फेस बुक

फेस बुक


– डिल्ली अम्माई

पहिलो पटक
यो फेसबुक
जादु झैँ लाग्यो
खोजेँ
हराएका पाइलाहरु
पाइलाले निचोरिएका
पुराना थुम्का !

धेरै खोजेँ
सम्झना
विस्मृतिका छाया
केहि भेटेँ
केहि भेटिनँ ।

ती सब मेरै हुन्
जोडेँ
खोज्दै गएँ
जोड्दै गएँ।

अचेल थाहा भो
केहि नखोज्नुपर्ने खोजेँ
केहि नजोड्नु पर्ने जोडेँ।
फरक मनोदशा
फरक मनोविज्ञान
महासागर
उही
फेसबुक।

राजाहरुले मलाई छोएनन्
मैले राजाहरुलाई छोएँ
त्यसैले त भेटेँ
तिम्रो मनोदशा
मसँग मेल खाएन होला
मलाइ सुघेन होला
तिमीलाई रुचेन होला ।

देखादेख भयो
बोलचाल भएन
दौडिँदै गर्दा
तिम्रो तस्विर
झुण्डिएर हाँसेको
फेस बुक ।

अब छोडिदेउ मलाई
सजिलो हुन्छ तिमीलाई।
म सजिलो छैन
मलाई नबुझ
बर्बाद नगर
तिम्रो स्वार्थी समय
सके फुर्सदमा सम्झाउ
नभए बिर्सिदेउ
म केही हैन
सापटी नागरिक
सापटी साथी
सापटी स्वार्थ
अनि समय बर्बाद
फेसबुक।

मलाइ हटाइदेउ
म गुणग्राही छैन
तिम्रो समयको मूल्य
मैले तिर्न सक्दिनँ।
किनकि तिमी असर्फी
तामा तुलसी
म बालुवाको घर्षण
ममा आशक्ति नराख
बिर्सीसक्यौ मनले
फोश्रो स्वाङ्ग छाडिदेउ
डिलेट गरिदेउ
मेरो नाम
अनि तर्काइदेउ तर्कना
विकृत चिहान
फेसबुक।