बागलुङेलाई हुलाकबाट चुरापोते !

बागलुङेलाई हुलाकबाट चुरापोते !


– कृष्णराज शर्मा

म सानोसानो थिएँ, त्यसैले बुझ्दैनथें । बागलुङेलाई हुलाकबाट चुरापोते पार्सल आएको कुरा अरुबाट सुनेँ । ती चुरापोते काठमाडौंकाले पठाएका थिए रे । यो हो ०३५ सालको अन्त्यतिरको कुरो । चुरापोतेले के संकेत गर्छ मैले बुझिनँ ।

पछि थाहा लाग्यो कि चुरापोते नामर्दको चिनो रहेछ । ‘बागलुङमा मर्द कोही रहेनछौ, लौ चुरापोते लाएर बस’ भनेर पठाइदिएका रहेछन् काठमाडौंका मर्दले । खासगरि स्थानीय महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीका नाममा चुरापोते पठाइएको रहेछ । मर्दलाई नामर्द भन्यो भने त्यति छिटो तात्छ रे मर्द भ’को । विद्यार्थी तताउन पठाइएका चुरापोते रहेछन् भन्ने पछि बुझेँ । बागलुङ बजार पनि सानो थियो । सानो बजारमा चुरापोते आएको कुरा बजार भरि गाईंगुईं चल्यो । सबैलाई थाहा भयो ।

काठमाडौंमा तत्कालिन पाकिस्तानी राष्ट्रपति जुल्फिकार अलि भूट्टोलाई फाँसी दिन लागिएको विरोधमा विद्यार्थीले पाकिस्तानी दूतावासमा विरोधपत्र बुझाउन जानेक्रममा सरकारी हस्तक्षेप पछि आन्दोलनले रुप बदलेको थियो । क्रमशः विद्यार्थी आन्दोलन उत्कर्षमा पुग्दै गयो । आरएनएसी जलाईयो । गोरखापत्र संस्थान जल्यो । धेरै विध्वंश भए ।

यता बागलुङमा चुरापोते खेलाउनेहरुमा यी समाचार सुनेर थोरै मर्दना जाग्यो । विद्यार्थी ताते । क्याम्पसमा हडताल गरे । भोलिपल्ट मर्दना जताउँदै दशबाह्रजना चेलाले आफ्नै योग्यतम र उत्कृष्ठ गुरु क्याम्पस प्रमुख टिकाराम बास्तोलालाई उनकै कार्यकक्षमा पुगेर जूत्ताको माला र कालोमोसो दलेर कुलेलम ठोके । बास्तोला गुरु जुत्ताको माला र कालोमोसो दलिएकै अबस्थामा तिनै ताता विद्यार्थीका आमाबालाई भेट्दै बजार परिक्रमा गरे । त्यो हालतमा दैलोदैलो चाहर्दै डुलेको देखेर स्थानीय सबै लज्जित बने । आफ्नै छोराछोरीले आँफैलाई पढाउने गुरुमाथी गरेको त्यो पशुवत व्यवहार कसैलाई पाच्य भएन । सबै अभिभावक आत्मग्लानीले मरेतुल्य बनेका थिए । त्यहिबेला देखि गुरुकुलको शिक्षा जस्तो महेन्द्र क्याम्पसको पढाईमा दरार आयो ।

विद्यार्थीप्रतिको माया र गुरुप्रतिको सम्मानमा कुठाराघात शुरुभयो । विद्यार्थी संगठन खुले । दिनदिनै हडताल हुन थाले । यो रोग स्कुलमा पनि सर्यो । जताततै सकारात्मक कम नकारात्मक बढी भएर जागरण फैलियो । हामी जस्ताले होमाहो गरियो । त्यसपछिको देश आजसम्म आईपुगेको कुरा दुनियाँ जगजाहेर छ । यसै पृष्ठभुमिमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । निर्दलले जित्यो बहुदलले हार्यो । सुधारसहितको पञ्चायत देशमा हाबी भयो ।

फेरि ०४६ साल आयो । भारतीय नेता चन्द्रशेखरको अगुवाईमा नेपालमा पञ्चायत व्यवस्थाका विरुद्ध गणेशमान सिंहको घर कम्पाउण्डबाट शंखघोष भयो । सुस्त-सुस्त आन्दोलनले गति लियो । फेरि बागलुङमा चुरापोते ओइरिए । जनमत संग्रहपछि केहीलाई छाडेर भएजतिका कांग्रेस पञ्चायतमा रमाएका थिए । कम्युनिष्टका खासै नाम सुनिन्थेनन् बाहेक चित्रबहादुर केसी । केही कांग्रेसले पार्सल आएका चुरापोते झोलाबाट झिकेर जनमतमा बहुदलको पक्षमा लागेकालाई खुसुक्क देखाउँदा ‘भोभोभो मलाई नभन्नुस् यस्ता कुरा’ भन्दै तरक्क तर्कन्थे । झ्याप्पै ०४६ साल चैत २६ गते राती सवा एघार बजे राजाले एक्कासी बहुदल दिंदा तिनै कांग्रेस मूर्छा परे । अनि रातारात काँचुली फेरे । जसलाई धेरै पछिसम्म चैते कांग्रेस भनिन्थ्यो । अझ बाठा जतिले त राती नै घरको झ्यालमा चारतारे झण्डा लुत्रुक्क झुण्डाएछन् । हेर्, मैले गर्दा बहुदल आयो पनि भनेछन भोलिपल्टै । जेहोस यी सबै बागलुङमा आएका चुरापोतेकै कमाल हो । जतिपनि देश परिवर्तनका कुरा आउँछन् । समाज परिवर्तनका कुरा आउँछन् । अन्यायका बिरुद्ध बोल्नपर्ने हुन्छ । बागलुङेलाई चुरापोतेको उपहार नटकारेसम्म मर्दना पैदा हुन्न । मुखबाट आवाज निस्कन्न । आसनमा दाउरै बाल्दिए पनि बागलुङे तात्दैनन् ।

