रैती !

रैती !


– सागर

धेरै मन्त्री र मालिकहरूका जुत्ता फाटे ।
तर किसानका खुट्टा कहिल्यै फाटेनन् ।।
किसान र मजदुरका नामका तमसुक फाटे ।
तर मालिकहरूका तमिज फाट्दै फाटेनन् ।।
साधुले जारलाई काटेको घाउमा खाटा बसे ।
तर लोकतन्त्रको घाउ किन चहर्याइरहेको होला ।।
इमानमाथि धेरै चोट लागे छटपटाइरहेछ ।
तर बेइमान खित्का छाडेर रावण हाँसो हाँस्दै छन् ।।
किसान मजदुर खरबारीको तिरो तिर्दै छन् ।
उद्योगीहरू करछुटको प्रमाणपत्र भिर्दै छन् ।।
खोइ लोकतन्त्रको फल फल्दै फलेन ।
गरिब र मजदुरको दाल गल्दै गलेन ।।
रापताप बढेको भए ढुङ्गा गलिसक्थ्यो होला ।
मलजल पाएको भए प्रजातन्त्र फलिसक्थ्यो होला ।।
लड्नेले अवरसर पाउँदै पाएन न त योग्यले नै पायो ।
लोकतन्त्रको रस जुस पनि बिचौलियाले नै खायो ।।
आन्दोलनका बैंसालुहरू वयोवृद्ध हुँदै छन् ।
प्रतिरोधमा उत्रनेहरू समृद्ध क्रान्तिकारी भइसके ।।
अझै हामी छिमेकीलाई कर्केनजर हेर्दै छौँ ।
यस्तै–यस्तै एजेण्डामा मतपेटिका भर्दै छौँ ।।
जुन गोरुको सिङ छैन उसको नाम तिखे ।
मन्त्री महामन्त्री भइसक्यो नौटङ्की गर्ने बिर्खे ।।
महामहिम हुनेहरूसमेत नेताका तिजौरी भर्न थाले ।
नीति निर्देशक बन्न पनि चुलाचौकामा चाकरी बजाउन थाले ।।
अब राजनीतिबाहेक केही बाँकी रहेन ।
खलासी हुन पनि राजनीति नै नगरी भएन ।।
हुनेखानेलाई सदाबहार वैशाख वसन्त ।
हुँदाखानेलाई हमेसा हमेसा अशान्तै अशान्त ।।
अब रैती र दुनियाँको मन मुटु फाटिसक्यो ।
लोकतन्त्रमा चोटपटक लागिसक्यो ।।
आईसीयूबाट सीसीयूतिर लानुपऱ्यो भने ।
औषधिमुलो नलाग्ने अवस्था आयो भने ।।
लाउँलाखाउँलाको बैंसालु ढल्यो भने ।
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार ।।
म नारायणगोपाललाई सझिरहनेछु ।
रैतीहरू चिच्याइचिच्याई रोइरहलान् ।।
कठै ! लोकतन्त्र होनहार थियो राम ! राम !
मृत्युपछि गुणगान गर्ने यस्तै छ हाम्रो काम ।।
हे ईश्वर सद्बुद्धि र सञ्जीवनी दुवै देऊ ।
बरु सट्टामा जे–जे लिनुपर्छ सोही सोही लेऊ ।।