मान्छे त म लाटो नै हुँ, तर ‘बाठो-लाटो’ हुँ : देवमान हिराचन

454 Shares

साढे चार दशक जापानमा कर्म गरेर बिताएका देवमान हिराचन गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष हुन् । तर, आफूलाई एनआरएनभन्दा पनि मातृभूमिको एउटा कट्टर प्रेमी–पुजारी भन्न रूचाउने उनी नेपाललाई कृषिउपजको हिसाबले एक ‘अर्गानिक मुलुक’ घोषणा गर्ने–गराउने अभियानमा सक्रिय छन् । धेरै बोलेर केही पनि नगर्नुभन्दा केही नबोलेर धेरै गर्न सक्नुलाई जीवनकै आदर्श बनाएका देवमान आफ्नो अन्तिम स्वास मातृभूमिमै फेर्ने ध्येयका साथ देशको कायापलट गर्ने अभियान बोकेर पछिल्लो समय थप सक्रियता दर्शाइरहेका छन् । मरेर जाँदा लैजाने सम्पत्ति भनेकै सुकर्मबाट आर्जित हुने सुनाम मात्र हो भन्ने सत्यलाई मनमुटुमा राखेर कर्म गरिरहेका कर्मयोगी हिराचनसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ :

० कर्मभूमि जापानलाई बनाए पनि जन्मभूमिलाई अगाध माया गर्ने एनआरएन अभियन्ताको रूपमा तपाईं चिनिनुहुन्छ, आफ्नो ४५ वर्ष लामो जापान बसाइ र त्यहाँ गरिएका उद्यम–व्यवसायको अनुभवलाई स्वदेशको हितमा लगाउने कुनै सोच वा योजना छन् तपाईंसँग ?
– अवश्य ! नेपालमा जन्मेर २० वर्षको उमेरसम्म म नेपालमै एक किसानको छोराको रूपमा हुर्केको हुँ । त्यसपछि जापान पुगेको मैले साढे चार दशक लामो अवधि जापानलाई नै कर्मभूमि बनाएर गुजारेको छु र कर्मसँगै अनेक अनुभव, ज्ञान र सीप पनि मैले हासिल गरेको छु । मेरो बुझाइमा जापानको प्रगति हुनुको मूल कुरा त्यहाँका नागरिकले समय खेर नफाली लगातार मिहिनेत गर्नु नै हो । उनीहरूले सत्र–अठार घन्टा खटेर काम गरेको देखेर म निकै प्रभावित भएँ । यस्तै, अरूलाई धोका नदिने या इमानदारीपन जापानिजको अर्को महत्वपूर्ण विशेषता रहेछ । यसरी इमान र मिहिनेतका साथ काम गर्ने, अरूको खोट कोट्याउनेतिर नलागी आफूलाई राम्रो तुल्याउन खोज्ने गरेमा देशलाई विकसित तुल्याउन सकिँदो रहेछ भन्ने मैले बुझेँ । यसप्रकारको जापानिज चरित्र या ‘सिस्टम’लाई नेपालमा पनि व्यवहारमा अवलम्बन गरी काम गर्न सके देशमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मलाई लागिरहेको छ ।

० यस्तो राम्रो सोच जागृत भएको रहेछ, तर यो अवधारणा नेपालको परिवेशमा व्यवहारमै उतार्न सकिन्छ भन्ने लाग्छ तपाईंलाई ?
– नसकिने भन्ने लाग्दैन । जापानमा पनि समय उति नै हो जति नेपाललाई ईश्वरले प्रदान गरेका छन् । अर्थात्, नेपालमा रात र दिन गरेर २४ घन्टा हुन्छ भने जापानमा पनि २५ या त्योभन्दा बढी नभई २४ सै घन्टाको समय हुन्छ । प्रकृतिले बराबर नै समय दिएको छ, तर हामी समय खेर फालिरहेका छौँ भने जापानले त्यसको भरपूर सदुपयोग गरिरहेको छ । यो सन्देश नेपाली समाजमा फैलाउनु आवश्यक देख्छु म । यदि समयको महत्व बुझेर मिहिनेत गरे हामी नेपाली पनि उन्नतिको शिखर चढ्न सक्छौँ । यो प्रश्न यदि राजनीतिक अवस्थालाई लक्षित गरेर सोधिएको हो भने पनि म भन्न चाहन्छु कि राजनीतिक नेतृत्वलाई पनि यो कुरा बुझाउन सक्नुपर्छ । दायाँबायाँ नहेरी जनताले आफ्नो कर्तव्य निर्वाह गर्न थाल्ने हो भने राजनीतिक नेतृत्व पनि बाध्य हुनुपर्नेछ ।

