राजनीतिको व्यापारीकरणपछि…

राजनीतिको व्यापारीकरणपछि…


देश र जनताको सेवाका लागि अपनाइने एक मूल माध्यम हो– राजनीति । सिद्धान्ततः राजनीति समाजसेवाको एउटा उच्चतम् रूप हो । तर, नेपालको सन्दर्भमा राजनीतिलाई समाजसेवाको उत्कृष्ट स्वरूपका रूपमा अथ्र्याउन खोजियो भने हास्यास्पद विषय हुन पुग्छ । किनकि, राजनीति यहाँ सेवा नभई व्यवसाय बन्न पुगेको छ, सबैभन्दा सजिलोसँग छिट्टै धन आर्जन गर्न सकिने रोवरवाफयुक्त धन्दा तुल्याइएको छ राजनीतिलाई । समाजसेवाको एउटा आदर्श माध्यमलाई धनार्जनको निकृष्ट उपायमा रूपान्तरित गरिसकेपछि यस माध्यमबाट रातोरात अकुत आर्जन गर्न राजनीतिकर्मीहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका विकृत तथा विकराल दृश्य नेपाली राजनीतिक फाँटमा दृष्टिगोचर भएको छ ।

राजनीतिलाई नगद आर्जनको माध्यम वा व्यवसाय तुल्याइनु कदापि उचित थिएन, तर दुर्भाग्यले यहाँ यो आदर्शको पालना हुन सकेन । राजनीतिको व्यवसायीकरण गरिए पनि मूलतः मानिस (नागरिक)प्रति लक्षित भई सेवा उपलब्ध गराएर आर्जन गर्नु व्यावसायिक धर्म वा ध्येय हुनुपर्ने हो, अर्थात् जनताको चाहनाअनुसार ‘डेलिभरी’ दिएर आर्जन गर्नु कुनै पनि व्यवसायको चरित्र हुनुपर्थ्यो, त्यसको लक्षणसम्म देखिएन ।

जनताले तेल माग्दा सरकार रेल दिन्छु भन्दै एकोहोरो रट लगाइरहन्छ । महँगी नियन्त्रण गर, उपभोग्य सामग्री सस्तो–सुलभ तुल्याइदेऊ भन्दा सरकार काला व्यापारी तथा माफियाको पक्षपोषण हुने व्यवहार दर्शाउँछ ।

विख्यात अमेरिकी बिजनेसम्यान हार्वे एस. फायरस्टोन आफ्नो व्यावसायिक सफलताको रहस्य खोल्दै सधैँ भन्ने गर्थे, ‘मेरो सफलताको रहस्य मात्र दुई शब्दमा लुकेको छ– जनतालाई जान्नु ।’ उनको भनाइको अर्थ आमजनताको भावना बुझेर व्यवहार गर्न सके सफलता हात लाग्छ भन्ने हो । फायरस्टोन त एक व्यवसायी मात्र थिए र पनि जनभावनाको महत्व बुझेर कर्म गर्ने कुरालाई सर्वाधिक महत्व दिन्थे, जसले उनलाई सफलताको चुलीमा पुऱ्याइदिएको थियो । ‘जनतालाई जान्नु’ भन्ने ती व्यवसायीको ‘जीवन–सूत्र’ हरेक राजनीतिकर्मीका लागि उपयोगी हुन सक्छ । सफलता प्राप्तिका लागि जनचाहना बुझेर कर्म गर्नु अपरिहार्य छ भन्ने आदर्श बोकेको सो मान्यता नेपालका राजनीतिजीवीका लागि त यो मूल मन्त्र नै बन्नुपर्ने हो । तर, विडम्बना ! रूपले राजनीतिमा भए पनि हामीकहाँ कथित राजनीतिकर्मीहरू व्यवहारले व्यापारमा निर्लिप्त छन् । र, यी ‘व्यापारी’ आर्जन त गर्न चाहन्छन् तर जनचाहनाको चाहिँ पटक्कै ख्याल राख्दैनन् ।

