सार्वजनिक जीवन जिउनेहरूको पाइखानामा भित्ता हुँदैन र पत्रकार ?

सार्वजनिक जीवन जिउनेहरूको पाइखानामा भित्ता हुँदैन र पत्रकार ?


– डिल्लीराम अम्माई, बेल्जियम

मन हो, सबैलाई दुःख लाग्छ । ममाथि लगाइएको लाञ्छनासहितको साथीको फोन म्यासेजले मलाई पनि दुःख लाग्यो । धेरैबेर दुःख पालेर बस्न सकिनँ र यी हरफहरू कोर्न बाध्य भएँ ।

अहिले मात्र हैन केको चित्तदुखाइले हो एकजना मित्रले राजदुत वा अन्य अभियन्तालाई जस्तै मलाइ पनि बेलाबेलामा शब्दका तिखा सियोहरूले कुच्च–कुच्च कोपिरहनुहुन्छ । ‘यस्तो लेख, त्यस्तो नलेख वा फलानाको प्रवृत्तिको बारेमा चासो राखेर लेख्ने गर’ भनेर धेरै पहिलेदेखि उहाँको निर्देशन आइरहन्थ्यो । जुन म्यासेजहरू मैले अझैसम्म सुरक्षित राखेको छु) ।

वाक्क भएर मैले उहाँसँग सम्पर्क गर्न छाडेँ र फेसबुक लगायत म्यासेन्जर पनि ब्लक गरिदिएँ । त्यसै बीचमा एउटा असहज परिस्थिति जन्मन सक्ला भनेर मैले उहाँसँग भेट हुँदा पनि त्यसखाले धेरै गफ बहस गरेको छैन ।

मलाइ थाहा छ, लेख वा समाचारहरूका आफ्ना सीमा र मर्यादाहरू हुन्छन् । आफ्ना आधारभुत मान्यता र सोचहरू मिलाएर लेख तयार हुन्छ । समाचार पनि आधारहरूलाई श्रोत मानेर लेखिन्छ । मेरो अनुरोध के मात्र हो भने विश्वासिला आधार वा प्रमाण संकलन गरेर मात्र समाचार बनाउँ । हामीले घरको कुनै पनि दुलोमा आगो लगाउने र बनिबनाउ घर जलाउने गर्दा भोलि बास बस्ने स्थान नै मेटिन्छ । मेरो अभिप्राय ‘दुलो त्यत्तिकै छाडेर मुसा पाल्ने’ भन्ने पक्कै होइन । त्यो दुलोलाई टाल्नेतर्फ हाम्रो कलम सोझिनु पर्छ भन्ने नै हो (सन्दर्भ एनआरएन वा अन्य संघसंस्था) ।

मैले लेखेकै हुँ कि कुनै पनि नेपालीले आयोजना गरेका सभा–सम्मेलनमा दुतावास आयो वा आएन भनेर कलमजीवीले खत थाप्नु हमेशा जायज हुँदैन भनेर । त्यही दिन कार्यक्रम जुध्न पनि सक्छ, राजदुत आउन पनि सक्छन् वा त्योभन्दा महत्वपुर्ण पुर्वघोषित कार्यक्रममा कुटनैतिक निकायका प्रमुख आफै उपस्थित हुन पनि सक्छन् । त्यो अवस्थाको हेक्का राख्दै सम्बन्धित पक्षसँग कारणको जानकारी लिएर मात्र हामीले जानकारीमुलक टिप्पणी वा समाचार बनाउन सकिएला । कारणबारे राजदुतलाई बुझ्नु परेन त पहिला नआउनुको कारण के थियो ? नबुझी झगडा सुरु भो भनेर ड्याङड्याङ हान्दिने ! यस प्रकारले त हामी अपुरो समाचारको बेस्वादिलो झन्झटमा फस्ने खतरा हुन्छ ।

महत्वपुर्ण कार्यक्रममा दुतावासको प्रतिनिधित्व हुने अपेक्षा सर्वथा स्वाभाविक हो । फेरि पनि दुतावासका अन्य कर्मचारीको उपस्थितिमा भएका सबै कार्यक्रमहरू राजदुत उपस्थित भएसरहकै मानिन्छन् । सबै कार्यक्रमहरूमा दुतावासका प्रमुख नै पुग्नुपर्छ भन्ने मान्यता हामीले स्थापित गर्न हुँदैन । किनकि, राज्यको वैदेशिक नीतिको परिपुर्तिको लागि राजदुत नगई नहुने कार्यक्रम धेरै हुन्छन् । अहिलेसम्म हामीले हाम्रा कार्यक्रमहरू बनाउँदा दुतावासको क्यालेन्डर हेरेर बनाएका छैनौँ कि जस्तो लाग्छ । अन्तिम समयमा दूतावासलाई खबर गरिन्छ र पनि दूतावासबाट सकेसम्म औपचारिक प्रतिनिधित्व भएको पाएका छौँ । मैले गरेको यो समीक्षा वर्तमान कार्यकालको हो है ।