० जापान र नेपालका मानिस कद–काठी र स्वभावका हिसाबले पनि उस्तै–उस्तै छन्, संस्कार–संस्कृति पनि मिल्दोजुल्दो नै ठानिन्छ, तर जापानले यति ठूलो प्रगति गर्न सक्नु अनि नेपाल यति पछि पर्नुको खास कारण के होला ?
– यसको मुख्य कारण हामी नेपालीले कहिल्यै पनि खाने, लाउने र बस्ने मामलामा खासै ठूलो सास्ती पाएका छैनौँ । हामी नेपाली दुःख त पाइरहेका छौँ, तर जापान र जापानिजले भोगेको तहको कष्ट कहिल्यै भोग्नुपरेको छैन । दुःख नगरे पनि बाँचिएकै छ भन्ने मानसिकताबाट हामी चलिरहेका छौँ । मेरो बुझाइमा मानिस सफलताको स्थितिमा पुग्न चरम दुःखको अनुभूति हुने अवस्थामा पुग्नुपर्ने रहेछ, भोकै मरिन्छ कि भन्ने अवस्था झेलेपछि मानिस स्वतः परिश्रमी बन्दोरहेछ । जापानको हिरोसिमा र नागासाकीमा विश्वयुद्धको बेला जसरी बम आक्रमण भयो, त्यसले जापानिजलाई शून्यबाट शुरु गर्नुपर्ने अवस्थामा पु¥याइदियो । बाँच्नको निम्ति उनीहरूले अन्य कुरा छोडेर मिहिनेत गर्नैपर्ने भयो । त्यसबाट देशलाई नै परिवर्तन गराउने, चरम विकासमा पुग्ने परिवेश पैदा हुन गयो । वास्तवमै जापानिज र हामीमा खास केही भिन्नता छैन । सोचाइ पनि मिल्छ, दुवै एसियन कन्ट्रीमा पर्छन् । फरक यति मात्र हो कि हामी धेरै अल्छी छौँ भने उनीहरू हामीले सोचेभन्दा धेरै मिहेनती छन् । आफूभित्र यस्तै परिश्रम र इमानदारीको भाव पैदा गर्न सके हामी पनि जापानजस्तै बन्न नसक्ने सवाल नै रहन्न ।

० नेपालमा श्रम र इमानको सन्देश फैलाउन र देशलाई समृद्धिको बाटोमा लैजान तपाईंबाट कुनै व्यक्तिगत पहल पनि भएको छ कि ?
– म एकजनाले गरेर सिङ्गै देश एकैपटक परिवर्तन हुन्छ, माथि उठ्छ भन्ने कुरा त हुँदैन । तैपनि एकैजनाले पनि उदाहरणीय काम गरेर समाजलाई कर्मको बाटोमा लैजान प्रेरित गर्न सक्छ भन्नेचाहिँ मलाई लाग्छ । ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट नामको कम्पनीको माध्यमबाट मैले यो प्रयास शुरु गरेको छु । नेपाललाई एउटा अर्गानिक मुलुकको रूपमा चिनाउने मेरो आकाङ्क्षा छ । यसअन्तर्गत जापानले कुन विधि वा सिस्टम अवलम्बन गरेर यत्रो विकास गर्न सक्यो भन्ने कुराको सन्देश छर्ने मेरो अवधारणा छ । यस संस्थाका स्टाफले आफ्नो परिवारलाई सिकाउला, परिवारबाट छिमेकी वा समाजले सिक्ला, समाजपछि गाउँ, जिल्ला हुँदै देशैभर फैलिएला भन्ने मैले ठानेको छु । देश परिवर्तन गर्नका लागि यो पनि एउटा माध्यम हुन सक्नेमा मैले ठूलो विश्वास पालेको छु ।

