उपराष्ट्रपतिको चीन भ्रमण अन्त्यन्त फलदायी भएको दाबी

उपराष्ट्रपतिको चीन भ्रमण अन्त्यन्त फलदायी भएको दाबी


आफ्नो औपचारिक चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको उपराष्ट्रपति नन्दबहादुर पुनले बताउनुभएको छ । उपराष्ट्रपतिको सचिवालयले सोमबार साँझ जारी गरेको एक प्रेस नोटमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पुर्याएको उल्लेख छ ।

चीन सरकारका उच्चस्तरीय पदाधिकारी तथा सम्बन्धित पक्ष र अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालका आवश्यकतालाई स्पष्ट रूपमा राख्नसमेत भ्रमणबाट सफलता मिलेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका छलफलमा चिनियाँ पक्ष जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रहेको प्रेस नोटमा जनाइएको छ ।

उपराष्ट्रपतिले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानको अवलोकनसमेत गर्नुभएको थियो ।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री महामहिम हु चुङह्वाले छेन्दुमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उपराष्ट्रपति र चीनका उपप्रधानमन्त्रीबीच नेपाल र चीनबीचको मैत्रीपूर्ण निकट सम्बन्धका विविध पक्षमा कुराकानी भएको पनि बताइएको छ । भेटमा उपराष्ट्रपतिले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्दै हालैका वर्षमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनु र ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताउनुभयो ।

उपराष्ट्रपतिले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ गोला नाका खोल्न, सडक निर्माण र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन आग्रह गर्नभएको थियो ।

उहाँले चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गरी नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउन चिनियाँ पर्यटन व्यवसायी एवं उद्यमीलाई अनुरोध गर्नुभयो । साथै हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जालको बृहत्तर फ्रेमवर्कभित्र रही सहयोग अभिवृद्धि गर्न दुवै देश प्रतिबद्ध रहेकाले चिनियाँ सहयोगको लागिपनि उहाँले जोड दिनुभएको थियो ।

यस्तै उपराष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्त सचिव पेङ छिङह्वाले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा उपराष्ट्रपति पुनले नेपालसँग भौगोलिक, सांस्कृतिकरूपले निकट तथा सिधा हवाई सम्पर्कले जोडिएको पश्चिमी चीनको आर्थिक तथा यातायात केन्द्रका रूपमा विकसित भइरहेको सिचुवान प्रान्तको विकास, आधुनिक प्रविधिको प्रयोग र सम्पर्क सञ्जालका योजनाबाट दुवै मुलुक लाभान्वित हुन सक्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा वैदेशिक लगानी मैत्रीपूर्ण वातावरण भएकाले चिनियाँ लगानी वृद्धि र प्रविधि हस्तान्तरणका लागि अनुरोध गर्नुभयो ।

उपराष्ट्रपति पुन नेतृत्वको प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कार्यालयका विज्ञ, सचिव, चीनका लागि नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

चीन भ्रमणका लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यताको लागि उपराष्ट्रपतिले चीन सरकार तथा सिचुवान प्रान्तीय जनसरकारलाई धन्यवादसमेत दिनुभएको उपराष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यही असोज ३ गते चीन भ्रमणमा जानुभएका उपराष्ट्रपति पुन सोमबार स्वदेश फर्कनुभएको हो ।

तस्बिर रासस