जेस्ट ब्याडमिन्टनमा दीपेश र रसिला च्याम्पियन

जेस्ट ब्याडमिन्टनमा दीपेश र रसिला च्याम्पियन


विभागीय नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन योनेक्स सनराइज जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । धामी पुरुष एकलतर्फ र महर्जन महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् । यो तेस्रो संस्करण हो ।

बसुन्धारास्थित जेस्ट ब्याडमिन्टन एकेडेमीको कोर्टमा भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दीपेशले शीर्ष वरीयताका तथा दुईपटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । दीपेशले पहिलो सेटमा २१–१३ को सहज जित निकाल्दै दाबेदारी पेस गरेका थिए । दोस्रो सेटमा खेलमा फर्किएका रत्नजितले २१–१८ ले खेल आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पु¥याएका थिए ।

तर, निर्णायक सेटमा अग्रता लिएर पनि रत्नले खेल १८–२१ ले गुमाउन पुगे । निर्णायक सेटमा पछि परेको अवस्थामा दीपेशले उच्च प्रदर्शन गरेका थिए । दीपेशले रत्नले बारम्बार गरेको गल्तीको फाइदा उठाएका थिए । दीपेशसँग पराजित भएसँगै रत्न उपाधिमा ह्याट्रिक गर्नबाट विमुख भए । उपाधिसँगै दीपेशले ३० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो स्थानमा चित्त बुझाएका रत्नले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएका सिल्क टे«डका प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । महिला एकलमा यसअघिको दुईपटकको च्याम्पियन नङ्सलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाइनन् । रसिलाले जेसिकामाथि २१–१९ र २१–१७ को सहज जित निकालेकी थिइन् । रसिला यू–१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन् । यू–१५ गल्र्सको फाइनलमा रसिलाले कञ्चनपुरकी विष्णा विष्टमाथि २१–६ र २१–१० को सहज जित निकालेकी थिइन् । महिला एकलतर्फ च्याम्पियन बनेकी रसिलाले २५ हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो भएकी जेसिकाले १२ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ४–४ हजार प्राप्त गरे ।

यू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन बने । दाहालले कैलालीका रोशन साउदमाथि २१–१२ र २१–१२ को सहज जित निकाले । यू–१५ ब्वाइज र महिलाको विजेताले समान १६ हजार पाए । दोस्रो भएकाले ६ हजार तथा महिलाले ८ हजार पाए । तेस्रो भएकाले समान ६ हजार प्राप्त गरे ।

पुरुष डबल्र्समा एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्योे । विजेता बनेको दीपेश र विजितको जोडीले २५ हजार पायो । दोस्रो भएको रत्नजित नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार प्राप्त ग¥यो ।

मिक्स डबल्स्मा एपीएफका दीपेश धामी र पूजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजत गर्दै च्याम्पियन बने । मिक्स डबल्र्सका विजेताले २० हजार पाए । उपविजेताले १२ हजार र सेमिफाइनलमा पराजित हुनेले ६ हजार प्राप्त गरे ।

पुरुष डबल्स टप–२० बाहेकमा आर्मीका सुरोज महर्जन र पविन लिङथेपको जोडीले एपीएफका सुनिल जोशी र विशाल प्रधानको जोडी पराजित गर्दै उपाधि जिते । पुरुष डबल्स (टप २० बाहेक)को विजेताले २५ हजार, उपविजेताले १५ हजार र सेमिफाइनलमा पुग्नेले १० हजार पाए । मास्टर्स ३५ वर्षमाथिको डबल्समा एपीएफका इन्द्र महता र एपीएफका शम्भु श्रेष्ठको जोडीले जेस्टका मुन्ना केसी र आर्मीका भूमि गुरुङको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङले उपाधिमा ह्याट्रिक गरे । उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भूमिको जोडीले जेस्टका मुन्ना केसी र रुद्र थिङको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । यी दुवै जोडी अघिल्लो दुवै संस्करणमा च्याम्पियन बनेका थिए । मास्टर्स ३५ र ४५ वर्षमाथिको विजेताले समान २० हजार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले समान ८ हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई पूर्वसांसद बहादुरसिंह लामा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कृत गरेका थिए । प्रतियोगिताका ९ इभेन्टमा ४३ टिमका ३०५ खेलाडीले सहभागिता जनाएका थिए ।