उचाइतिर चन्द्रसिंह

उचाइतिर चन्द्रसिंह


अहिले युवापुस्ता माझ एउटा गीत लोकप्रिय छ, त्यो हो–साहारा बनिदेऊ तिमी… । यो गीत सिन्धुपाल्चोक चौताराका युवा गायक चन्द्रसिंह तमूले गाएका हुन् । एसियन म्यूजिकले बजारमा ल्याएको यो गीतको चर्चा अझै चुलिएको छ– कारण यो गीत नेसनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको पुरुषतर्फ बेस्ट पप सिंगरमा नोमिनेसनमा परेको छ । झन्डै साढे दुई दशकभन्दा अघिदेखि सङ्गीत साधनामा तल्लीन चन्द्रसिंहले यो सफलता त्यत्तिकै पाएका भने होइनन् ।

सङ्गीतमा लागेर जीवनका अनेकन घुम्तीमा आएका विभिन्न अवसरलाई त्याग गरेर लक्ष्यको गन्तव्य चुम्ने अभियानमा उनी लागे । उनको जीवनमा सङ्गीत यात्राको सङ्घर्ष रोचक पनि छ । दशकअघि यिनको एउटा एल्बम बजारमा आयो– ‘लिरिक्स’ । सो एल्बमका गीतहरू रेकर्ड गराउन उनले निकै सङ्घर्ष गर्नुप¥यो । आफ्नो लागि सङ्गीत नशा भएकोले सङ्गीत छाड्न मनले नमान्ने भएपछि जीवनलाई पूर्ण सङ्गीतमै अर्पण गर्न चाहने उनको सफलताका लागि बाधक नै आर्थिक अभाव बन्यो । ‘पैसा नहुँदा भातसँग नुन र खुर्सानी खाएर सुतेको दिन अझै ताजै छ,’ उनी भन्छन्, ‘एल्बम रिलिज गर्नका लागि आफूसँग भएका सामग्रीहरू ड्रमसेट, गिटार, एम्लिफायर बेचियो ।’
जिल्ला सदरमुकाम चौतारामा बसोबास गर्ने तमले त्यतिबेला काठमाडौंमा कोठा भाडामा लिएर गीत रेकर्डिङ गर्ने गर्थे । एल्बम निकाल्नकै लागि गरेको कामबाट पनि पैसा नपाएको दुखेसो उनीसँग छ । ‘कतै पैसा नभएपछि वार्षिक २४ प्रतिशत ब्याजमा ऋण लिएँ अनि गीत रेकर्डिङ गरेँ,’ उनी विगत सम्झन्छन्, ‘त्यतिबेला गीत रेकर्डिङमा म ठगिएको रहेछु, अहिले बल्ल थाहा भो ।’ उनी त्यतिबेला झन्डै तीन लाख रुपैयाँ डुबाए । आँटले भन्छन्, ‘तर हार मानिनँ, सङ्गीतमै लागिरहेँ ।

झन् एल्बम निस्किएपछि वितरणमा उनलाई चरम आर्थिक सङ्कट पऱ्यो । जम्मा १५ हजारको अभावमा टेलिभिजनमा आफ्नो प्रोमो बजाउन नपाएको र आफ्नो एल्बम हिट हुन नपाएको पीडालाई मुटुमा खोपेर सधैँ सङ्गीतकै लागि अझै धाउँछन् उनी । पैसाको अभावका कारण राम्रा प्रतिभाहरू ओझेलमा पर्ने गरेको यथार्थलाई स्वीकार्दै उनी प्रचारप्रसारबिना केही नहुने बताउँछन् । आर्थिक अभावका कारण प्रोमो बजाउन नपाउँदा आफ्नो गीत स्रोतामाझ नपुगेकाले आफू पछाडि परेको उनको दाबी छ । एल्बम हिट नभए पनि त्यतिबेला राष्ट्रिय रूपमै भएको हिमालयन ब्यान्ड कम्पिटिसनका तमुको समूह दोस्रो भयो । अमित घिमिरेको रचना रहेको त्यहाँ प्रस्तुत गरिएको गीत खेल यो बन्दुक बारुदको अति भो….ले बेस्ट लिरिस अवार्ड प्राप्त गरेको थियो । सङ्गीतलाई आफ्नो जीवन मान्ने तमु सङ्गीतका लागि आफ्नो जीवन आहुति दिन पनि पछि नहट्ने बताउँछन् ।

बिहान ब्युँझनुअघि जब उनका हात हार्मोनियमका ‘कि’हरूमा सलबलाउन थाल्छन् तब सिङ्गो वातावरण सङ्गीतमय बन्छ, र सिङ्गो चौतारा त्यसपल सङ्गीतमा चुर्लुम्मै डुबेको हुन्छ । आफ्नो लागि सङ्गीत नशा भएकोले सङ्गीत छाड्न मनले नमान्ने भएपछि जीवनलाई पूर्ण सङ्गीतमै अर्पण गरेको उनी सुनाउँछन् ।

