न्याय माग्दा गोली दिएर सरकारले समाज उत्तेजित पारेको आरोप

न्याय माग्दा गोली दिएर सरकारले समाज उत्तेजित पारेको आरोप


अन्तरपार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा सञ्जालले बलात्कार, हत्या हिंसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो ।

सञ्जालकी अध्यक्ष नीलम बर्माले दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

उनले भनिन्, ‘हाम्रो देशमा सरकार छ या छैन ? के काम गरिरहेको छ ? यत्तिका हत्या भैरहँदा, यत्तिका बलात्कारका घट्नाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गरियोस्, अपराधीहरुलाई तत्काल् पक्राउ गरेर पीडितलाई न्याय दिने काम गरोस् ।’

७७ वटै जिल्लामा प्रधानमन्त्रीको ध्यानाकार्षण गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाएको जानकारी दिँदै उनले आफूहरूले महिला हिंसाको अन्त्य चाहेको तर शान्ति अमन–चयन प्रदान गर्न सरकार असफल भएको उल्लेख गरिन् ।

न्याय माग्न सडकमा निस्किँदा गोली खानुपर्ने स्थिति रहेको सुनाउँदै उनले भनिन्, ‘सरकारले भीड नियन्त्रण गर्न अन्य तरिका हुँदाहुँदै पनि गोली हान्ने र समाजलाई उत्तेजित पार्ने काम गरेको छ्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ ? के गरिबले यसरी न्याय पाउन सक्छन् ?’

सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिंसाका घट्नाका बारेमा सरकार गम्भिर नदेखिएको गुनासो पोखिन् ।