उदाहरणका लागि, जनताले तेल माग्दा सरकार रेल दिन्छु भन्दै एकोहोरो रट लगाइरहन्छ । महँगी नियन्त्रण गर, उपभोग्य सामग्री सस्तो–सुलभ तुल्याइदेऊ भन्दा सरकार काला व्यापारी तथा माफियाको पक्षपोषण हुने व्यवहार दर्शाउँछ । सुरक्षा देऊ, अपराधी चिनेर कारबाही गर भन्ने माग गर्दा सरकार लाठी–गोली प्रयोग गरेर नागरिकलाई तह लगाउन खोज्छ, अपराधीलाई उन्मुक्ति दिँदै दण्डहीनता मौलाउने माहोल पैदा गरेर जनतालाई त्रासमा बाँच्न विवश गराउँछ । जनता स्वास्थ्यसेवा र शिक्षामा सहज पहुँचको माग गरिरहेका छन्, तर शासकहरू स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि माफियाकै पोल्टामा पारिरहन उद्यत् देखिन्छन् । जनता आफ्नो सरकारमाथि विश्वास र भरोसा गर्न खोज्छन्, तर सरकार त्यो भरमाथि कर थोपरेर नागरिक निचोर्ने कर्ममै मग्न रहन खोज्छ । सकारात्मक कुरा गर्नका निम्ति त सरकारले कुनै कोणबाट पनि ठाउँ छोडेकै छैन भन्दा अतिशयोक्ति हुँदैन ।

मुलुक बनाउँछु भन्ने दल तथा दलका कार्यकर्ता नै राजनीतिलाई व्यापार तुल्याएर अहोरात्र आर्जनमा लागेको परिवेशमा आमनेपाली भने जबर्जस्ती सुख–समृद्धिको सपना देख्न अभिशप्त तुल्याइएका छन् ।

यस्तो परिस्थितिमा दुईतिहाइ शक्तिसहितको वर्तमान सरकार स्वयम् धर्मराइरहेको सङ्केत मिलेको छ । प्रतिपक्षी दल सशक्त भएर होइन, सरकारको नेतृत्व गरिरहेको दल ‘नेकपा डबल’ले आफ्नो भार आफैँले थेग्न नसक्दा, आफ्नै शक्ति र कर्तव्यबोध गर्न नसक्दा यस्तो अवस्था निम्तिएको हो । देशका यावत् समस्या असरल्ल छोडेर आफ्ना आसेपासेयुक्त टोलीसहित प्रधानमन्त्री करिब दुई साताको फुर्सद निकालेर पश्चिमा मुलुकको सयरमा छन् भने देशकै जिम्मेवारी लिएको दलका अन्य शीर्ष नेतृत्वकर्ता कोही परिवार बोकेर घुमघाममा त कोही छिमेकीको दैलो ढक्ढक्याउन पुगेका छन् । सोही दलका दोस्रो तहका नेताहरू पनि आपसमा एक–अर्काको उछित्तो काढ्न उद्यत् देखिँदै छन् । देश निर्माणको चिन्ता फगत तिनका बोलीमा सुनिन्छ, व्यवहारमा त आफ्नै ‘पावर’ वा ‘पोजिसन’को ‘प्यासन’ले तिनलाई सताएको प्रस्टै छ । वास्तविक तवरले देशको चिन्ता गर्दै शासकहरूको स्वस्थ आलोचना गर्नेहरूमाथि सत्ताधारी दलका कार्यकर्ता अरिङ्गाल बनेर खनिन्छन्, अनेक आक्षेप थोपरेर इमानदार नागरिकलाई अवसादकै दलदलमा धकेल्न ती उद्यत् भइदिन्छन् ।

मुलुक बनाउँछु भन्ने दल तथा दलका कार्यकर्ता नै यसरी राजनीतिलाई व्यापार तुल्याएर अहोरात्र आर्जनमा लागेको परिवेशमा आमनेपाली भने जबर्जस्ती सुख–समृद्धिको सपना देख्न अभिशप्त तुल्याइएका छन् । आलोचना गरे आफैँलाई अठ्याउँछ, तारिफ गर्नका लागि कुनै त्यान्द्रोसम्म नभेटिने शासकीय व्यवहार छ । साँच्चै अत्यासलाग्दो प्रश्न पैदा भएको छ– राजनीतिको यो विकृत व्यापारीकरणले सिङ्गो नेपाल र तमाम नेपालीलाई कहाँ पुऱ्याउँदै छ हँ ?