‘कोशेली’ बन्दै मनाङी आलु…

‘कोशेली’ बन्दै मनाङी आलु…


-छविलाल बगाले
कुनैबेला आफ्ना आफन्तलाई ‘कोशेली’को रुपमा पठाइने आलु हिजोआज बिक्रि हुन थालेकोमा मनाङका बासिन्दा दंग छन् । आफूलाई चाहिने आलु राखेर अरु आलु जिल्लामा कार्यरत कर्मचारी, पाहुना र आफ्ना आफन्तलाई ‘कोशेली’ दिदै आएका तिनै मनाङबासीलाई अहिले आलु बिक्रि गर्दैमा फुर्सद छैन् । तराई र पहाडका बासिन्दाले हिमाली जिल्लाहरुमा कुनैपनि खाद्यान्न उत्पादन हुदैन् भन्दै हिमाली जिल्लाहरुलाई हेर्ने नजर फरक राख्नेहरु आज आलु किन्न मनाङसम्म आउँदा निकै खुसी भएको अनुभव सुनाउँछन् यहाँका किसानहरु ।

यता, हिमाली जिल्लामा पहाड र तराईबाट खाद्यान्न नपु¥याई हिमाली भेगका बासिन्दाहरु बाँच्न सक्दैनन् भन्ने यदाकदा सुन्ने गरिन्छ । तर त्यो सबै गलत भएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । कार्यालयका अनुसार हरेक बर्ष मनाङमा आलु उत्पादनमा उत्साहजनक बृद्धि भइरहेको छ । यतिबेला मनाङमा आलु किन्नको लागि चितवन, पोखरा, लमजुङ लगायतका स्थानका ब्यापारीहरु मनाङ पुग्ने गरेका छन् ।


मनाङका किसानहरुले विगतका बर्षहरुमा कुल उत्पादनको ४० प्रतिशत मात्रै आलु निर्यात गर्ने गरेपनि बेसीशहर–मनाङ सिधा यातायात चल्न थालेपछि ८५ प्रतिशत आलु निर्यात हुने गरेको कृषि कार्यालय मनाङले जनाएको छ । ‘अघिल्ला बर्षहरुमा हामीले उत्पादन गरेको आलु बाहिरी जिल्लाहरुमा पठाउने संभावना नै थिएन् ।’ हुम्डेका आलु किसान राजु गुरुङ भन्छन्, ‘विगतका बर्षभन्दा अहिले आलु उत्पादन राम्रो भएको छ । बाहिरी जिल्लाका ब्यापारीहरु आलु किन्नका लागि घरमै आइपुगेका छन् । हामीलाई बजारको कुनै खाँचो छैन् ।’

मनाङमा उत्पादन भएको आलुलाई किसानहरुले प्रतिकिलो ४० देखि ५० रुपैयाँको दरले बिक्रि गर्दै आएका छन् । सजिलैसँग पाक्ने र स्वादिलो हुने हुँदा बाहिरी जिल्लाहरुमा मनाङको आलुले स्थान पाएको कृषकहरु बताउँछन् ।

सदरमुकाम चामेसँगै साविकका १३ वटै गाविसमा आलु उत्पादनले गति लिन थालेपछि जिल्ला कृषि विकास कार्यालय मनाङले ठाउँ ठाउँमा भण्डार गृहको स्थापना समेत गरिदिएको छ । ‘कार्यालले आलु भण्डार गर्ने घर बनाइदिएपछि सजिलो भएको छ ।’ अर्का कृषक हुपजंग गुरुङले भने, ‘गाउँसम्म मोटर पुगेको छ । उत्पादन भएको आलु मोटरमा राखेपछि सिधैं लमजुङ सदरमुकाम बेसीशहर पुग्छ ।’


कुल ४ वटा स्थानीय तह रहेको मनाङमा अघिल्लो आर्थिक बर्षमा करिब ७ सय हेक्टर जमिनमा आलु लगाईएको थियो । अघिल्लो बर्षको तुलनामा यसबर्ष १ सय बढि हेक्टर क्षेत्रफलमा आलु रोपिएको जिल्ला कृषि विकास कार्यालय मनाङले जनाएको छ । कार्यालयका अनुसार मनाङमा अघिल्ला आर्थिक बर्षहरुमा ८ हजार मेट्रिकटनको हाराहारीमा आलु उत्पादन भएको थियो । ‘पहिले सबै तरकारी तलैको भर पर्नुपर्दथ्यो । अहिले कृषि कार्यालयले बिउविजन दिन्छ । आफ्नै बारीमा तरकारी उत्पादन गरिन्छ र आफुलाई बढि भएको तरकारी बेचिन्छ ।’ नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले भन्छन्, ‘कृषकहरुले समुह बनाएर पनि आलु खेतीदेखि बिउ विजन उत्पादनसमेत गर्दै आएका छन् ।’

जिल्ला कृषि विकास कार्यालयले मनाङका ३ गाउँलाई आलुको पकेट क्षेत्रको रुपमा विकास गरेको छ । पकेट क्षेत्रहरुमा धारापानी, नाचै ओडार र माथिल्लो मनाङको हुम्डे गाउँ रहेका छन् । यहाँका किसानहरुले जनकदेव, डिजिरे, कार्डिनल तथा स्थानिय जातका आलुहरु उत्पादन गर्दै आएका छन् । तस्बिर सौजन्य: नेगम परियार, मनाङ