० दुःख नपाई देशले नचेत्ने कुरा गर्नुभयो, कथित जनयुद्ध, नाकाबन्दी, भूकम्पजस्ता ठुल्ठूला सास्ती त नेपालले पनि भोगेकै हो नि, तर हामीमा मिहिनेत गरी देश बनाउने चेत आएन त ?
– एक तहसम्मको दुःख त हो यो पनि, गम्भीरताका साथ लिन सकिएको भए यत्ति दुःख पाउँदा पनि दुःखलाई शक्तिमा बदल्ने सोच हामीमा पैदा हुनुपर्ने थियो, तर दुर्भाग्य भन्नुपर्छ कि यतिले हामीलाई पुगेन । जापानले भोगेको दुःखचाहिँ योभन्दा निकै ठूलो हो । तथापि, हामीले अब अर्काको सुख देखेर इष्र्या गर्ने, अर्काको कुरा काटेर र अरूलाई गाली गरेर समय बिताउने गर्नु भएन, आफूमा के खुबी छ, आफ्नो अघिल्तिर के अवसर या सम्भावना छ, त्यो चिनेर कर्ममा लाग्नुपऱ्यो । जापानमा अरूले के गऱ्यो, कति पैसा कमायो भन्ने कुरामा मतलब राख्ने फुर्सद नै हुँदैन त्यहाँका मानिसलाई, केवल आफू के गर्न सक्छु, कति गर्न सक्छु भन्ने धुनका साथ मानिस काम गरिरहेका हुन्छन् । यसैले गर्दा यति चाँडै त्यो मुलुक विश्वकै समृद्ध देश बन्न सकेको हो । अरूलाई कुनै सहयोग गर्न सकिन्छ भने गरौँ, सकिन्न भने चुप लागौँ, तर अरूको विरोध र खुट्टा तान्ने कामचाहिँ कुनै हालतमा पनि नगरौँ भन्ने भावना हरेक जापानिजमा पाइन्छ । यो हामीले पनि सिक्नु आवश्यक छ ।

० दुःखै नगरे पनि नेपालमा मस्तको जीवन बाँच्नेहरू पनि छन् नि, यसमा के भन्नुहुन्छ तपाईं ?
– हो, शहर–बजारमा बस्ने सीमित व्यक्तिहरूले यहाँ सुखसयलको जिन्दगी बाँचेका छन् । तर, गाउँ या दूरदराजका नागरिकको हालत अहिले पनि दुई सय वर्ष पछि परेकै भन्न सकिने प्रकारको छ । यही त विडम्बना हो । जबसम्म गाउँमा श्रम गर्ने आमनेपालीको श्रमको सदुपयोग हुने अवस्था सिर्जना हुँदैन, त्यो जनताले खाने, तिनले बास बस्ने र उनीहरूले उब्जनी गर्ने बालीनालीको उत्पादकत्व बढाउन सकिन्न, तबसम्म हामीले समृद्धि, सुख र शान्तिको आशा नगरे हुन्छ । अर्थात्, आमनेपालीको जीवनस्तर नबढेसम्म नेपालले प्रगति गर्नै सक्दैन ।

० सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने आकर्षक नारा अघि सारे पनि समृद्धि र सुख निम्तिने खालको खासै योजना अघि सार्न सकेको छैन, सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि तपाईंले सरकारलाई कुनै ‘टिप्स’ दिनुप¥यो भने के दिनुहुन्छ ?
– अघि पनि मैले भनेँ कि नेपाली अर्थतन्त्रको मूल चरित्र नै कृषिमा आधारित रहेकोले सबभन्दा पहिला हामीले कृषिमा सुधार ल्याउन नै जोड दिनुपर्छ । यसले देशलाई दिगो किसिमले हित पुऱ्याउँछ । यसबाहेक समयानुकूल नयाँ र मेगा प्रोजेक्ट शुरु गर्नैपर्छ । विज्ञजन र अनुभवीहरूमार्फत यस्ता परियोजनाबारे सरकारले पहलकदमी लिनुपर्छ । व्यक्तिगत रूपले भन्ने हो भने मसँग पनि चार–पाँचवटा यस्ता अवधारणा छन् जसले मुलुकको आर्थिक समृद्धिमा कायापलट नै ल्याउन सक्छ । सोच र योजना बोकेका हामीजस्तालाई कर्ममा अघि बढ्न सरकारले प्रेरित गर्नुपऱ्यो । देशको लागि काम गर्छु भन्नेलाई हात–खुट्टा बाँध्न खोज्ने होइन कि विधि–प्रक्रिया सरल तुल्याइदिएर काम गर्ने अवसर प्रदान गर्नुपऱ्यो। सरकारले खुला हृदयले स्वागत र सहयोग गरेमा ठूला परियोजना एवम् लगानीकर्ताको खाँचो छैन, हामी नै जुटाएर देखाइदिन सक्छौँ । मलाई विश्वास गरेर अवसर प्रदान गरियोस्, तीन–चार वर्षमै देशको अर्थतन्त्रका लागि, विकासका लागि र जनताको उज्ज्वल भविष्यका लागि पनि ठूलै काम गरेर देखाइदिन सक्ने योजना र आँट मसँग छ । म लागिरहेको पनि छु, तर सरकारी निकायबाट अपेक्षित सहयोग नभइरहेको अनुभूति गरिरहेको छु । काम गर पनि भन्ने अनि हातखुट्टा बाँध्न पनि खोजेजस्तो महसुस भएकोले ढिलाइ भइरहेको छ । भोलि–भोलि भन्ने शब्दले अलिक निराशजस्तो बनाएको छ ।

