मान्छेले मान्छे हुनै बिर्सियो भने

मान्छेले मान्छे हुनै बिर्सियो भने


– जमुना गैरे बास्तोला

तिम्रो नसामा बगेको आमाको पवित्र रगतले
सकेनौँ तिमीभित्रको मानवता जगाउन
तिमीले धरती छोएको दिनदेखि
प्रत्येक दिन मरेका आमाका प्रेमका रंगहरुले
सकेन तिमीभित्रको मानवता जगाउन
दूधको बदला विष ओकलेर
आमाको प्रतिष्ठा धमिल्याउने
दुस्साहस कसरी मिल्यो तिमीलाई

अलिकति उनको सल तान्दा,
अलिकति उनको कपाल तान्दा
अलिकति उनको स्पर्शमा क्रुर नजर पार्दा
सम्झिएनौ है एकपल पनि आफ्नो श्रद्धेय आमालाई
प्रिय बैनीलाई, प्यारी छोरीलाई
कसरी एकैचोटी दानव भयर पोखियौ ?
पवित्र प्यारो निर्दोष कोपिला र चुँडाइदियौ

पवित्र फक्रन लागेको एक फूललाई
तिम्रो वासनाको भोकले एक सुकु कोपिला नफक्रँदै
वास्ना नछर्दै क्षतविक्षत पार्दा
कहाँ गयो होला तिमीभित्रको छोरोत्व, भातृत्व, एक बाबु, अनि दाजु
तिमी बहुलाएको दिन, केवल तिमी बहुलाएनौ
सारा सहर अनि वस्तुलाई बहुल्याउन पार्यौ
तिम्रो उद्दण्डताको आगोको झिल्कोले
केवल एक फूल डढेन्, हजारौँ आमाको सपनाहरु उँडे
हजारौँ आमाका कोखाहरुले धिक्कार बाध्य भए
हजारौँ दिदीका हातहरू चल्न छाडे
लाखौं बहिनीहरूका खुट्टाहरू रोकिए
लाज, शर्म र डरले
थुप्रै छोरीहरूका मुटु रोकिए
तिमीभित्रको दानवता जागेको बेला
न पृथ्वीले लाज छोप्न सकिन
न आकाशले लाज ढाक्न सकिन
क्षितिजमा टाँसिन पुगेको घाम हेर्दै
आफ्नो उमेरको हिसाबकिताबमा
सधैं सुन्य पाएकी आमाले
तिम्रो दानवताको उग्र रुप लाचार भयर हेर्नुपर्यो

लाग्छ- तिमीजस्तै दानवता हुर्केर यहाँ
प्रत्येक लोग्ने मान्छेले
भाई भित्रको भाइ हराइदिदयो भने
दाइले दाइभित्रको दाइ हराइदियो भने
अनि बाले बा नै हुन बिर्सिए भने
मान्छेले मान्छे हुनै बिर्सिए भने
एकदिन यो सुन्दर मानवता
क्रुर प्राणीमा रुपान्तरित भइदियो भने ?

– बेल्जियम