चलचित्र ‘अनुराग’को कलेज क्याम्पियन

चलचित्र ‘अनुराग’को कलेज क्याम्पियन


प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन शुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचारप्रसारलाई तीव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएका छन् ।

चलचित्रको टिम आइतबार बिहान जोरपाटीस्थित समता कलेज पुगेको थियो भने सोमबार कौशलटारस्थित जनप्रेमी कलेज पुगेको नायिका एलिजा गौतमले बताएकी छिन् । नायिका एलिजा गौतम नायक समुन्द्र पण्डितलगायतको फिल्मको टिम कलेजमा पुगेको थियो । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थी उत्साहित भई घेरा हाल्दै अटोग्राफ लिएका थिए भने नायकनायिकाको साथमा फोटो खिच्न पनि भ्याएका थिए । चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति, भरत गौतम र गीता भेटवालको लगानीका साथै निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को वर्ष २०७५ को असोज १२ गतेलाई प्रदर्शन मिति तोकिएको छ । ‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ । साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रूपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

एक पृथक साङ्गीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो । उक्त फिल्ममा लाइन प्रोड्युसर दीपक गौतम रहेका छन् भने निर्माण नियन्त्रकका रूपमा नवीन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बू र सरोज पोखरेलको सङ्गीत, प्रवीण सिंह र विक्रम स्वाँरको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद, रामकुमार केसीको छायाङ्कन रहेको छ ।