दक्षिण-पूर्वी एशियाकै उत्कृष्ट बन्ने यात्रामा नर्भिक !

सय शैयायुक्त छुट्टै भवन बनाउँदै नर्भिक अस्पताल

1 Shares

नर्भिक इन्टरनेशनल हस्पिटलले सय शैयायुक्त एक लाख वर्गफिटको नयाँ भवन थप्ने र हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वोत्कृष्टमध्येको एक बनाउने उदघोष गरेको छ । उक्त घोषणा नर्भिकका अध्यक्ष वसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्ने क्रममा गरेका हुन् ।

यसका अलावा नर्भिकले छिट्टै अति विशिष्ट क्रायो सेवा (Cryo Services) लगायत अलग्गै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरु गर्ने जनाइएको छ । यस्तै, विकट स्थान तथा आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत दिइएको छ ।

‘मेरो मुटुः तपाईको मुटु’ नाराका साथ मनाइएको विश्व मुटु दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित भएका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको, सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरू निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तर उकास्न निजी क्षेत्रका हस्पिटलहरूसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

समारोहमा सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष वसन्त चौधरीले निजी हस्पिटलहरुलाई पनि स्वास्थ्य मन्त्रालयकै परिवारिक सदस्यका रुपमा व्यवहार गरिने र तिनलाई सरकारको सम्पत्तिका रुपमा हेरिने स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धत्ताको खुलेर प्रशंसा गरे । सय शैय्यायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै सर्वोत्कृष्ट मध्यको एक हस्पिटल बनाउने प्रतिबद्धता पनि चौधरीले व्यक्त गरे ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै विश्व मुटु दिवसको मुख्य उद्देश्य रहिआएको सो अवसरमा स्मरण गराइयो ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । अझ पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देश, अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षा मूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ ।

नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । कार्यक्रमको प्रमुख आतिथ्य स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गरेका थिए भने वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा.डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगायतका वक्ताले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारे ।

कार्यक्रममा मन्तव्य राख्दै प्रा.डा. भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेशलिष्ट’को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकहरूको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि एकै स्थानमा सम्पूर्ण समाधान दिइने रणनीति अपनाएको जानकारी दिए । उनले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना पनि प्रस्तुत गरे ।
हृदयाघातपश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय ९० मिनेट तोकेको छ भने नर्भिकको उक्त समय (धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको स्तर युरोपेली र अमेरिकी सरह भएको उनको तर्क थियो ।

समारोहमा नर्भिकका चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामी मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने विषयमा प्रकाश पारे । गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका प्रा. रत्नमान डंगोल र पूर्व बाणिज्य सचिव डा. शङ्करकृष्ण मल्लले नर्भिकमा आफूले उपचार गराउँदाका प्रशंसनीय अनुभवहरू सनाए । नर्भिकको सेवा÷सुविधा एवम् प्रविधिबाट आफू र आफ्नो परिवार प्रभावित रहेको उनीहतको भनाई थियो ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनसँगै कार्यक्रम समाप्त गरिएको थियो ।

1 Shares

प्रतिक्रिया