चुनौती सामनाको सरल उपाय

चुनौती सामनाको सरल उपाय


– आचार्य श्री स्वामी ध्रुव

हामी जन्मैदेखि हात त लिएर आएका हुन्छौँ तर जबसम्म लेख्न सिकाइँदैन हामीलाई लेख्न आउँदैन । त्यस्तै जीवनका चुनौतीहरूको समाधानको लागि हामीलाई ज्ञानको आवश्यकता हुन्छ, समझको आवश्यकता हुन्छ । जीवनमा प्रतिदिन कुनै न कुनै प्रकारको चुनौती आइरहन्छ । यस्ता चुनौतीलाई सामना गर्ने प्रक्रियालाई सङ्घर्ष भनिन्छ । नकारात्मक सोच राख्ने मान्छे यस्ता चुनौतीलाई समस्या भन्छ । समस्या वा चुनौती सानो–ठूलो भन्ने हुँदैन । सानो ठूलो त हाम्रो मानसिक क्षमता हुन्छ । मानसिक क्षमता बलियो छ भने चुनौतीहरू सानो लाग्छ र मानसिक क्षमता सानो छ भने चुनौती ठूलो लाग्छ । यसकारण हाम्रो मनलाई शान्त र एकाग्र राख्नुपर्छ । शान्ति र एकाग्रताले धैर्य र आत्मविश्वास वृद्धि गर्छ । यसैबाट हाम्रो मानसिक क्षमता वृद्धि हुन्छ ।

एउटा जङ्गलको बीचमा बाटो थियो । त्यो बाटोमा तीव्र गतिले कार–बस गुड्थे । जङ्गलमा गाडी हिँड्दा त्यसको आवाजले गर्दा सारा जनावर यताउता लुक्थे । कहिलेकाहीँ कुनै जनावर गाडीमा ठोक्किएर मर्दथ्यो । तर, खरायो भन्ने जनावर मरेको थिएन । संयोगवश एकचोटि खरायो पनि बसको ठक्करले म¥यो । चारैतिर यो कुरा फैलियो । कोही भन्थे कि खरायोले आफूलाई जोगाउन यता भाग्नुपर्थ्यो, कोही भन्थे उसले उता भाग्नुपर्थ्यो । एउटा अलि ज्ञानी मान्छेले भन्यो– त्यो खरायोलाई असमञ्जस (यसो गरुँ कि उसो गरुँ भन्ने दोधारे मानसिकता)ले माऱ्यो । त्यसले निर्णय गर्न भ्याएन कि यता जाउँ या उता जाउँ । हामीहरूको जीवनमा पनि असमञ्जसको कारणले अनिर्णयको स्थिति रहन्छ । गीतामा भगवान् श्रीकृष्णले भन्नुभएअनुसार अनिर्णय त मृत्युजस्तै हो ।

हाम्रो मन सधैँ भ्रममा नै रहन्छ । यसकारण हामीलाई लाग्दछ कि मलाई सबै कुरा थाहा छ । तर, जब ज्ञानलाई उपयोग गर्ने बेला आउँछ त्यसबेला हाम्रो नै मन भन्दछ कि ज्ञानको उपयोग भोलिदेखि गर्छु । यसप्रकार ज्ञान हराइहाल्छ र कुनै काम लाग्दैन । जहिले पनि एउटा भ्रमको पर्दा हाम्रो विवेकमाथि परिरहन्छ, जसले गर्दा डर, घबराहट तथा अशान्तिको स्थितिले निराशा र तनाव बढाइरहन्छ । यसको दुईवटा प्रमुख कारण छन्– अज्ञानता र अहंकार । यस्तो खतर्नाक अज्ञानता र अहंकारबाट मुक्तिको लागि हामीले तीन कुरामा ध्यान दिनुपर्छ– सरलता, समझदारी र राम्रो बानी । भोलिका चुनौतीबाट मुक्तिको लागि यो तीनवटा कुरा अवलम्बन गरिए धेरै नै सहयोग पुग्छ ।

सरलता : सरलताको मतलब हुन्छ– जीवनको सबै कार्यमा सजिलोपन अपनाउनु । ज्ञानीहरू भन्छन्, हामीले सादा जीवन र उच्च विचारको सिद्धान्त अपनाउनुपर्छ । जीवनमा हामीले जहिले पनि सरलताको बाटो नै अपनाउनुपर्छ । अहंकारको कारण हामी झुट बोल्छौँ र असत्यको प्रयोग गर्छौं । हामीले सरलताको साथ कहिले पनि छोड्नुहँुदैन । सरलताले नयाँ कुरा सिक्न प्रेरित गर्छ, अहंकार हटाउँछ र हाम्रो आत्मविश्वासमा वृद्धि गर्छ । थुप्रै कुरा हामीलाई आउँदैन, तर भनेपछि मात्र ज्ञात हुन्छ । सरल मान्छे जहिले पनि सिक्नको लागि तयार रहन्छ । अहंकारी मान्छे लाज र सङ्कोचले गर्दा केही सिक्न चाहँदैन । यसप्रकार हामीले बुझ्नुपर्छ कि हाम्रो असली शत्रु हाम्रै मन छ ।

