एनआरएनए यूकेको पाँचौँ काउन्सिल बैठक सम्पन्न

एनआरएनए यूकेको पाँचौँ काउन्सिल बैठक सम्पन्न


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पाँचौँ राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ । यही सेप्टेम्बर २९ का दिन अल्डरसट, बेलायतमा बसेको बैठकमा बेलायतस्थित १०० संघसंस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो भने बैठकले विभिन्न विषयमा छलफल गरी ११बुँदे घोषणापत्र जारी गरेको छ ।

उक्त घोषणा पत्रमा एनआरएनए यूकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाई गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गरेको छ । भूपू गुर्खाको समस्या गुर्खाहरुको मात्र नभई राष्ट्रिय महत्वको भएकोले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्नको लागि गैरआवासीय नेपाली संघको बेलायत शाखालाई माग गरेको छ ।

नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनएको ‘एक एनसीसी एक परियोजना’ अन्तर्गतको अवधारणालाई शाखाले बेलायतवासी नेपालीहरुसमक्ष प्रस्तुत गरेको छ । त्यस्तै विदेशमा आर्जन गरेका शीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन बैठकले नेपाल सरकारसमक्ष माग गरेको छ ।

सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरिएको छ । यूकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिबद्धता पनि सोही बैठकमा व्यक्त गरेको छ ।

यूकेमा बसोबास गर्ने नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका शीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए यूकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता बैठकले पारित गरेको छ । नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसमक्ष बैठकले माग गरेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा बसेको सो बैठकमा केन्द्रीय उपाध्यक्ष्य कुमार पन्त विशेष अतिथि र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेका थिए ।