अहिले विवाद बनाउन खोजिएको बिषय एनआरएनए बेल्जियमको अघिल्लो महिनामा सम्पन्न साधारणसभाको हो । त्यो सभा बेनेलक्सको दूतावासकै प्रतिनिधिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समाचारमा लेखिएअनुशार कदाचित राजदुतबाट असहयोग भएको भए दूतावासको उपस्थिति रहने थिएन । जुन कुरा लेखक स्वयमले बुझ्नुपर्ने हो । कुरा त स्पष्ट छ त ! पंक्तिकार त्यो साधारणसभाको प्रत्यक्षदर्शी हो ।

अर्को कुरा ‘एनआरएनएको अध्यक्षले राजीनामा गर्नुपर्ने’ माग एक समाचारमा उहाँले नै अघिसार्नुभएछ । तपाईं स्वयमलाई थाहा छ, तपाईंले राजीनामा माग्दैमा कसैले राजीनामा दिँदैन । पत्रकारले त्यसरी कारवाहीको सीमा तोकेर लेख्न वा बोल्न मिल्छ कि मिल्दैन ? मलाई थाहा भएन ।

प्रक्रिया पुर्याएर एनआरएनएका कुनै पनि सदस्यले राजीनामा माग गर्न सक्ने भयो । तर त्यसको पनि एउटा निश्चित प्रक्रिया हुन्छ । समितिका एक तिहाइको समर्थनमा दुई तिहाईले अविश्वासको प्रस्ताव पास गर्न सक्छन् । वा स्वयमले राजीनामा दिन पनि सक्छन् । तर कसैसँग खटपट भयो वा कुनै एक एनआरएनलाई अध्यक्षसँग रिस उठ्यो भन्दैमा ‘राजीनामा दे’ भनेर उफ्रिन सुहाउला वा नसुहाउला ? राजीनामा दिनुपर्ने आधार ‘रिस’ भन्ने त पक्कै हुँदैन होला । त्यसको लागि पनि प्रमुख कारण त चाहिने होला नि मित्र ! कि अध्यक्षले सम्पूर्ण एनआरएनहरूको आस्थालाई लात हानेको हुनुपर्यो, कि जानाजान सांस्कृतिक रुपमा बिचलित वा भ्रष्ट भएको हुन पर्यो । आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएपनि राजीनामाको आधार मान्न सकिन्छ । त्यस्तो त बेल्जियमको वर्तमान अवस्थामा देखिएको वा घटनाक्रम त्यसरी विकास भएको छैन कि ?

मान्छे हो, सामान्य गल्ती सबैबाट हुन्छ । त्यो पनि नियतवश हो वा अन्जानमा प्रष्ट नहुन्जेल स्पष्टिकरण सोध्न पाइन्छ । कारवाहीको लागि नियतवश गल्ती गरेको प्रमाण जुटाउन प्रेसले सहयोग मात्र गर्ने हो । न्याय या अन्यायको फैसला कानुनले गर्छ । प्रवासमा पदीय जिम्मेवारीको फैसला जनअदालत (जनसमुदाय)ले गर्छ ।

अध्यक्ष लोक दाहालले आफ्नो कार्यकालको एक वर्षभित्र गरेका नकाम र कामहरूबारे साधारणसभामा आउनेले राम्ररी बुझे । उपस्थित नभैकन अरुमार्फत बुझ्नेले कसरी बुझे त्यो बुझ्नेलाई थाहा होला । मैले उपस्थिति जनाएर बुझ्ने मौका पाएँ । केही महत्वपुर्ण परोपकारी, सामाजिक कामहरू भएका छन्, कार्यालय ब्यवस्थित बनाउन खोजिएको छ र केही मुलुकमा नेपालीको साख बढाउने काम पनि भएका छन् । आर्थिक रुपमा कार्यालय बनाउन बोलेको चन्दा समितिले उठाउन नसकेको सत्य हो । त्यसको लागि बैंक एकाउन्टसहित सबै चन्दादाताहरूलाई चिठ्ठी पठाउने भनिएको छ । आशा गरौँ त्यो पनि उठ्ला । अक्षय कोष हिनामिना भएको हो त्यो प्रेम गुरुङको कार्यकालको अन्तमा । केन्द्रको कुरो केन्द्रले जानोस् ।