समझ : समझ भन्नाले विवेक र प्रज्ञा भन्ने बुझ्नुपर्छ । जसरी आँखा नभएको मान्छेलाई अन्धा भनिन्छ । त्यस्तै, ज्ञान र समझ नभएको मानिसलाई पनि अन्धा नै मानिन्छ । समझ हाम्रो जीवनको आधारस्तम्भ हो । समझ छैन भने स–साना चुनौतीले पनि निराशा र दुःख पैदा गरिरहिन्छ । जीवनभर हामी जुन काम गर्न सक्छौँ त्यो गर्न खोज्दैनौँ र जुन काम गर्न सक्दैनौँ त्यो काम गर्न भौँतारिइरहन्छौँ । जुन सम्बन्ध पुरानो छ त्यसलाई समाप्त गरिदिन्छौँ र नयाँ सम्बन्ध बनाउने प्रयास गर्छौं । अतीतदेखि वर्तमानसम्मको सबै प्रबन्धन गुरुहरूले समझको शिक्षा नै दिइरहेका छन् । समझ नभएको कारण हामी आफ्नो गल्तीबाट पनि सिक्दैनौँ । जहिले पनि लोभ, मोह र डरको प्रभाव हाम्रो मनमाथि रहन्छ । यसैकारण हामीलाई वास्तविक सत्य बुझ्न गाह्रो पर्छ । प्रसिद्ध सन्त स्वामी विवेकानन्द भन्नुहुन्थ्यो– जीवन एउटा बहुमूल्य उपहार हो, माथि हेर्नुस् र आफ्नो लक्ष्य ठूलो राख्नुस्, बिस्तारै तपाईं आफ्नो लक्ष्य प्राप्त गर्नुहुन्छ ।

राम्रो बानी : मान्छे राम्रो कुरालाई डायरीमा लेख्छ, अनि नराम्रो कुरालाई जीवनमा उतार्छ । जब कि गर्नुपर्नेचाहिँ यसको ठ्याक्कै उल्टो हो । अर्थात्, नराम्रो कुरालाई डायरीमा लेख्ने र राम्रो कुरालाई जीवनमा उतार्ने गर्नुपथ्र्यो । ज्ञानीहरू भन्छन् कि सबैभन्दा शुद्ध ज्ञान अनुभवबाट आउँदछ । यस ज्ञानको उपयोग गर्नको लागि हामीले बानी बसाल्नुपर्छ । हाम्रो मन जहिले पनि भोलि गर्छु, पछि गर्छु भन्छ र यस्तै सिद्धान्तमा जीवनयात्रा गर्दछ । जसले गर्दा अनावश्यक रुकावट र अशान्ति आइरहेको हुन्छ । यसकारण ज्ञानगुणको कुरालाई आजदेखि नै जीवनमा उतार्नुपर्छ । मान्छेहरू सन्तुष्टिको लागि लुगा फेर्छ, घर फेर्छ, नोकरी फेर्छ, ठाउँ फेर्छ, यहाँसम्म कि जीवनसाथीसमेत फेर्न पछि पर्दैन । तर, आफ्नो नराम्रो बानीलाई फेर्दैन । एउटा प्रसिद्ध विचारक बेवस्टर भन्छन्– बानी (आदत)को जालोलाई हटाउन गाह्रो छ तर हटाउन जरुरी छ । किनकि राम्रो बानी छ भने राम्रो भविष्य हुन्छ र नराम्रो बानी छ भने नराम्रै भविष्य हुन्छ ।

यसप्रकार हामीले दैनिक जीवनमा सरलता, समझ तथा राम्रो बानी (आदत)को उपयोग गर्नुपर्छ । यी तीन विशेषताले व्यक्तिगत शान्ति र सफलतामा वृद्धि गर्छ अनि यसको साथ–साथ हाम्रा सम्बन्धलाई पनि सुमधुर तुल्याइदिन्छ ।

(लेखक माइन्ड मैनेजमेन्ट कार्यशालाका संस्थापक हुन् ।)