर्नका लागि नेपालमै प्रसस्त ठाउँ थियो, छ । गाली नै गर्न मन लागेको भए वर्षौँ विदेश बसेका नेपाली डा. भट्टराई प्रधानमन्त्री हुँदा गरिएको निर्णयबाट काठमाडौंमा बनेका फराकिला बाटाहरूको प्रयोग गर्दै उहाँको पार्टी कार्यालय या यस्तै कुनै ठाउँमा गएर विरोध गर्न मिल्छ । दशवर्षे युद्धका बेला भएका अनेक दुःख र अन्यायका कुरा यतै बसेर गर्न सकिन्थ्यो, सकिन्छ । प्रधानमन्त्री केपी ओली देशमा कुरा मात्रै धेरै गरेको भनेर आलोचित हुनुहुन्छ । उहाँले विदेशमा (संयुक्त राष्ट्र सङ्घ र अन्य सभा–समारोहमा) जसरी बोल्नुभो त्यसले नेपाल र नेपालीको शिर उचो बनाएको छ ।

विदेशमा गएर देशका प्रतिनिधिले मुलुकको सम्मान र आत्मसम्मानको प्रवद्र्धन गर्ने भनेको बोलेरै हो, राम्रा र स्पष्ट कुरा गरेर नै हो । संयुक्त राष्ट्र सङ्घमा प्रधानमन्त्रीको प्रस्तुति, शैली र विषयवस्तु कतै पनि खोट लाउनुपर्ने खालको छैन । एउटा नेपाली नागरिकको आँखाबाट हेर्दा अमेरिकामा बस्ने कुनै पनि नेपालीले उहाँलाई यसपटक नेपाली राष्ट्रिय झन्डाबाहेक अरू झन्डा देखाउनुपर्ने देखिँदैन । विगतमा प्रधानमन्त्रीहरूले कनिकुथी गरेका भाषणका अगाडि प्रधानमन्त्री ओलीको भाषण बसिरहेको ठाउँबाट उठेरै ताली बजाउन मनलाग्ने खालको छ । नेताहरूको भाषण, बोली, आत्मविश्वास र सभ्यतामा देशको इज्जत खोज्ने अवस्थामा रहेका हाम्रा लागि प्रधानमन्त्रीले विश्व समुदायसामु शिर ठाडो गरेर हिँड्न सक्ने गरी बोलिदिनु पनि ठूलो कुरा हो । नेता बीपी र राजा वीरेन्द्रपछि केपी ओलीले नेपालीलाई यो अनुभूति गराउनुभो भन्नेछ । नेपालमा प्रधानमन्त्रीका रूपमा उहाँले गर्न नसकेका कुराहरू धेरै छन्, ती तमाम कुराको हिसाबकिताब न्युयोर्कमा होइन नेपालमै गर्ने हो ।

आफ्नो घरभित्रको कलहलाई हाटबजारमा पुगेपछि खोतलेर छरपस्ट पार्नु र विदेशको भूमिमा नेपालीले नेताहरूलाई कालो झन्डा देखाउनुमा उस्तै प्रवृत्तिले काम गरिरहेको हुन्छ । देश बनाउनका लागि विदेशबाट अनेक विज्ञहरू झिकाउन मिले पनि देश चलाइदेऊ भनेर नेता ल्याउन मिल्दैन ।

हामी कोही काङ्ग्रेस छौँ, कोही कम्युनिस्ट, राप्रपा, राजपा या यस्तै । नेपालमा नेपाली मात्रै मानिस भेट्न गाह्रो भए पनि विदेशमा त भेटिन्छ भन्ने भ्रम कतिपयलाई थियो भने त्यो बिस्तारै तोडिँदै गएको छ । विदेशको भूमिमा त नेपाली भाषा मात्रै बोल्ने मानिस भेट्दा पनि आफ्नो लाग्नुपर्ने हो, जुन अन्य समुदायमा हुने गर्छ । बाह्य मुलुकसँग तुलना नगरूँ, दक्षिण एसियाकै कुरा गर्ने हो भने पनि नरेन्द्र मोदी अमेरिका जाँदा आयोजना गरिएका समारोहहरूमा सबैथरी भारतीय जम्मा हुन्छन् या मन नलाग्ने वा नभ्याउनेहरू जाँदैनन् । चार वर्षअघि न्युयोर्ककै म्याडिसन स्क्वायरमा आफ्ना देशका प्रधानमन्त्रीलाई भेट्न र कुरा सुन्न ओइरिएको भारतीय नागरिकको भिड विश्वव्यापी चर्चाको विषय बनेको थियो । पाकिस्तानी, बंगलादेशीहरूले त्यसरी भिड नजुटाए पनि कालो झन्डा देखाउने कल्पना शायदै गर्लान् । चाहे जुनसुकै दलका हुन्, प्रधानमन्त्री त आखिर राष्ट्रका हुन्छन् । आफ्नो देशमा जे गरे पनि विदेशी भूमिमा राष्ट्र र राष्ट्रप्रमुखको सम्मान आफ्नो सम्मानसँग जोडिएको हुन्छ । चाहे शेरबहादुर देउवा, सुशील कोइराला या भोलि प्रधानमन्त्री हुन सक्ने सम्भावना भएका डा. शेखर कोइराला, डा. शशांक कोइराला, नारायणकाजी श्रेष्ठ या सुरेन्द्र पाण्डे जोसुकै हुन् ।

नेपालीहरूको विदेश बसाइ गौरवभन्दा बढी बाध्यता हो जस्तो लाग्छ । यसमा धेरै कुरा छन्, तर अमेरिकामा बस्ने कतिपय नेपाली नेपालमा जति पनि मानिसहरू बसिरहेका छन् ती हामीजस्तो अमेरिका आउन नपाएर बसिरहेका हुन् भन्ने ठान्छन् शायद । त्यस्ता मानिसले देशका बारेमा लेख्दा, बोल्दा खत्तम भयो, बर्बाद भयो, अब के नै बाँकी छ र ? भन्ने गरेको पाइएको छ । ता कि मुलुकमा राम्रा कुरा धेरै छन्, राम्रा मानिस पनि त्यत्तिकै छन् । आफ्नो घरभित्रको कलहलाई हाटबजारमा पुगेपछि खोतलेर छरपस्ट पार्नु र विदेशको भूमिमा नेपालीले नेताहरूलाई कालो झन्डा देखाउनुमा उस्तै प्रवृत्तिले काम गरिरहेको हुन्छ । देश बनाउनका लागि विदेशबाट अनेक विज्ञहरू झिकाउन मिले पनि देश चलाइदेऊ भनेर नेता ल्याउन मिल्दैन । नेतालाई राम्रो गरे पुरस्कार र नराम्रो गरे तिरस्कार जनताले गर्ने हो । तर, त्यो तिरस्कार कहाँ देखाउने या कसरी व्यक्त गर्ने भन्ने पनि ठाउँ र तरिकाहरू हुन्छन् । कालो झन्डा देखाइएका यी दुवै सन्दर्भमा भने समय र स्थान दुवै गलत परे ।