बर्तमान अध्यक्षले सभामा भनेका थिए, ‘मानिसले सामान्य गल्ती गर्छ यदि त्यो गल्ती नियतवश हैन भने पक्कै नेतृत्वले त्यही गल्तीबाट नै सिक्ने हो । म आफूलाई पूर्ण र सबै क्षमताले सम्पन्न मान्दिनँ । समाजको हित र परोपकारको लागि प्रयासरत छु र हुनेछु भन्ने मात्र विश्वास दिलाउँछु । यदि जानअन्जानमा गरेका गल्ती र सामाजिक मर्यादामा असर परेको छ भने कृपया औंल्याइदिनुहोला ।’ यो त उनले सभामा खुलेरै बोले । त्यसैले हरेकले हरेकको मर्यादालाई ख्याल गर्नु पक्कै आवश्यक छ । आफ्नो आत्मसन्तुष्टिको लागि कसैमाथि झम्टिनु वा अप्रमाणिक आरोप लगाउनु पनि अपराध हो ।

सार्वजनिक जीवन जिउनेहरूलाई कतिबेला आक्रमण गर्नुपर्छ समाचार बनाउनेलाई थाहा हुनैपर्छ । समाजमा बस्दा, खेल्दा र सवारी चढ्दा कुइनो ठोक्किएकै आधारमा आक्रमण गर्दै जाने हो भने त्यो ब्यक्तिलाई सामाजिक हितमा सहयात्री बनाउन सकिँदैन । त्यो सामाजिक प्राणी बन्नलायक पनि हुँदैन । सार्वजनिक जीवन जिउँदा कसैको जन्मदिन, भातख्वाई वा विवाहमा निम्ता आएन भनेर शत्रु सम्झने र उसको बारेमा लेख्दै जाने हो भने स्वयमको आत्मस्वाभिमानले समेत गिज्याउने परिस्थिति बन्दछ । त्यो ब्याक्ति कसैसँग मिलेर बस्ने सन्तुलन क्रमशः गुमाउँदै जान्छ र अन्त्यमा अराजक मानसिक रोगी बन्दछ ।

उसलाई के आधारमा, केका लागि र कुन उद्देश्यले बोलाउने त्यो आवश्यकता हामीले निर्धारण गर्ने हैन, निम्तो दिनेले बोलाइने ब्यक्तिको उपयोगिता देखेर बोलाउन मन लागे बोलाउँछ अन्यथा बोलाउँदैन ।

मैले कसैलाई सम्मान दिएको छु वा समाजको लागि केही सकारात्मक योगदान भएको छ भने अरुले पनि त्यो महसुस गरेको हुन्छ र आवश्यक बेलामा सम्मान फर्काउँछ । सँधै किचलो मात्रै झिकीरहन्छु, समस्या मात्र जन्माइरहन्छु भने त्यो ब्याक्तिबाट समाज आजित भैसकेको हुन्छ । खटिरो मान्छे हिँडिरहने बाटो समेत हिँड्न बन्द गर्छ, बोल्न बन्द गर्छ र बिस्तारै सामाजिक कार्यहरूमा उसलाई बहिस्कार गर्दै जान्छ । त्यो मानवीय स्वभाव मात्र नभएर जैविक स्वभाव हो । गोही बस्ने तलाउमा कहिल्यै हाँस बस्दैन ।

म राज्य, समाज र अझ भनौँ मानव समुदायको दास नै हुँ, किनकि म मेरो हितभन्दा समाजको हितलाई प्रधानता दिन्छुु । म बनेर समाज कदापि बन्दैन तर समाजको स्तर वृद्धिले मलाई गहिरो प्रभाव पार्दछ ।

हामी पत्रकारहरू त्यसरी समाजबाट अलग हुने प्रवृत्तिदेखि सजग हुनुपर्छ । त्यो सम्बन्धमा पत्रकार महासंघले देशभरका शाखा तथा एसोसिएट अध्यक्षहरूको सहभागितामा २०७३ भदौ ३० गते भएको भेलाबाट पारित रानी महल घोषणा पत्र २०७३ को १०औं नम्बरमा हामीलाई एक सुझाव दिँदै भनेको छ, ‘स्वच्छ मर्यादित, उत्तरदायी र व्यवसायिक पत्रकारिताको विकासको लागि महासंघले ‘हाल पत्रकार पेशाको मर्यादामा नरहेका वा अन्य कारणले पेशाबाट अलग भएका ब्यक्तिहरूलाई सुद्धिकरण अभियानमा सहयोग पुर्याउँदै स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग गर्न आह्वान गर्दछ ।’

