मदिराको लत छुटाउन ‘आयुर्वेद’को शरणमा कपिल

मदिराको लत छुटाउन ‘आयुर्वेद’को शरणमा कपिल


लामो समयदेखि टीभीको पर्दाबाट बाहिरिएका ‘कमेडी किङ’ कपिल शर्मा पुनरागमनको लागि अहिले पसिना बगाइरहेका छन् । यतिबेला निकै मोटाएका कपिल आफ्नो मोटोपन घटाउन र पहिलेकै स्वरूपमा आउन दिनरात कोसिस गरिरहेका छन् ।

केही दिनदेखि आफूलाई शारीरिक र मानसिक रूपमा तयार पार्न कपिल बिच र जिममा पसिना बगाइरहेका छन् । आफूलाई पूर्ण रूपमा तयार गर्न जुटेका कपिलले अहिले एउटा आयुर्वेदिक सेन्टरको सहयोगसमेत लिइरहेका छन् ।

प्राप्त जानकारीअनुसार यतिबेला कपिल बैंगुलुरुको एउटा आयुर्वेदिक सेन्टरमा उपचार गराइरहेका छन् । आयुर्वेदिक उपचारसँगै कपिलले थुप्रै थेपारी पनि गराइरहेका छन् । कपिल त्यहाँ दुई साता रहने स्रोतले जनाएको छ ।

कपिललाई पुरानै स्वरूपमा आउन १५ किलो तौल घटाउनुपर्नेछ । साथै मदिरालाई पूर्ण रूपमा त्याग गर्नुपर्नेछ । त्यसैको लागि कपिल दुई साता आयुर्वेदिक सेन्टरमा बस्नेछन् । यहाँको दुई साताको बसाइपछि २८ अक्टुबरमा कपिल मुम्बई फर्कने कार्यक्रम रहेको छ । त्यसपछि नयाँ शोको सुटिङको तयारीमा व्यस्त हुनेछन् ।

कपिल दुई वर्षअघि पनि यो आयुर्वेदिक सेन्टरमा गएका थिए । तर, उनी आफ्नो कोर्स पूरा नगरी फर्केका थिए । त्यसपछि पुनः मदिरापान गर्न थालेका कपिल निकै मोटाएका थिए । मदिरापानकै कारणले आफ्नो भविष्य दाउमा लागेपछि अहिले कपिलले यसलाई गम्भीर रूपमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।