० केही वर्षमै देशको कायापलट गर्न सक्ने त्यस्तो के योजना छ तपाईंसँग, बताउन मिल्छ ?
– योजना त के–के छन्, छन्, समय आएपछि बताउनु उपयुक्त होला । तर, म एउटा व्यवसायी भए पनि मैले आफ्नो लागि भन्दा देशको आर्थिक परिवर्तनको लागि सोचेर काम गर्ने गरेको छु । जापानका साथै संसारमै मेरो ठूलो नेटवर्क छ र पैँतालीस वर्ष जापानमा व्यवसाय गरेको अनुभव छ । विश्वका दर्जनौँ मुलुक पुगेको छु, केही ज्ञान र अनुभव त्यसबाट पनि लिएको छु । कैयन साथी वा समूह छन् जो मेरो एक बोलीमा नेपालमा लगानी गर्न तयार छन् । म यो अवसर देशको निम्ति उपयोग गर्न चाहन्छु । मैले व्यक्तिगत लाभ लिन्छ कि भनी राज्यले रत्तिभर शङ्का पाल्नुपर्दैन, म पारदर्शी ढङ्गले काम गरेर मुलुक र जनताको हित र उन्नतिका लागि आफूलाई समर्पित गर्न खोजिरहेको छु । जापानमा यत्तिका वर्ष बसे पनि मैले अन्ततः नेपालमै आफ्नो प्राण छोड्ने प्रण गरेकोले स्वदेशको निम्ति केही गरेर मर्ने मेरो ध्येय छ ।

० राज्यको नेतृत्वकर्ता र कर्मचारीतन्त्रबाट सहयोग नमिल्ने सङ्केत पाएर यो कुरा गर्नुभएको हो कि कसो हो ?
– सहयोग नमिलेको भन्न खोजेको होइन । म कसैको विरोध गरिरहेको छैन र गर्न पनि चाहन्न । त्यसमाथि उहाँहरू पोजेटिभ नै हुनुहुन्छ, सहयोगको आश्वासन पनि दिनुभएको छ । तर, समयलाई त्यत्तिकै खेर फाल्न हुँदैन, गर्नु नै छ भने ढिलो गर्न हुँदैन भन्ने मेरो आशय हो । सबै कुरा हामी आफ्नो वशमा राख्न सक्छौँ होला तर समयलाई बाँधेर राख्न सक्दैनौँ । यो हामी सबैले महसुस र पालना पनि गर्नुपर्छ । मैले कर्मभूमिबाट सिकेको कुरा जन्मभूमिको उन्नतिका लागि उपयोग गर्न खोजेको हुँ । म निराश पनि हुँदिनँ, शरीरमा एक थोपा रगत बाँकी रहिन्जेल म नेपालकै लागि काम गर्छु भनेर म लागिपरेको छु ।

० यसरी देशको लागि गर्छु भन्ने त अरू पनि कति आए, आइरहेका छन्, तर देशको लागिभन्दा आफ्नै लागि मरिमेटिरहेका हुन्छन् । तपाईंको अभिव्यक्ति पनि त्यस्तै देखावटी होला कि हृदयकै आवाज हो, कसरी विश्वास गर्ने ?
– हेर्नुस्, मलाई व्यक्तिगत रूपले नपुग्दो केही छैन । जापान सरकारबाट प्राप्त हुने पेन्सनले मात्र पनि नेपालमा मस्तले सुतेर खान पुग्छ मलाई । मरेर लैजानु केही पनि रहेनछ, केवल आफ्नो कर्मअनुसार मानिसले गर्ने सम्झना मात्र हामीले प्राणसँगै लैजान सक्ने धन रहेछ । मैले राम्रो काम गरेको छु भने मरेपछि पनि सकारात्मक रूपले मेरो सम्झना गर्नेछन्, नराम्रो गरेको छु भने त्यही रूपले हेर्नेछन् । तसर्थ, हाम्रो सम्पत्ति त्यही असल वा खराब कर्म मात्र हो भन्ने मैले राम्रोसँग अनुभूत गरेको छु । आँखाले देख्ने कुरा या भौतिक कुरालाई महत्व दिने र आँखाले देख्न नसक्ने कुरालाई मनन नगर्ने प्रवृत्ति बढेकोले हामी दुःखी भइरहेका छौँ । प्रेम, इमान, विश्वासजस्ता आत्मिक सम्पत्तिको बोध गरेर व्यवहार गर्न सके त्योजस्तो ठूलो कुरा केही रहेनछ भन्ने बुझ्न थालेको छु मैले ।