अहिले बागलुङेलाई फेरि तताउन पर्ने बेला भएको छ । खै कसरी तताउने ? कसले चुरापोते पठाईदिने ? बागलुङेलाई यौटा अन्यायका बिरुद्ध बोल्नुपर्ने बेला आएको छ । नामर्दहरु चुनाव जितेर गए । कहिंकतै चूँ बोल्दैनन् । देशैभरि बलात्कार, हत्या हिंसा मौलाएको छ । कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको बिरोध बागलुङ सम्म आईपुगेको छ । निर्मलाको नाम सिरानमा संगीन जिसिको बीचमा र रुपाको नाम पुछारमा पारेर बिरोधपत्र बुझाउने कति लाजमर्दो आवाज आएको छ । एक्ली रुपा गौतमको नाममा ब्यानर बनाएर आन्दोलन थालेर निर्मला संझनु पर्थ्यो, किन त्यसो हुन सक्दैन ? चुरापोते नआएरै रुपा हत्याकाण्ड अस्ताएको हो ? कांग्रेस सरकारमा भएको समयमा रुपाको हत्या भएको थियो । सुशील कोइराला प्रधानमन्त्री थिए । त्यतिबेला किन कुनै खोजिनीति भएन ? हत्यारा तीजआए तीजका गीतमा नाचेको होला । विवाह भए रतौलीमा नाचेको होला । तिहार आए भैलोमा नाच्दो हो ।

आज कम्युनिष्टको सरकारलाई अप्ठेरो पार्न रुपा मारिएकी थिइन् र निर्मला पन्तसंग जोडिएर रुपा सम्झने बागलुङेले ? कुनै कम्युनिष्ट र कांग्रेसको सरकालाई अप्ठ्यारो र सजिलो पार्नु भन्दा पनि रुपाको आत्मालाई न्याय चाहिएको छ । जनताका प्रतिनिधि भत्ता पकाएर बस्छन् र राज्यले न्यायदिन उदासिन बन्छ भने जनता ओर्लनु पर्छ सडकमा । सडकमा आउन कसैले चुरापोते नै भेज्न पर्छ अझै ? कानुन वमोजिम अपराधिलाई सजाएँ दिन सकिन्न भने मुलुकि ऐनलाई ‘संहिता’ भन्दैमा समाजमा सुखशान्ति अमनचयन कायम हुन्छ ? ०७१ भदौ १२ गते रुपा गौतम मात्रै मारिएकी होइनन् । एक होनहार ‘छोरीचेली’ मारिएकी छिन् । मातृवात्सल्यले भरिएकी ममताकी खानी ‘आमा’ मारिएकी छिन् । नारीशक्ति ‘निहुरिमुण्टी’ लाएको छ । खै कहाँ गए ती हात जसले पितातुल्य गुरुलाई जुत्ताको माला र कालोमोसो दले ? खै कहाँ गए ती वीरंगना ‘लक्ष्मी जिसि’का हात जसले हत्याराको आरोप लागेका व्यक्तिलाई बलेवा एअरपोर्ट बाट घिसार्दै बागलुङ ल्याए ? सबै हराए ? खाली दुईपैसा कताबाट हात पर्छ भनेको छ चचाकडीमा डुबेको छ । समाजका झिना मसिना कार्यक्रममा टालो भिरेको छ । कार्यक्रममा दिएको छाक खाएर हिंडेको छ । मान नमान मै तेरा मेहमान भन्दै जतापनि ङिच्च दाँत फालेको छ । नबोल्ने बोल्छ, बोल्ने बोल्दैन । सत्यकुरा बोल्न पनि चुरापोते नै आउन पर्यो ? छि: कस्तो भइस ? सुहाएन तेरो हातमा चुरापोते बागलुङे कान्छा !

(यो टिप्पणीमा चुरापोतेको सन्दर्भले नारी अपमान गर्न खोजेको हैन । मेरा पनि आमा श्रीमती छोरी दिदिबहिनी छन् : लेखक)