विद्युत विस्तारका लागि १५ करोड

विद्युत विस्तारका लागि १५ करोड


पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तारका लागि १५ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामीण बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवाको पहुँच विस्तारका लागि उल्लेख्य मात्रामा बजेट विनियोजन गरेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा म्याग्दीमा विद्युतीकरण विस्तारका लागि बढीमा चार करोडसम्म बजेट विनियोजन हुने गरेकोमा यसपटक कम्तीमा १५ करोड विनियोजन गरिएको हो ।

पुराना र जीर्ण अवस्थामा रहेका काठका पोल विस्थापित गरी फलामे पोल हाल्ने तथा विद्युत् सुविधाबाट वञ्चित दुर्गम ग्रामीण बस्तीमा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तारका लागि बजेट परिचालन हुने सांसद थापाको भनाई छ ।