धेरै अगाडिको कुरा हो । वीरेन्द्र क्याम्पसका ब्याचलरमा पत्रकारिता पढाउने गुरुले भन्नुहुन्थ्यो, ‘तपाईं फगत खहरेझैँ मैमत्त हुँदै लेख्ने, समाचारबाट तर्साएर ब्यक्तिगत फाइदाको अपेक्षा राख्ने र कसैको स्वतन्त्र जीवनवृत्तिमाथि नै आक्रमण गर्ने हो भने त्यो दिनदेखि तपाईंभित्र निहित पत्रकारिताको आत्मा सकिने छ । त्यसैले कसैको समवेदना, ब्यक्तिगत स्वतन्त्रता र जीवनपद्दतिमा पत्रकारिता सहायक बन्नुपर्छ न कि अराजकता र साम्प्रदायिकताको पक्षपोषक । सामाजिक सद्भाव र सन्तुलन पत्रकारिताको केन्द्रिय तत्व हो । विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध लेख्दा पुष्टि हुने खालका श्रोत र प्रमाण अनिवार्य हुनुपर्छ ।’

हामी सामाजिक हितविरुद्ध बहकियौँ भने चेतावनी दिने र हाम्रा कलमहरूलाई निलम्बित गर्ने अधिकार समाजलाई छ । चेतनाको स्तर कमजोर भएको देश, समाज र समुदायमा प्रगतिशील उद्देश्य राखेर सामाजिक कुरीति, अन्धपरम्परा र धार्मिक अन्धताको विरुद्ध कलम चलाउँदा पत्रकारहरू लखेटिएका, पिटीएका र मारिएका उदाहरणहरू छन् । त्यस्ता विषयमा हामी कसरी कलम चलाउने त्यो त्यहाँको वस्तुगत अवस्थाले निर्धारण गर्ने कुरा हो । अन्यथा हरेक कुरामा हामीलाई समाजको समर्थन चाहिन्छ । यदि पत्रकारले आफुलाई नसच्याउने हो भने मिडिया एकातिर र नागरिक अर्को बाटोमा हिँड्ने खतरा भइरहन्छ ।

साथीले मलाई पनि ‘कसैको चम्चागीरी गर्दै दास नबन्न’ सुझाव दिनुभएको रहेछ । ममा तपाईंको भन्दा अलिक फरक सोच छ मित्र । म बुझ्दछु मिडिया आफैमा एउटा स्थायी प्रतिपक्षी हो । म राज्य, समाज र अझ भनौँ मानव समुदायको दास नै हुँ, किनकि म मेरो हितभन्दा समाजको हितलाई प्रधानता दिन्छुु । म बनेर समाज कदापि बन्दैन तर समाजको स्तर वृद्धिले मलाई गहिरो प्रभाव पार्दछ । त्यसैले जनसमुदायको हितमा आफ्नो हित खोज्नेलाई कसैले दास चाकडीबाज भन्छ भने ‘धन्यवाद’ भन्छु म ।

सामाजिक हितमा बगेका पसिनाहरूको सम्मानमा लेख्दा, परोपकार र मानवताको लागि जनताले अर्पेको रगत र समर्पणको बारेमा लेख्दा वा परिवर्तनको महान आन्दोलनको समर्थनमा लेख्दा ‘खान्कीमा बिकेको दास’ देख्दै जाने हो भने संसारबाट कलमको महत्वको साथै सदभाव, सत्कर्म वा सत्वृत्ति, सामाजिक निष्ठा र मानवताको अनिकाल पर्ने छ । हाम्रो निष्ठा परिवर्तनको लागि, समस्त मानव सभ्यताको लागि, सामाजिक हितको लागि र उज्यालोको लागि हुनुपर्छ भन्नेमा म सचेत छु । अर्को कुरा, हामीले सबैका राम्रा कर्मको सतर्कतापूर्वक सम्मान गर्नै पर्छ । खराब कर्मको पनि सतर्कतापुर्वक समालोचना, आलोचना र सम्बन्धित निकायसँग कारवाहीको याचना गर्नैपर्छ । यी कुरामा पनि मेरो कलम सचेत छ र तपाईंको व्यंग्यात्मक सुझावले अझै सचेत बन्दै जाने कुरामा विश्वास दिलाउँछु ।

