‘वैशाख १८’ को त्रास -श्रीधर शर्मा

‘वैशाख १८’ को त्रास -श्रीधर शर्मा


आखिर माओवादीले आफ्नो सक्कली रूप नै लियो । ‘बन्दुकको नालबाट मात्रै सत्तामा पुग्न सकिन्छ’ भन्ने सिद्धान्त मान्ने ऊ विधिलाई बेवास्ता गर्दै त्यसै बाटोबाट सत्तामा पुग्न प्रयत्नरत छ । संविधानसभाको गठन भएदेखि नै बाउँठिरहेको र सत्तामा पुगेर पनि एकपछि अर्को असफलतापछि आफ्नै कारण बाहिरिएर फेरि सडकमा आई उसले मुलुकलाई गतिहीन मात्र बनाएन, यतिन्जेल भएका सबैखाले सहमति र सम्झौताको उल्लङ्घन गर्दै ताण्डव देखाइरहेको छ । पछिल्लोपटक आगामी वैशाख १८ गतेसम्म वर्तमान सरकारले सत्ता नछाडे सडक आन्दोलनबाट सरकारलाई हटाउने र त्यसका लागि वैशाख १९ देखि आमहडताल गर्ने माओवादीको घोषणा छ जसले सबैतिर भय र त्रास व्याप्त हुन पुगेको छ ।
सत्ता कब्जाका लागि अहिले देशभर प्रशिक्षण चलिरहेको छ । लाठी, खुकुरी जम्मा गर्ने, चन्दा उठाउने काम देशव्यापी रूपमा भइरहेको छ । घरेलु हतियार चलाउन सिकाउने काम भइरहेको छ । यसले गर्दा जनजीवन आतङ्कित छ, र्सवत्र त्रास र भय छ । धम्की, घुर्की र चेतावनी अनि हिंसा र बल प्रयोग आफ्नो पहिचान बनाइसकेको माओवादीका अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा माओवादीको विरोध गर्नेजति सबै नै फासिष्ट, देशद्रोही, लोकतन्त्रविरोधी, प्रतिगामी, प्रतिक्रान्तिकारी हुन् भन्न थालेका छन् । यतिमात्र होइन आफूलाई ‘बाघ’ र अरूलाई ‘स्याल’ भन्न पनि थालेका छन् उनले । अझ डरलाग्दो कुरा त पछिल्लोपटक उनले के भनेका छन् भने ‘आगामी वैशाख १८ गतेको जनप्रदर्शनमा दमन भए क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिनेछन् ।’
माओवादीका नेताहरू विधिअनुरूपभन्दा बलजफ्ती सत्तामा पुग्न प्रयत्नरत छन् । तिनका कार्यकर्ताचाहिँ उद्दण्ड र उच्छृङ्खल छन्, उग्रवादी मानसिकताबाट ग्रस्त छन् । यसैको आडमा जसरी पनि सत्तामा पुग्न सकिनेमा माओवादी ढुक्क छ । त्यसैका लागि मुलुकलाई राजनीतिक शून्यताको अवस्थामा पुर्‍याउने उनीहरूको नियत हो र त्यसमा उनीहरू सफल पनि हुँदै छन् । संविधानसभाले संविधान घोषणा गर्न नसकेको दिन, उनीहरूकै कारण वर्तमान अन्तरिम संविधानको आयु लम्ब्याउन नसकिने भएपछि संवैधानिक रिक्तताको स्थिति उत्पन्न हुन्छ र आफ्नो योजनाअनुसार त्यही मौका छोपेर जनताको नाममा माओवादीले सडकबाटै सत्ता कब्जाको घोषणा गर्नेछन् ।
माओवादीका सबै योजना बाहिर छरपष्ट भइरहेका छन् । एकपटक प्रचण्डले आफ्ना लडाकाबीचमा अभिव्यक्त गरेका विचारहरू बाहिर आए, र्सवत्र हंगामा मच्चियो, माओवादीले त्यसलाई आफूहरूमाथि भएको षडयन्त्र भनेर उम्कने प्रयत्न गर्‍यो, जब कि त्यस भिडियो काण्डले माओवादीको सक्कली अनुहार सबैले देख्न पाएका थिए । अहिले फेरि उसको गोप्य योजनाको फेहरिस्त सार्वजनिक भयो सञ्चारमाध्यमबाट, त्यसबाट जनताको ध्यान अन्यत्र मोड्न कुटपिट, जबर्जस्ती र अनेक उपाय अपनाइरहेका छन् माओवादीहरू ।
आफ्ना कुनै पनि कुराको विरोध नहोस्, आफ्नाविरुद्ध कोही नबोलून् भन्ने माओवादीको चाहना छ । यो र्सवसत्तावादी सोच हो । उसको यस्तै चरित्रका कारण उसप्रति कोही विश्वस्त हुन सकेको छैन । अरूलाई अलोकतान्त्रिक र प्रतिगामी बताउँदै ऊ आफू सर्वाधिक लोकतान्त्रिक भएको भ्रममा पार्न उद्यत् रहे पनि उसका व्यवहारका कारण उसप्रति कोही विश्वस्त हुन सकिरहेको छैन । अरूप्रति निधेषको नीति अपनाउने माओवादी वास्तवमा उसका पछिल्ला क्रियाकलापलाई हेर्दा राजनीतिक शक्ति नै हो कि होइन भनेर सोच्नुपर्ने अवस्था उत्पन्न भएको छ । उसकै व्यवहारले उसलाई शङ्काको घेरामा पारेको छ ।