जिल्लामा यिनी सङ्गीत क्षेत्रका विलक्षण प्रतिभा हुन् । अब्बल दर्जाका गायक हुन्, सङ्गीतकार हुन् । तैपनि छायामा छन् । ‘आर्थिक हैसियत सफल नबनाई कला र प्रतिभाले मात्र केही हुँदो रहेनछ,’ आफ्नो भोगाइ र यथार्थ पोखे ।

साँच्चै मनले नमानेपछि कसको के लाग्दोरहेछ र ? यिनको सङ्गीतप्रतिको साधना, मिहिनेत र लगनशीलताले एक दिन लक्ष्यको सगरमाथा चुम्ने कुरामा दुईमत नहोला, तर सङ्गीतको नाममा कलङ्कितहरू यस क्षेत्रबाट हट्नुपर्छ । सङ्गीतको नाममा फाइदा लुट्नेहरू प्रशस्तै छन् ।

०३७ मा माता सुकु घले र पिता अम्बरबहादुर घलेको पहिलो सन्तानको रूपमा जन्मिएका तमुले दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् । अमित घिमिरेको शब्द रहेको ‘खेल यो बन्दुक बारुदको अति भो’ उनको पहिलो रेकर्डिङ गीत हो । गीतद्वारा आमश्रोता, दर्शकलाई मनोरञ्जन प्रदान गर्न यिनी जिल्लाका विकट गाउँहरू धेरैपटक चहारिसकेका छन् । भारतको दार्जिलिङमा समेत कन्सर्ट दिन भ्याइसकेका गला र कलाका धनी तमु सानोमा दार्जिलिङमा पढ्दा साई भजन गाउँथे । शिक्षकहरूबाट र साथीहरूबाट वाहीवाही पाउँथे । वास्तवमै त्यसैको विस्तृत रूप हो अहिलेको गायन यात्रा । स्वरमा सुनील बर्देवासँग बेसिक कोर्स मात्र गरेका उनी बर्देवालाई नै आफ्नो गुरु मान्ने गर्दथे । तर, प्रेरणाको स्रोत भने साहित्यकार अमित घिमिरेलाई मान्छन् ।

आफूलाई भन्दा बढी माया सङ्गीतलाई गर्ने तमु सङ्गीत मनछुने खालको हुनुपर्ने बताउँछन् । सङ्गीतले मन छोएन भने त्यसको अर्थ नरहने बताउँछन् उनी । तमुको जुगलको आँगनमा मेरो गौरतीको शिर, अरनिको सरर, उडाउला पछ्यौरी, ओ प्रियाजस्ता गीतले सिन्धुपाल्चोकलाई चिनाउँछ । यी गीतहरूमा जिल्लाका पर्यटकीय स्थलहरूको सौन्दर्य वर्णन गरिएको छ । यसका अतिरिक्त सुनचाँदी, राजारानी, पिउँदापिउँदै, मिस अन्डरस्ट्यान्डिङ, चिरिसकेँ छाती, मेटाउन खोजेँलगायत दुई दर्जनभन्दा बढी गीत उनले रेकर्ड गराएका छन् ।

गायक तमुलाई सङ्गीत क्षेत्रमा सम्बद्ध निकायले गरेको असहयोगप्रति चित्त बुझेको छैन । सङ्घर्ष गरेजति सफलता अझै हात नपरेकोमा निरन्तर प्रयासपछि आफू सफल हुनेमा विश्वस्त छन् । सम्बद्ध निकायले सङ्गीतको विकासका लागि चासो देखाएको छैन । सङ्गीतको संरक्षण र संवद्र्धन गर्नतर्फ अग्रसर छैन र, त उनी भन्छन्, ‘सङ्गीतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु जरुरी छ ।’ सङ्गीतका लागि मिहिनेत गर्न नछोड्ने तमु आफू स्थापित भएमा जिल्लामा सङ्गीत पाठशाला र रेकर्डिङ स्टुडियो आफैँले सञ्चालन गर्ने सोचमा रहेको बताउँछन् ।

गीत रेकर्ड गर्न जाँदा राजधानीमा आफू ठगिएको तीतो यथार्थलाई कलात्मक ढङ्गमा उतार्दै उनले भने, ‘यतै रेकर्ड गर्ने व्यवस्था मिलाउन सकियो भने स्थानीय गायकहरू ठगिनबाट जोगिन्छन् ।’ शिक्षण पेसासमेत गरिरहेका तमु आफ्नो जागिरको सिलसिलामा सदरमुकामभन्दा धेरै टाढा गोल्चेमा बस्ने क्रममा बालबालिकालाई हरेक बिहान बालगीत सिकाउने गरेका थिए । शिक्षणप्रतिको जिम्मेवारी सँगसँगै गीत–सङ्गीतलाई पनि सँगै डोहोऱ्याएका छन् । अहिले अध्यापन गराइरहेको महेन्द्र माविमा पनि बालबालिकालाई सङ्गीत सिकाउने गर्छन् निःशुल्क । यहाँ बस्दा त्यहीँकै बालबालिकाको स्वरमा एउटा बालगीत रेकर्ड गराएर भिडियोसमेत सार्वजनिक गरिसकेका छन् । अमित घिमिरेकै शब्द रहेको सो बालगीतलाई तमु आफँैले सङ्गीत भरेका हुन् ।

– किशोर बुढाथोकी