देशभर ३७ बाघ बढ्दा चितवनमा २७ घटे

देशभर ३७ बाघ बढ्दा चितवनमा २७ घटे


विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६ मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालिको बाघको तथ्यांकले संरक्षणमा चुनौती थपिदिएको छ ।

बाघ अनुगमनको प्रतिवेदनमा उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको पाइएपछि संरक्षणमा चुनौती थपिएको हो । यहाँका संरक्षणकर्मी वन्यजन्तुको वासस्थान विनाश हुँदै जानु मुख्य कारण रहेको दाबी गर्छन् ।

तुलनात्मक रूपले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बाघको संरक्षणमा ध्यान दिनु आवश्यक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

‘चितवनको क्यामेरामा सन् २०१३ को भन्दा अहिले बाघका लागि उचित वातावरण छ, बच्चासमेत १२–१३ वटा छन् तर विभिन्न कारणले वासस्थान नास भइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ,’ खड्काले भने ।

आइतबार वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको बाघ अनुगमन प्रतिवेदनमा निकुञ्ज र आसपासका क्षेत्रमा औसत ९३ बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

यसपालिको अनुगमनमा देशभर ३७ बाघ बढेर २३५ पुगेको पाइए पनि बाघको उपयुक्त वासस्थान मानिने उक्त निकुञ्जमा सन् २०१३ मा १२० बाट २७ बाघ घटेर ९३ मात्रै भेटियो । सन् २००९ मा नेपालमा १२१ र सन् २०१३ मा १९८ बाघ थिए ।

आफ्नो क्षेत्र खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्वमा बाघ गएकाले पनि चितवनमा कम देखिएको दाबी निकुञ्ज विभागको छ ।

निकुञ्ज विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार अघिल्लो वर्षको साउनमा आएको बाढी, प्राकृतिक अवस्था र जुधेर पनि बाघ कम भएको अर्काे कारण हुन सक्छ । ‘बाघ जोगाउन बासस्थान सुधारमा ध्यान दिनुपर्छ,’ उनले भने ‘अर्काे चुनौती चोरी सिकार पनि हो ।’

चितवनमा बाघको क्षमता त्यही ९० देखि १०० कै हाराहारीमा हो । सन् २०१३ मा ‘रिक्याप्चर’ विधिबाट हेर्दा अलिकति बढी संख्या देखाएको हो कि भन्ने लागेको पर्यावरणविद् पौडेलको भनाइ थियो ।

उक्त निकुञ्जका सूचना अधिकारी नूरेन्द्र अर्याल अहिले वास्तविक तथ्यांक आएको भन्दै तुलनात्मक रूपमा बाघ नघटेको बताउँछन् । चितवनका संरक्षणकर्मी वासु ढुंगाना प्राकृतिक रूपमा वन्जयन्तुको मृत्यु हुने क्रम बढेकाले यसको अनुसन्धान जरुरी रहेको औँल्याउँछन् ।

बाघ, गैंडालगायत वन्यजन्तु नेपालकै सम्पत्ति भएको भन्दै बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जितु तामाङले वन्यजन्तुको वासस्थान विनाश हुँदै गएकामा चिन्ता प्रकट गरे । संख्यामा मात्रै ध्यान दिने तर वासस्थान संरक्षणमा ध्यान नदिँदा बाघको संख्या घटेको तामाङको भनाइ थियो ।

निकुञ्जमा भएको वासस्थानको समस्याले विस्तारै बाघ, गैँडालगायत वन्यजन्तु सामुदायिक वनतर्फ आउन थालेका संरक्षणकर्मीले बताए । चराविज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बेलैमा वन्यवन्तुको वासस्थान संरक्षणमा ध्यान नदिने हो भने संरक्षणमा अझै चुनौती थपिने उल्लेख गरे ।

हाल विश्वका १३ देशमा बाघ पाइन्छ । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाति लोप भइसकेका छन् । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

–नारायण ढुंगाना