यसपालिको लोकतन्त्र दिवस अन्य राजनीतिक दलहरूले धुमधामका साथ मनाए, कत्तिले त पश्चात्ताप पनि गरे विगतमा कामकारबाहीप्रति र देशले छिट्टै उपयुक्त निकास पाओस्, सहिदका सपनाहरू साकार होऊन् भन्ने कामना पनि गरे । तर, माओेवादीले यो अवसरलाई षडयन्त्रको तानाबाना बुन्ने, सत्ता कब्जा गर्ने योजना बनाउने उपयुक्त अवसरको रूपमा लियो र यसैको सेरोफेरोमा प्रशिक्षण कार्यक्रम थाल्यो । मे १ अर्थात् विश्व मजदुर दिवसको दिन पारेर वर्तमान सरकारविरुद्ध लाखौं जनतालाई लाठी, खुकुरीका साथ सडकमा उतार्ने योजना बनायो । आफ्नो आन्दोलन शान्तिपूर्ण हुने, तर यो निर्णायक हुने बताउँदै उसले यदि यसलाई दमन गर्ने प्रयत्न भए जनताबाट विद्रोह हुने धम्की दिन छाडेन । यसबाट माओवादी लोकतन्त्रप्रति प्रतिबद्ध नभएको र हिजोका दिनमा गर्न नसकेका कामप्रति कत्ति पनि जिम्मेवार नभएको र्छलङ्ग भयो ।
राष्ट्रिय सहमतिको सरकारको कुरा गर्ने माओवादीकै कारण लामो प्रतीक्षापछि बनेको उच्चस्तरीय संयन्त्र प्रभावकारी देखिन सकेन । छलफल र संवादबाट उपयुक्त निकास खोज्नुपर्नेमा त्यसतर्फ कुनै प्रयत्न भएन । सत्ता त्यसै आफूलाई सुम्पिदेऊन् भन्ने माओवादीको चाहना देखियो । प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुने संवैधानिक परिषद्का बैठकहरूमा सहभागी नभएर संवैधानिक निकायहरूका रिक्त उच्चपदहरूमा नियुक्ति अवरुद्ध गरिरह्योे । तर, जब पटकपटकको आग्रहपछि पनि बहाना बनाएर माओवादी अध्यक्ष अनुपस्थित भएका कारण संवैधानिक निकायहरू निष्क्रियप्रायः रहेको अवस्थालाई लम्ब्याउन उचित नठानेर परिषद्को पछिल्लो बैठकले केही नियुक्ति सिफारिस गर्‍यो माओवादीले त्यसको विरोध गर्न पुग्यो । अहिले प्रचण्ड त्यसको विरोधमा निर्लज्जतासाथ सर्वोच्च अदालतमा पुगेका छन् । यसबाट के देखिन्छ भने माओवादी नियतवश र योजनापूर्वक नै मुलुकमा संवैधानिक रिक्तताको स्थिति उत्पन्न गर्न लागिपरेको थियो । यसैका लागि संसद् बहिस्कार र सरकारको विरोध गरिरहेको थियो ।
सहमति र सहकार्यका साथ अघि बढ्दै लोकतन्त्रको सुदृढीकरण, अग्रगामी संविधानको निर्माण, जातीय, लिङ्गीय, क्षेत्रीय विभेदको अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण रूपमा विकासको गतिमा अग्रसर गराउने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा थियो । तर, नेकपा माओवादीले आफ्नो युद्धकालीन धङधङी छाड्न सकेन, आफू जितुवा र अरू सबै हरुवा भन्ने मानसिकता त्याग्न सकेन, यसैगरी उसले दम्भ र घमण्डलाई समेत त्याग्न सकेन । यसैकारण मुलुक नचाहेर पनि गृहयुद्धको सङ्घारमा आइपुगेको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण स्थिति हो ।
माओवादीको असहिष्णु सोच र अराजक प्रवृत्तिकै कारण मुलुक द्वन्द्वबाट मुक्त हुन सकिरहेको छैन बरु पछिल्लो दिनमा थप मुठभेड हुँदै गृहयुद्धतर्फ अग्रसर भइरहेको छ । यो सबै परिदृश्यलाई हेर्दा के देखिन्छ भने अरूलाई देशद्रोही, राष्ट्रघाती र प्रतिगामी भन्ने माओवादी आफू स्वयम् यो सब विशेषण बोक्न योग्य छ । यस क्रममा नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेले एउटा अन्तर्वार्तामा अभिव्यक्त गरेको विचार अत्यन्त उपयुक्त लाग्दछ जसमा उनले भनेका छन्, ‘माओवादी आफैं प्रतिगामी हुन्, उनीहरू जनताको नाममा आफ्नो संविधान बनाउन खोजिरहेका छन् ।’
समग्रमा भन्नुपर्दा माओवादीका अराजक क्रियाकलाप र उग्रवादी चिन्तन नै मुलुकको यो स्थितिका लागि जिम्मेवार छन् र उसको व्यवहार, शैली र चिन्तनले माओवादीलाई नै नोक्सानी पुग्ने निश्चित छ । मुलुक रहे, मुलुकको स्वाधीनता कायम रहे, माओवादीको पनि अस्तित्व रहने हो । यसकारण आन्दोलन र विरोधको जुन शैली उसले अपनाउँदै छ यसमा उसले पुनर्विचार गर्नैपर्छ । तत्कालका लागि भन्नुपर्दा, आगामी वैशाख १८ को त्रास हटाउनैपर्छ । सहमति र सहकार्यका लागि वैधानिक बाटोबाट अघि बढ्नैपर्छ । यसो हुन सकेमा मात्र उसको राष्ट्रवादको नारा सही ठहरिनेछ ।