० तपाईंलाई यस्तो आदर्श र दर्शन कतिबेला फुर्छ, या कहिलेदेखि तपाईंमा यस्तो बोध हुन थाल्यो, केही हेक्का छ ?
– सायद यो मेरो स्वभावमै बसेको छ । सानैदेखि आमाबुबाले यस्तै–यस्तै महत्वपूर्ण अर्ती–उपदेश दिनुहुन्थ्यो । मेरो बुबा आफ्नो समयको ठूलै समाजसेवी हुनुहुन्थ्यो, जसको सम्झना स्थानीयवासीले अहिले पनि उत्तिकै गर्छन् । मेरा बुबाआमा मेरो आदर्श हो, भगवान् पनि हो । बितेर जानुभए पनि म दिनदिनै उहाँहरूको पूजा गर्ने गर्छु ।

० तपाईं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को पूर्वअध्यक्ष पनि भएको नाताले यो संस्थाबारे केही बोलिदिनुस् न ?
– विदेशमा बसेर व्यवसाय गरेका मजस्ता व्यक्ति पहिले ‘गैरआवासीय नेपाली’ मात्र थियौँ भने जब यो संस्था स्थापना भयो– संसारभरका नेपालीलाई जोड्ने यो एउटा ब्रिज वा माध्यम बन्न पुग्यो । यस अर्थमा यो एउटा उपयोगी संस्था हो । तर, यस संस्थाले अनेक आक्षेप पनि झेल्नुपरेको छ । यो त धनी व्यक्तिहरूको मात्र संस्था हो भन्ने गरिएको पनि सुन्छु । यस्तो आरोप किन लाग्छ ? वास्तवमा के उद्देश्यले यो संस्थाको जन्म भएको थियो र के काम गरिरहेको छ ? अब सबैले गहिरिएर मन्थन गर्नुपर्ने बेला आएको छ । राम्रो गर्ने या नराम्रो, यसका जिम्मेवार पदाधिकारीहरूले मनन गर्नुपर्छ । किनकि, एनआरएनएले नेपालको लागि के–कति गऱ्यो, जनताले मूल्याङ्कन गरिरहेका छन् ।

० तपाईंलाई यदाकदा कतिपयले सोझो व्यक्ति, अझ झर्रो नेपाली शब्दमा भन्नुपर्दा ‘लाटो मान्छे’ भन्ने गरेको पनि सुनिन्छ, तपाईंजस्तो देश–विदेश बुझेको, अनेक काममा सफलता पाएको व्यक्तिलाई किन यस्तो विशेषण दिएको होला ?
– एकदम मीठो प्रश्न गर्नुभयो । हो, मैले पनि यस्तो सुनेको छु कहिलेकाहीँ । मैले एनआरएनएको अध्यक्ष हुँदा पनि शुरुमै भनेको थिएँ कि म धेरै बोल्न सक्दिनँ, बोल्नुभन्दा जो सकेको काम गरेर देखाउन मनपर्छ मलाई । वास्तवमा मेरो स्वभाव नबोल्ने, तर गरिदेखाउने खालकै छ । धेरै नबोलिरहने स्वभावका कारण यस्तो भनेका होलान् । कर्म र व्यवहारमा जापानका मानिसलाई संसारकै सबभन्दा बाठा मानिस मानिन्छ, त्यस्ता जापानिजसँग म व्यवहार र व्यापार गर्छु, त्यहीँ मैले पैसा कमाइरहेको छु, अब भन्नुहोस् म बाठो हो कि लाटो ? मैले भन्न खोजेको के भने धेरै बोल्दैमा बाठो बन्ने होइन र नबोल्दैमा त्यो निकम्मा–लाटो हुने पनि होइन । आवश्यक मात्र बोल्नुपऱ्यो, बोलेकोभन्दा ज्यादा गरेर देखाउनुपऱ्यो । मेरो प्रिन्सिपल यो हो । मैले के–कति गरेको छु, त्यो ईश्वरले देखेका छन् भनी म सन्तुष्ट छु । भन्नैपर्दा मान्छे त म लाटो नै हुँ तर बाठो–लाटो हुँ ।

हेर्नुहोस् कुराकानीको भिडियो-

454 Shares

प्रतिक्रिया