तपाईंलाई पुनः स्मरण गराउँछु कि, मैले साथी वा सहकर्मीको परिभाषा र शब्दको मर्म बुझेर नै तपाईंलाई फेसबुकबाट हटाएको हुँ । साथी हुन पनि अलिकति रसायन मिल्नु आवश्यक हुन्छ । तपाईंलाई हटाएको अवस्थाले मलाइ कुनै अफसोचमा पारेको छैन । मेरी आमा जीवनभर भन्ने गर्नुहुन्थ्यो, ‘विषको बिरुवालाई हुर्काउँदा आफैलाई बिरामी बनाउँछ भने त्यसलाई किन पानी दिने बाबु ? हनुमाने झार उखेलेर फाल, पानी नहाल ।’ म सानो छँदा सबै बोटबिरुवा समान देख्थेँ र आँगनको मठनजिक ल्याएर सार्ने गर्थेँ । मैले स्वर्गीय आमाको त्यो सुझावलाई एक जीवन दर्शनको रुपमा लिएको छु । बेलाबेलामा महसुस हुन्छ । मैले त्यो कुराको पुनः महसुस अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) महासभामा भाग लिन जाँदा पत्रकार महासंघ युरोपका संस्थापक पत्रकारको आक्रमणपश्चात गरेको थिएँ । अचेल पनि आभास भैरहेको छ, समाजबाट बहिस्कृत भएर पनि त्यो प्रवृत्ति अझै जीवित छ ।

आज प्रसङ्गवश सार्वजनिक जीवनको बारेमा पुनः गज्जबले तर्क गर्न पाइयो । पुर्व प्रधानन्यायाधीशलाई महाअभियोग लगाइनेबारे सोधिएको प्रश्नमा तात्कालीन प्रधानन्यायाधिशले भनेका थिए, ‘कसैको जीवन सार्वजनिक हुन्छ भन्दैमा त्यसलाई पूर्वाग्रहको कारण नाङ्गो बनाइहाल्नु पर्छ, कपडा खोलेर सडकमा हिँड्न लगाउनु पर्छ भन्न पाइन्छ ? के त्यो अपराध हैन ? उसको परिवार हुँदैन ? साथीभाइ हुँदैनन् ? थोरै समबवदना, भातृत्व र सामाजिक सद्भाव भएका पत्रकारहरूले सोच्ने कुरा हो कि हैन ? सार्वजनिक जीवन जिउनेहरूको पाइखानामा भित्ता हुँदैन र पत्रकारज्यु ?’ मैले त्यही प्रश्न सबैलाई कहीँ केही आरोप लगाउँदै हिँड्ने हजुरलाई निवेदन गरेँ मित्रवर ।

हुन पनि हो, ब्यक्तिगत सम्वेदनशीलतालाई थोरै ख्याल नगर्ने हो भने नत धर्तीमा शर्म रहन्छ, न मर्यादा, भातृत्व र आस्था । अतः कतिपय यस्ता गम्भीर प्रकृतिका कुराहरू पत्रकार स्वयमले छुट्याउने र प्राथमिकता निर्धारण गर्ने हो । अदालतसम्म नपुगेका, अनुसन्धान हुँदै गरेका घटनाबारे तात्कालिक तरल अवस्थालाई ख्याल गरेर राज्यको कानुनलाई सम्मान गर्दै अरुलाई उछिन्ने नाममा समाचार बनाइहाल्नु जायज हुँदैन । त्यो सब पत्रकारको स्वविवेकले तय गर्ने कुरा हो ।’ सत्य र न्याय मेरो इसारामा नाच्नुपर्छ, म हाँसेपछि मात्र अरुले हाँस्नुपर्छ’ भन्ने सोच पत्रकारले नत्यागेसम्म उसलाई सामाजिक उत्तरदायित्वको आभास हुँदैन । अतः हामी त्यो भ्रमबाट पछि हट्नैपर्छ । तपाईंले मात्र बुझ्नुहोला भनेर मैले तपाइको नाम नराखी लेखेँ, अन्यथा नलिनु होला ।

(लेखक नेपाल पत्रकार महासङ्घ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष हुन् । यो उनको नितान्त निजी धारणा हो ।– सं.)