अर्जुन नरसिंहले गरे यस्तो अनुमान- ‘अब गोरे नै समाप्त हुन सक्छ !’

अर्जुन नरसिंहले गरे यस्तो अनुमान- ‘अब गोरे नै समाप्त हुन सक्छ !’


नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सुन तस्करी प्रकरणका चर्चित एक पात्र ‘गोरे’लाई समाप्त पारेर सुन तस्करीसम्बन्धी मामला नै मेटाउन सकिने आशङ्का व्यक्त गरेका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै उनले एकपछि अर्को काण्डमा फसेर सरकार दिनानुदिन भ्रष्ट बन्दै गएको आरोप लगाए । ३३ केजी सुन प्रकरणको तथ्य खुलासा गर्न सरकारलाई चुनौती दिँदै उनले भने– ‘३३ केजी सुन प्रकरण कहाँ पुग्यो ? के भैरहेको छ ? त्यो कहाँ छ ? त्यसमा जिम्मेवार को–को छन् ? आग्रह वा पूर्वाग्रहविना जुनुसकै पार्टीको भएपनि तागत छ भने जनताको बीचमा ल्याइदिओस् । तर यो सरकारसँग त्यति हिम्मत छैन, तैं चुप मैं चुप गरेर बसेको छ, किनभने लहरो तान्दा पहरो गर्जिन्छ भन्ने स्थितिका कारण रिपोर्ट नै गायब गरेर बसेको छ ।’ उनले अगाडि थपे– ‘सुनकाण्डका मुख्य नाइके गोरेलाई पक्राउ गरिएको छ । अब कुन दिन न रहे बाँस न बजे बाँसुरी भनेझैँ त्यो गोरे नै समाप्त हुन बेर छैन ।’

सोही अवसरकमा उनले काङ्ग्रेसलाई अन्यत्रबाट भन्दा आफूभित्रैबाट खतरा रहेको बताए । पार्टीभित्रैको कुरीति कुसंस्कार नै यसका लागि चुनौती रहेको उनको ठहर थियो ।